राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपतिको भूमिका निष्पक्ष नभएकोले अब आन्दोलनबाट राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र फर्काउने उद्घोष गरेका छन् ।
राप्रपा संयुक्तको केन्द्रीय समिति बैठकपछि आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजा फर्काउने योजना सुनाएका हुन् ।
उनले त्यसका लागि बृहत आन्दोलनको तयारी भइरहेको बताएका छन् ।
अध्यक्ष राणाले सबैलाई स्वीकार्य हुने राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रको विषयमा आफ्नो पार्टीको फरक मत रहेको बताए ।
पछिल्ला दिनमा राजसंस्था र हिन्दु राष्ट्रको पक्षधरहरुविरुद्ध सरकार खनिएको बारे अध्यक्ष राणाले प्रतिक्रिया दिँदै भने- 'सरकार आफ्नो अकर्मण्यताका कारण तिलमिलाएको छ। उसले जनाधार र विश्वास गुमाइसकेपछि हाम्रो राजनीतिक एजेण्डाप्रति प्रहार सुरु गरेको छ ।'
पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानले असहमति राख्ने अधिकार दिए पनि सरकारले त्यसविपरीत धम्की र चेतावनी दिएको भन्दै आपत्ति जनाए ।
उनले भने- 'संविधानले दिएको हक उपयोग गर्दा कसैले हामीलाई थुन्छ भन्ने ? थुने हुन्छ ।'
अध्यक्ष लोहनीले मुलुकमा भ्रष्टाचार र बेथिति बढेको तथा आर्थिक रुपमा जर्जर हुँदै गएको आरोप लगाए ।
राप्रपा संयुक्तको बैठकले राष्ट्रवादी शक्तिहरुबीचको एकतामा जोड दिएको छ ।