राप्रपा र राप्रपा संयुक्त मिल्ने भएका छन् । राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा लिएर ती दुई दिन मिल्न लागेका हुन् ।
राप्रपाका एक नेताका अनुसार साउनभर गृहकार्य गरेर भदौमा दुई दलबीच एकता हुनेछ ।
दुवै दलले राजसंस्था, हिन्दु राष्ट्र र एकात्मक राज्य प्रणालीलाई एकताको आधार बनाउने भएका हुन् । ती नेताका अनुसार दुई दलबीच सैद्धान्तिक मुद्दा टुङ्गिएको छ । अब प्राविधिक काम मात्र बाँकी छ ।
मिलाउन बाँकी काम भनेको नेताहरूको जिम्मेवारी नै हो । कसरी अध्यक्ष रहने र कति जना रहने तथा केन्द्रीय तहमा कसले कति सङ्ख्यामा प्रतिनिधित्व हुने भन्नेबारे छलफल जारी रहेको बताइएको छ ।
राप्रपालाई मिलाउन अहिले पार्टी कार्यकर्ताको दबाबमात्र नभएर पूर्वराजाको पनि सदभाव रहेको जानकारहरू बताउँछन् । त्यस्तै पार्टी विभाजनको बेलामा भारतको पनि हात रहेको भन्नेहरू अहिले एकताका बाह्य शक्ति पनि अनुकूल रहेको बताउन थालेका छन् ।
केही दिनअघि बसेको राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकताका लागि दुई अध्यक्ष पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएको थियो । त्यसलगत्तै राप्रपा अध्यक्ष कमल थापाले निर्णयको स्वागत गरेका थिए । उनले सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने मान्यता राखेका थिए । त्यसपछि दुवै राप्रपाका कार्यकर्ता एकताको प्रतीक्षामा देखिएका छन् ।
चुनाव चिन्ह नै प्रतिष्ठा
स्रोतका अनुसार पार्टीको सिद्धान्तमा खासै विवाद देखिएको छैन । नाम राप्रपा नै रहनेमा सबै सहमत छन् । तर चुनाव चिन्हमा भने मतभेद छ । राप्रपा संयुक्तका अध्यक्षद्वयले चुनाव चिन्ह हलो दाबी गर्दै आएका छन् भने राप्रपाले गाई छोड्न चाहेको छैन । राणा र लोहनी २०४८ सालदेखि नै हलोमा थिए भने थापा सुरुमा गाईमा थिए । थापा हिन्दुत्वको मुद्दा दर्बिलो बनाउन गाई चिन्ह आवश्यक भएको ठान्छन् भने गएको चुनावहरूबाट त्यो प्रमाणित नभएको तर्क राणा र लोहनीको छ ।