बैशाख २२, २०८१, शनिबार
               

को बन्ला अबको आईजीपी ?

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

नेपाल प्रहरीको २७औं महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको बिहीबार २४ असारबाट कार्यकाल सकिँदै छ । ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउन लागेको छ । धेरै वर्षपछि यसपटक प्रहरीको महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् ।

वर्तमान आइजिपी ज्ञवालीलगायत यसअघिका तीनजना डिआइजीबाटै आइजिपी भएका थिए । प्रहरी नियमावलीले प्रहरी अतिरिक्त महानिरीक्षक–एआइजी वा प्रहरी नायब महानिरीक्षक–डिआइजी (एआइजी नभएको अवस्थामा) मध्येबाट आइजिपीमा बढुवा गर्न सक्ने व्यवस्था गरेको छ । 

संगठनमा करियर प्लानिङको अभाव भएकै कारण यसअघि ३ जना एआइजी नभई  आइजिपी भएका थिए । प्रकाश अर्याल, सर्वेन्द्र खनाल र हालका आइजिपी ज्ञवाली डिआइजीबाटै आइजिपी भएका हुन् । एआइजीको अनुभवविनै आइजिपी हुँदा संगठन हाँक्ने विषयमा परिपक्वता नदेखिएको कतिपय पूर्वप्रहरी उच्च अधिकृतहरुले टिप्पणी  गरेका छन् ।

तर, अब भने चार वर्षपछि अब एआइजीबाट आइजिपी छनोट हुँदै छ । पाँच महिना आइजीको फुली लगाउने अवसर पाएका ज्ञवालीको अवकाशपछि २८औं महानिरीक्षकको फूली  कस्ले लगाउने अवसर पाउला ?  धैरैको चासोको विषय बनेको छ । 

ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि धेरै जनाविच प्रतिस्पर्धा छैन । एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल दुईजना मात्र प्रतिस्पर्धामा छन् । यिनै दुई एआइजीमध्ये एकजना महानिरीक्षक बन्नेछन् ।

नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी छन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै बिहीबार नै अनिवार्य अवकाश पाउँदै छन् । यसैले बाँकी रहेका थापा र पालमध्येबाट एकजना आइजिपी बन्ने भएका हुन् । हाल एआइजीको वरीयतामा लम्साल पहिलो नम्बरमा छन् । थापा दोस्रो र पाल तेस्रो नम्बरमा छन् । विगतमा कार्यसम्पादन मूल्याङ्कन र पहिलो नम्बरमा रहेका आइजिपीभन्दा अर्काेलाई समेत आइजिपी बनाइएको नजीर छ । यसैले, अहिले पहिलो नंम्बरमा थापा रहे पनि उनलाई नै आइजिपी बनाइन्छ भन्ने निश्चित नभएको बताइन्छ ।

दुवैको राम्रो छवि
प्रहरी संगठनमा एकै मितिमा प्रवेश गरेका थापा र पाल दुवैले संगठनभित्र कुशल तथा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका छन् । उनीहरू दुवै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । 

विगतमा आइजिपी बन्न चर्काे दौडधुप र अस्वस्थ प्रतिस्पर्धा धेरै हुने गर्थे । तर, यसपटक त्यो चर्चा सुनिएको छैन । थापा र पाल दुवै एआइजीले मन्त्रीपरिषदले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए ।

संगठन प्रमुख बन्ने होडमा रहेको दुवै अधिकृतको भिन्दाभिन्दै विशेषता छन् । प्रहरी अधिकृतहरुका अनुसार संगठनमा थापाको बौद्धिक र इमान्दार अधिकृतको छवि छ । उता पाल अपरेसन र कमाण्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिन्छन् ।

प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेबाटै थापा आफ्नो ब्याचको पहिलो नम्बरमा रहन सफल हँदै आएका छन् । थापा राजनीतिक लबिङविनै वरियतामा अगाडि आएका धेरैको बुझाइ छ । अर्का एआइजी पाललाई व्यापारिक घरानासँग निकट हुने गरेको आरोप पनि लाग्दै आएको छ । तर, कार्यक्षेत्रमा प्रस्तुत गरेको क्षमताका हिसाबमा उनले आफूलाई अब्बल अधिकृतका रुपमा चिनाउँदै आएका छन् ।

थापाले डिआइजी रहँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रूपमा रहेर राजधानीको सुरक्षाको नेतृत्व सम्हालिसकेका छन् । उनले दुई पटकसम्म प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका छन् । त्यसअघि इन्सपेक्टर, डिएसपी, एसपी, एसएसपी हुँदै डिआईजी हुँदासमेत थापाले पटक पटक प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर अनुभव बटुलेका छन् । हाल एआईजीका रुपमा उनी मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका छन् ।

एआईजी पाल प्रहरी नायव उपरीक्षक हुँदा डडेल्धुरा, काठमाडौं प्रहरीको मुद्दा शाखा र इन्टलिजेन्स, प्रधानमन्त्री सुरक्षा इकाइ, बालुवाटार, जिल्ला प्रहरी कार्यालय, नुवाकोट लगायतमा काम गरेका छन् । प्रहरी उपरीक्षक (एसपी) भएपछि उनले जिल्ला प्रहरी कार्यालय धनुषा, रुपन्देही र कास्कीको नेतृत्व गर्ने मौका पाए । प्रहरी महानिरीक्षकको सचिवालयमा समेत उनी बसेका थिए । अपराध महाशाखा, दंगा प्रहरी गण त्रिपुरेश्वरमा पनि बसेका उनी वरिष्ठ उपरीक्षक (एसएसपी) बनेपछि उनले संघीय प्रहरी इकाइ कोशीमा काम गरेका थिए ।

डिआइजी भएपछि प्रदेश नं. २ प्रहरी कार्यालय र विशेष ब्युरोको नेतृत्व पालले गरेका छन् । हाल एआइजीका रुपमा उनले अपराध अनुसन्धान तथा कार्य विभागको नेतृत्व गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि