बैशाख २५, २०८१, मंगलबार
               

'हिन्दूराष्ट्र पुनर्स्थापनाको लागि छिट्टै सडकमा आउँछौं'

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सडक संघर्ष गर्ने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बुधबार बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वादा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन ।
उनले भने,‘नेपाललाई विदेशीको ईशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं ।’

उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिनेपनि स्पष्ट पारे । राणाले थपे, ‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन् । हामीसँग भएको संख्या नै काफी छ।’
अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाए । उनले भने, ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन् । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।’ राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिए ।

आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि सुनाए । उनले भने, ‘राय मिल्ने शक्तिसँग एकता हुन्छ ।’

शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढि समय व्यतित भइसक्दापनि अहिलेसम्म जनताले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उनको आरोप छ । उनले भने,‘आखिरीमा यो सरकारको काम हेर्दा हात्ति आयो हात्ति फुस्साजस्तै छ ।’

प्रधानमन्त्री ओलीले प्राप्त म्याण्डेटअनुसार काम गर्न नसकेको उनको अर्को गम्भिर आरोप छ । उनले भने, ‘जनताले उहाँलाई मनपरी गर्नको लागि बहुमत दिएको होइन । बरु, राष्ट्र बनाउनको लागि दिएको हो । त्यो कुरा उहाँले बुझ्नुपर्छ । अहिले लामो अवधि भैसक्यो उहाँले शासन गर्नुभएको, तर मुलुक फेरवदल गर्न केही पनि गर्न सक्नुभएन ।’

मुलुकमा व्यापक भ्रष्टाचार रहेको सुनाउँदै सरकारले यसप्रति पनि चासो नदेखाएको उनको आरोप छ । राणाले थपे, ‘बुढीगण्डकी, मेलम्चीजस्ता आयोजनामा पनि भ्रष्टाचार भएको छ । हरेक कुरामा भ्रष्टाचारको दुर्गन्ध छ । तर, प्रधानमन्त्रीजीले प्राप्त गरेको म्याण्डेटअनुसार आफ्नो इमानदारिता देखाउन सक्नुभएन ।’

सरकारको विरोधी शक्तिहरु अब एकीकृत भएर सरकारले गरेका हरेक बेइमानी र गल्तीहरुको विरुद्धमा अब सडकमा उत्रिनुपर्ने पनि राणाले आवश्यकत्ता औंल्याए । उनले भने, ‘यो सरकारबाट राष्ट्रको सुरक्षा र मुलुकको उत्थान हुन सकेको छैन् । हरेकतर्फ विकृति देखा परेको छ । हामी सरकारको मनपरीको विरुद्धमा उत्रिनुपर्छ ।’

बुढीगण्डकीजस्तो ठूलो परियोजनामा बिना प्रतिष्पर्धा ठेक्का दिनु गलत भएको उनको टिप्पणी छ । उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेसले अब सरकारले गरेका हरेक अकल्याणका कामहरु ओकल्नुपर्छ ।’

हिन्दूराष्ट्र स्थापनाको लागि गरिने सडक संघर्ष र सरकारको विरुद्धमा गरिने संघर्षका कार्यक्रम दुवै अलग–अलग विषय भएको पनि उनको भनाई छ । हिन्दूराष्ट्र पूर्नस्थापनको लागि सकेसम्म छिट्टै सडकमा आउने पनि उनले जनाए ।

राणाले राष्ट्रप्रमुखको भूमिका प्रजातन्त्र र गणतन्त्र अनुकुल चल्न नसकेको खरो टिप्पणी गरे । उनले भने, ‘अरवौंको खर्च गरेर राष्ट्रपतिको लागि हेलिकप्टरको सवारी तय गरिँदैछ । मेरो काका, जिजुकाकाले दिएको जग्गाले नपुगेर थप जमिन जोड्न कुरा भैरहेको छ । राष्ट्रपतिको यो किसिमको सोख प्रिजेन्ट गर्न सकिँदैन् ।’

उनले कुनै पनि पार्टीको सदस्य नभएको र पुरानो संस्था भएकोले राजालाई निश्पक्ष राष्ट्रप्रमुखको रुपमा राख्न अनुकुल हुने कुरा आफूहरुले उठाएको सुनाए ।


कस्तो लाग्यो ?

यो पनि