पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्वराजाले भारतीय गुप्तचर संस्था रअको प्रमुख समान्तकुमार गोयललाई भेटेको खबरप्रति आपत्ति जनाएको छ ।
पूर्वराजासँग रअ प्रमुखको भेट भएको भनी केही अनलाइनमा समाचार आएपछि पूर्वराजाको सचिवालयले त्यसप्रति आपत्ति जनाएको हो।
पूर्वराजाका संवाद सचिवालय हेर्ने सचिव डा. फणिराज पाठकले सो खबर झूठो भएको जनाएका हुन् । यसबाट नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस पुग्नेसमेत उनले स्पष्ट गरेका छन् ।
सचिवालयको विज्ञप्तिको पूर्ण पाठ
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुखलाई भेटेको भन्ने केही अनलाइन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।
यस्ता कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु ।
डा. फणिराज पाठक
सचिव