सरकारको कामकारवाहीविरुद्ध संसदीय समितिले अंकुश लगाउन थालेको छ ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको हो ।
यसअघि राज्य व्यवस्था समितिले स्थानीय तहमा पदपूर्तिका लागि लोकसेवा आयोगले गरेको विज्ञापन रोक्न निर्देशन दिएको थियो । यद्यपी सो निर्देशन लागू भएको छैन ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशनसँग कार्यपालिका र व्यवस्थापिकाबीच खटपट बढ्ने देखिएको छ । यति नै बेला सरकारका प्रवक्ता मन्त्री गोकुल बास्कोटाले आइफा अवार्ड नरोकिने जनाएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकले यो निर्देशन दिएको हो । समितिको सभापति पवित्रा निरौला खरेलले ‘सरकारले सम्झौता त नगरे पनि यसबाट नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएको' जानकारी दिइन् ।