‘कोरोना फेरि फर्कँदै छ । त्यो पनि भयावह रूप बोकेर ।’
विज्ञहरूको राय हिजोआज यस्तै छ । सरकारका स्वास्थ्य मन्त्री पनि केही अत्तालिएका झैँ देखिन्छन् । अत्तालिएरै बोल्न थालेका छन् । कुरा सुन्दा उनी पनि कोरोनाको भयावह कहरको प्रतीक्षामा छन्, जस्तो लाग्छ । काम गर्न नसक्नेले दुर्घटना कुर्नु सिवाय बढी के नै गर्न सक्छ र ? सत्य यही हो ।
हुन पनि कोरोना भाइरसले अहिले वीरगन्ज लगायत मोफसलका विभिन्न स्थानमा मच्याएको ताण्डव हेर्ने हो भने यसको दोस्रो अनि भयावह लहर सुरु भइसक्यो । बस्, सलह झैँ राजधानीमा छिर्न मात्र बाँकी छ । मुलुकमा मात्र २ जना सङ्क्रमित भेटिँदा के के गरे झैँ लक डाउन गरेर राज्यका हरेक क्षेत्रलाई नाकारा बनाएको सरकार अहिले भने पक्कै निरीह देखिएको छ । अगाडि बाटो पहिल्याउन हम्मे परे जस्तो देखिन्छ । पछिल्लो लक डाउनले बजाएको चड्कनलाई दोहराउएर अर्को गाला पनि थाप्ने हिम्मत सरकारसँग छैन । नतै मुलुकले अब दोस्रो लक डाउन धान्न सक्ने अवस्था नै छ ।
पहिलो संस्करणको लकडाउनले मुलुक र जनतालाई आर्थिकरुपमा शिथिल बनायो । अनि मुलुकको हरेक क्षेत्र घाटमा सुताएको बिरामी झैँ बन्यो र बनिरहेका छन् । अब मुलुक त्यही घाटबाट उठ्छ कि उड्छ ? कसैलाई थाहा छैन ।
केपी शर्मा ओलीको सरकारलाई पनि आफ्नै बाध्यता छ । सरकार र पार्टीको पद जोगाउन दौडधुप गर्ने कि कोरोनाबाट भोलि मर्न सक्ने जनताको ज्यान जोगाउने । आपतमा छ, सरकार । निरीह छ, सरकार । एकातिर कोरोनाको प्रचण्ड ताण्डव अनि अर्कोतिर प्रचण्डको कोरोना झैँ छापामार शैलीमा प्रहार गर्ने बानी । साँच्चै मन, मस्तिष्क सुन्न भएको हुनसक्छ, हाम्रा प्रधानमन्त्रीको । त्यसैले नै होला, बेला–बेला नेपाल मात्र होइन, भारत पनि उचाल्ने शब्द ओकल्ने गरेका ? बेहोसीमा झैँ राग अलाप्ने गरेका ।
पहिलो संस्करणको लकडाउनले मुलुक र जनतालाई आर्थिकरुपमा शिथिल बनायो । अनि मुलुकको हरेक क्षेत्र घाटमा सुताएको बिरामी झैँ बन्यो र बनिरहेका छन् । अब मुलुक त्यही घाटबाट उठ्छ कि उड्छ ? कसैलाई थाहा छैन ।
हामीले भारतसँग वा भारतले हामीसँग यही बेला निहुँ खोज्यो । भारतले प्रशासनिक तथा राजनीतिक नक्सा बनाउँदा हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो सीमा भित्र हुल्यो । बदलामा, हामीले पनि नक्सा बनायौँ । बस्, अहिलेसम्म दुवै मुलुकले गर्न सकेको भनेको नक्सा बनाउने काम मात्र हो । न एक अर्कासँग वार्ता गर्न सके नतै अर्को कुनै विकल्प अगाडि सार्न सके ।
बरु हाम्रा प्रधानमन्त्रीले राम ठोरीमा जन्मेका हुन् भनेर भारततिर गुलेली हिर्काए तर, निशाना सही लागेन । उनकै विरोध मात्र भयो । त्यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भनेर तोप पड्काउन खोजे । त्यो बेला पनि निशाना आफैँतिर सोझियो । सारा विश्वको देखिएको विषम परिस्थितिका कारण अहिले उनको राजीनामा मागिँदैन थियो होला, शायद । तर, उनी आफैँले आफूलाई पुर्ने खाडल तयार पारिदिए । विरोधी अहिले उनलाई त्यही खाल्डोमा खसाल्न ज्यान फालेर लागेका छन् । उनी भने आफैँले खनेको खाल्डो पुर्ने दाउपेचमा लागेका छन् । मुलुक र जनतालाई भने ‘भाँड मे जाओस्’ भने झैँ व्यवहार गरेका छन् । कोरोनाको दोस्रो तर जटिल सम्भावित जोखिमबाट न बाँच्न सक्ने आधार दिएका छन्, नतै बच्न सक्ने कुनै उपाय दिएका छन् ।
झन्डै ३ महिना लामो लकडाउनमा हामी जनताको हैसियत भनेको प्रशासनिक तथा राजनीतिक नक्सा बनाएको हेर्ने र नेकपाभित्रको किचलो नियाल्ने मै सीमित रह्यो । न हामीले व्यवस्थित क्वारेन्टाइन बनाउन सक्यौँ नतै सम्भावित भयावह अवस्थाको आङ्कलन गरेर कोरोना अस्पताल र आवश्यकता अनुसारको आइसोलेसन बेड थप्न सक्यौँ । अनि हामीले परीक्षणको दायरालाई समाचारमा सुने झैँ व्यवहारमा फराकिलो बनेको देख्न र सुन्न सकेनौ । बरु क्वारेन्टाइन मै पिसीआर परीक्षण हुन नसक्दा सङ्क्रमण फैलिएका समाचार सुन्यौँ । राज्यले ढुङ्गाको मन बनाउँदा क्वारेन्टाइन मै छटपटाएर मरेका अनागरिक(?) पनि देख्यौँ ।
हामी चुकिरहेका छौँ । कोरोना सङ्क्रमणको नियन्त्रणमा । तर, हामी चुकेका छैनौँ । कोरोना परीक्षणका नाममा कमिसन खान र काम नलाग्ने मेडिकल सामग्री भित्राउन ।
कोरोनाको सम्भावित हमलाको भय बालुवाटारमा प्रधानमन्त्रीको र शीतल निवासमा राष्ट्रपतिको निजी शयन कक्ष बाहेक अरू सबै ठाउँमा बढ्दो छ । सभामुखको निवासमा भने पसिसकेछ । कुन दिन वा कुन क्षण कसले कोरोनाको कहर झेल्नु पर्ने हो पत्तो छैन । कसको चलायमान शरीर कुन क्षण आर्यघाटको चितामा सुत्नु पर्ने हो, त्यो पनि थाहा छैन ।
जनतालाई बेवास्ता गरेर सरकार आफ्नो कुर्सी जोगाउन कसरत गर्दै छ । जनता मर्नसक्ने सम्भावनाका ढोकाहरु थुनेर ओली विरोधीहरू नीति–वाद अनि पार्टी सञ्चालनमा पारदर्शीताका कुरा गर्न थालेका छन् । कोठे बैठकमा व्यस्त हुन थालेका छन् । धत् ! कस्तो मुलुकको बासिन्दा बन्दै छौ हामी । जहाँ जनताको प्राणभन्दा कुर्सी प्यारो हुँदो रहेछ । अनि कस्तो मुलुकलाई हामी आफ्नो भन्दै छौ, जहाँ पिसीआर परीक्षणको दायरा बढाउन माग गर्ने युवाहरूले राज्यको क्रूरता सहनु पर्छ । सत्याग्रह गर्नु पर्छ ।
हामीले लकडाउनको अवधिमा गर्न नसकेका काम अहिले पनि गर्न सक्छौ । आर्थिक क्षेत्रलाई चलायमान बनाएरै मुलुकलाई लकडाउनको (वा यस्तै कुनै अन्य भाषा प्रयोग गर्न मिल्ने) अवस्थामा राख्न सक्छौ ।
सरकार भनेको राज्यको अभिभावक हो र उसले जनतासँग अभिभावक जस्तै व्यवहार गर्न जान्नु पर्छ । अत्यावश्यक सेवा, उद्योग व्यवसाय, सार्वजनिक यातायात जस्ता सेवा व्यवसायमा राहत दिन सक्नु पर्छ । अहिले सरकारको आँखा बन्द छ । केही देख्न सकिरहेको छैन । कुर्सी सिवाय । जुन दिन जनतातिर ध्यान मोडिन्छ, खै त्यो दिन मुलुकको जनसङ्ख्या कति घटिसकेको हुन्छ होला ? कल्पना गर्दा समेत कहाली लाग्छ ।
एक पटक सहरमा गुडेका सार्वजनिक यातायातमा आँखा लगाउने हो त सरकार ? कोचाकोच अहिले पनि छ । मानिसमा हतारो अहिले पनि छ । जनता मृत्युको भयलाई जितेर हिँडिरहेका छन् । मरिएला कि भन्ने डर कसैलाई छैन जस्तो छ । तर, ती सबै पेटलाई भोको नराख्ने बाध्यताका उपज रचिएका नाटक मात्र हुन् । सांकेतिक रुपमा आफ्नै सरकारप्रति अविश्वासका साथ ठड्याइएका चोरी औँला हुन् ।
जनतालाई सुरक्षा दिनुपर्ने सुरक्षा निकाय अब कोरोना भाइरसबाट आफ्नै सुरक्षा खोज्दै छ । जनताको उपचार गर्नुपर्ने स्वास्थ्य क्षेत्र यो रोगको सङ्क्रमणबाट आफैँ त्रसित छ । अनि सरकार ! तिम्रो अकर्मण्यताले हामी अकालमा मर्ने हौ कि भन्ने त्रास बढ्दो छ ।
लेखिएकै थियो, ‘लास गन्ने दिन कुरेर नबस, सरकार !’
तर, जनताको चिच्याहट तिमी सुन्दैनौ रहेछौ । शायद तिमीसँग कुनै उपाय पनि छैन होला अहिले, जनताको पेटमा माड लगाएर उनीहरूलाई जीवित राख्ने । तिमीसँग आफ्नै अडान र बेसारे राग बाहेक केही छैन जस्तो छ, जनता कोरोनाबाट बचाउने उपाय ।
सरकार ! एक पटक सोच । तिम्रो योजना के हुनु पर्थ्यो र के भइरहेको छ भनेर । सहरका बस्ती–बाटा जहाँ सुकै भीड बढ्दो छ । १० रुपैयाँको मास्कले जनताको अमूल्य जीवनलाई कहिलेसम्म धान्न सक्ला र ? सोच्ने कि ?
यस्तो गर्दा सरकारले टाउको दुखाइ पनि सहनु पर्दैन, कुर्सी कै चक्करमा घुमिरहे हुन्छ । कुर्सी तानातानको खेल मै लागिरहे हुन्छ । अनि कमिसनका लागि त ठेलीका ठेली कात्रो खरिद गरे भइहाल्यो । आखिर कमिसन आउनु न पर्यो, जसरी आए पनि के को मतलब । अहिलेसम्मको रवैया त यस्तै देखिन्छ ।
सरकार भितर र इतर पक्षले अब सोच्नै पर्छ । पार्टीगत विवादलाई केही समय थाँती राखेर भए पनि जनताको जीवन कसरी जोगाउने भनेर । आर्थिक अवस्थालाई चलायमान बनाइ रहेर कसरी जनतालाई कसरी बचाइराख्ने भनेर । धरायशी व्यवसायलाई कसरी टेको दिने भनेर ।
नत्र खोल्न बाँकी रहेका सिनेमा हल, पार्टी प्यालेस पनि खोलिदिए हुन्छ र जनतालाई पशुपतिनाथको भरोसामा छाडिदिए हुन्छ । बाँच्ने जति आफैँ बाँचिहाल्छन्, मर्नेको वाल के मतलब !
यस्तो गर्दा सरकारले टाउको दुखाइ पनि सहनु पर्दैन, कुर्सी कै चक्करमा घुमिरहे हुन्छ । कुर्सी तानातानको खेल मै लागिरहे हुन्छ । अनि कमिसनका लागि त ठेलीका ठेली कात्रो खरिद गरे भइहाल्यो । आखिर कमिसन आउनु न पर्यो, जसरी आए पनि के को मतलब । अहिलेसम्मको रवैया त यस्तै देखिन्छ ।
ओछ्यानबाट आक्कल झुक्कल उठ्ने बिरामी प्रधानमन्त्रीले सारा मुलुकलाई नै जनताको लासको गद्दीमा सुताए भने पनि अब आश्चर्य लाग्ने छैन । किनकि भावनात्मक रूपमा हामी कोरोना भाइरससँग हारिसकेका छौँ, अब परिणामको मात्र प्रतीक्षा गर्न त बाँकी छ ।