जेठ ०५, २०८१, शनिबार
               

नेपाल चीनको पोल्टातिर, भारत असन्तुष्ट, काँग्रेस भन्छ संविधानमाथि खतरा

नेपाल फ्ल्यास
असोज ०७, २०७६

ADVERTISEMENT

१२ बुँदे समझदारीको रोडम्याप हिँडिरहेको नेपाल अहिले क्रमशः चीनको पोल्टामा जान थालेको छ । यो यथार्थ नेपाल र नेपालीले जति बुझेका छन् त्यो भन्दा बढी भारतले बुझेको छ ।

नेपालको राजनीति परिवर्तनमा साथ र सहयोग पुर्‍याएको भारत अहिले नेपाल चीनतिर ढल्किएपछि नयाँ रणनीति तर्जुमा गर्नमा लागेको बताइन्छ । कतिपयले त संभवत चिनियाँ राष्ट्रपतिको आसन्न भारत भ्रमणले नेपालबाट हुने एक चीन नीतिविरुद्धका पश्चिमा गतिविधि नियन्त्रण गर्ने गरी भारतको आँखाबाट चीनले नेपाल हेर्ने दाबी पनि गरेका छन् । त्यसपछि भारत क्रमशः हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डामा जाने विश्लेषण पनि गर्न थालिएको छ ।

खास गरी सत्तारुढ नेकपा चीनतिर ढल्किएको भारतलाई चित्त बुझेको छैन । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौँमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गरेसँगै कूटनीतिक क्षेत्रमा नयाँ तरङ्ग पैदा भएको हो ।

यसैबेला हिन्दु स्वयंसेवक संघ (आरएसएस) को अखिल भारतीय प्रचार प्रमुख अरुण कुमार नेपाल आउँदै छन् । उनी भारतले काश्मिरमा लिएको कदमबारे नेपाली जनमासमा सकारात्मक सन्देश दिन नेपाल आउने बताइएको छ । सँगसँगै नेपालको चीनसँगको बढ्दो साँठगाँठ पनि उनको विषयमा पर्ने तथा नेपालमा बढ्दै गएको भारतविरोधी भावना कम गर्ने उपायबारे पनि उनको नेपाल बसाइ केन्द्रित रहने जानकारहरु बताउँछन् ।

यता, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई दलबीच भएको प्रशिक्षणबाट नेकपा चीनतिर ढल्किएको प्रस्ट भएको हो ।

प्रशिक्षणलाई नेकपाकै भीम रावललगायतका नेताहरूले रुचाएका छैनन् । प्रशिक्षणमा प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो भाषामा दक्षिणको छिमेकीप्रति कटाक्ष पनि गरेका छन् । उनले भनेका छन्- 'बलियोले थिचोमिचो गर्दै आएको इतिहास सुन्न परिरहेका बेला चीनले भने नयाँ परिदृश्य देखाएको छ । शान्ति, अमनचयन, आर्थिक विकास र समृद्धिबारे मात्र चीनले सोचेको छ ।'

यसैबिच नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले नेकपाले चीनसँग मिलेर अहिलेको संविधान सिध्याउन लागेको आरोप लगाएका छन् । सोमबार कैलाली पुगेर उनले त्यसैको लागि अहिले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर जनशक्ति उत्पादन गरेको आरोप लगाएका छन् ।

उनले प्रश्न गरे- ‘जुन देशमा बहुदलीय लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार, संसदीय प्रणाली र विरोध गर्न पाउने अधिकार छैन । त्यहाँको प्रशिक्षण लिएर नेकपाले नेपालमा कस्तो जनशक्ति तयार गर्दै छ ।’

निधिले सरकारबाट संविधानलाई सबैभन्दा बढी खतरा रहेको आरोप लगाए । 

यता काठमाडौँमा भएको एक कार्यक्रममा काँग्रेस नेता बालकृष्ण खाँडले नेपाल कम्युनिस्ट पार्टी उत्तरी छिमेकी देशको चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संस्था बन्न खोजेको टिप्पणी गरेका छन् । उनले नेकपाले चिनियाँ राजनीतिक पद्धति अघि बढाउन तालीम सुरु गरेको आरो लगाए ।


कस्तो लाग्यो ?

यो पनि