बैशाख २६, २०८१, बुधबार
               

'हिन्दुधर्म नचाहने कम्युनिस्टहरू किन भैँसीको पूजा गर्छन्?'

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

बागलुङ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट नेताहरूले भैँसी पूजा गरेकोमा कटाक्ष गरेका छन् ।

मिडिया नेपालले बागलुङमा गरेको पत्रकार भेटघाटमा मुलुकमा हिन्दुधर्म देख्न नसकेका कम्युनिस्ट नेताहरूले नै भैँसी पूजा गरेकोमा उनले आश्चर्य व्यक्त गरेका हुन् ।

पाँच वर्षअघि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भैँसी पूजा गरेका थिए । अरु कम्युनिस्ट नेताहरूले पनि बोका बाटेर झण्डा पूजा गर्दैआएका छन् ।

‘कम्युनिस्टहरू धर्मलाई अफिम भन्छन्, धर्मनिरपेक्ष पनि भन्छन्,’ अध्यक्ष थापाले भने, ‘भैँसीको पूजा पनि गर्छन् ।’ पछिल्लो समय काँग्रेस नेताहरूले हिन्दुराज्यको विचार राख्दै हिँडेको राम्रो भए पनि अडान कायम राख्न नसकेको उनले बताए ।

अध्यक्ष थापाले ठुला दलहरूले निषेधको राजनीति गरेकाले शान्ति र लोकतन्त्र धरापमा परेको बताए ।

उनले सर्वपक्षीय गोलमेच सम्मेलनको आवश्यकता औँल्याउँदै कम्युनिस्ट मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता रहेको बताए ।

‘हामी फरक मत राख्दै संविधानलाई शिरोपर गरेर हिँडेका छौँ,’ उनले भने, ‘पुरानो व्यवस्थामा फर्कने भन्ने हाम्रो एजेन्डा होइन, सहमति र सम्झौताको व्यवस्था हो ।’

अध्यक्ष थापाले गृहमन्त्री हुँदा तत्कालीन माओवादीले गोलमेच सम्मेलनको आवाज उठाए पनि बाह्य शक्तिको चलखेलका कारण असफल भएको बताए ।

भारतको सहारामा १२ बुँदे गर्दा राष्ट्रियता कमजोर बनेकाले अब सरकारले मुलुकलाई एकतावद्ध गर्ने गरी विप्लव नेतृत्वको नेकपादेखि राजसंस्था, हिन्दु धर्मको एजेन्डा बोक्ने राप्रपाको माग सम्बोधन गर्न गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिए ।


कस्तो लाग्यो ?

यो पनि