जेठ ०५, २०८१, शनिबार
               

यसकारण जन्मन्छन् एकभन्दा बढी शिशु

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

सोमबार नुवाकोटकी २८ वर्षीया सोनीका तामाङले  एकै पटकमा पाँच शिशुलाई जन्म दिएकी छिन् । महाभारत महाकाव्यमा राजा पाण्डुले एक साथ पाँच पुत्र प्राप्त गरेको कथा पढ्न पाइन्छ ।  त्यस्तै, झल्को दिनेगरी नुवाकोटकी ती महिलाले पाँच शिशुलाई  जन्म दिइन् । 

जन्म दिएका पाँचमध्ये एकको  मृत्यु भइसकेको छ ।  चार  शिशुलाई प्रसूति गृहका चिकित्सकले शल्यक्रिया गरेर सुरक्षित निकालेका छन् । सबैको स्वास्थ्य अवस्था राम्रो छ । एकैपटक पाँच शिशु जन्मिएको यो घटना नेपालकै पहिलो घटना हो । ती दम्पतीले पाँच शिशु जन्माउन कुनै कृत्रिम चिकित्सा उपचार गरेका थिएनन् ।

तर, पछिल्लो समय कयौँ मानिसले एकैपटक दुई वटासम्म बच्चा जन्माउने चाहना राख्ने गरेका छन् । उनीहरू भन्ने गर्छन्, ‘डाक्टर साब, पटकपटक बच्चा जन्माउनुभन्दा एकैपटक जन्माउन चाहन्छौँ । त्यसैले, एकैपटक जुम्ल्याहा बच्चा जन्माउने तरिका बताइदिनुस् ।’

जब कि जुम्ल्याहा गर्भधारण गर्नु र बच्चा जन्माउनु जोखिमपूर्ण हुन्छ । त्यसमाथि कृत्रिम तरिकाले जुम्ल्याहा गर्भधारण गर्नु झनै जोखिम रहेको चिकित्सक बताउँछन् । चिकित्सक भन्छन्, ‘प्राकृतिक तरिकाले दुइटा गर्भ रहन्छ भने त ठिकै छ, हैन भने कृत्रिम गर्भधारण गर्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या निम्तन्छन् ।’

पाँच जना शिशु जन्मनुका कारण

एकैपटक पाँच शिशुलाई जन्म दिएकी नुवाकोटकी २८ वर्षकी सोनीका तामाङको बिहे नौ वर्षअघि भएको थियो । यसअघि बिहे भएको लामो समयसम्म गर्भ नरहँदा उनले गर्भ रहने औषधि सेवन गरेकी थिइन् ।

बाँझोपनाकै कारण महिलालाई चिकित्सकहरूले गर्भ रहने औषधि (ओभ्युलेशन इन्ड्युसिङ्ग मेडिसिन) सेवन गर्न सुझाव दिने गर्छन् । जसको सेवनले गर्भमा एकभन्दा बढी अण्डा रहने सम्भावना अधिक हुने चिकित्सकहरूको भनाइ छ ।

यस्ता औषधि सेवन गर्दा महिलाको पाठेघरमा एकभन्दा बढी अण्डा निस्कने सम्भावना धेरै हुने गर्छ । जब ती अण्डा लाखौँ शुक्रकीटको सम्पर्कमा आउँछ, ती लाखौँ शुक्रकीटमध्ये एकदुईवटा शुक्रकीट उक्त अण्डाको सम्पर्कमा आएर विकसित हुने गर्दछ । यसबाट जुम्ल्याहा बच्चा जन्मने सम्भावना बढी हुने गर्दछ ।

सोनीका तामाङले पनि सोही औषधि सेवन गरेका कारण एकभन्दा बढी अण्डा पाठेघरमा बसेको र शुक्रकीट उक्त अण्डाको सम्पर्कमा आएर विकसित भएर शिशु बनेको हुनसक्ने अनुमान छ । 

गर्भ रहने औषधि सेवनका कारण

थापाथलीस्थित प्रसूतिगृहका एक चिकित्सकलाई आधार मान्ने हो भने आजकल धेरै दम्पतीमा बाझोपनको समस्या देखिएको छ । बाँझोपनाकै कारण महिलाहरूलाई गर्भ रहने औषधि (ओभ्युलेशन इन्ड्युसिङ्ग मेडिसिन)को सेवन सुझाव दिने गरिन्छ । जसको सेवनले गर्भमा एकभन्दा बढी अण्डा रहने सम्भावना अधिक हुने गर्दछ ।

गर्भ बस्ने वा गर्भ निरोधक चक्कीको सेवन, आईभीएफ प्रविधिलगायतका कारण पनि जुम्ल्याहा बच्चा जन्मन सक्ने चिकित्सक हर बताउँछन् ।

आनुवंशिक कारण

परिवारमा कसैको जुम्ल्याहा बच्चा छ भने उक्त परिवारमा फेरि पनि जुम्ल्याहा बच्चा जन्मिने सम्भावना धेरै हुने गर्छ ।

त्यसैगरी, कसैको भाइ वा बहिनी जुम्ल्याहा छन् भने उनीहरूबाट जन्मने सन्तान पनि जुम्ल्याहा हुन सक्दछन् । यस्तो सम्भावना प्रायः आमा वा आमाको परिवारमा निर्भर गर्छ ।

जुम्ल्याहा जन्माउँदा ध्यान दिनुपर्ने कुरा

जुम्ल्याहा बच्चा जन्मँदा घरमा जति खुसी छाउँछ, सामान्य प्रसूतिका क्रममा गर्भवती महिलाले त्यति नै धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी सामान्य प्रसूतिद्वारा गर्भवती महिलाको प्रसूति गराउँदा उनीहरूमा रक्तस्राव धेरै हुने तथा रगतको कमी भई ज्यानसमेत जान सक्ने खतरा बढी हुन्छ ।

त्यसबाहेक, गर्भावस्थाका क्रममा गर्भमा रहेको शिशुलाई रगतको आवश्यकता बढी हुने भएकाले गर्भवती महिलाले फोलिक एसिड, आयरन, क्याल्सियमलगायत पोषणतत्वयुक्त भोजन सेवन गर्नु जरुरी छ । अन्यथा गर्भवती महिलालाई रक्त अल्पता हुने सम्भावना धेरै हुन्छ ।

यो पनि