मंसिर ०६, २०८१, बिहीबार
               

प्रतिस्पर्धात्मक विचारको मन्थनको थलो संसद

सोबिता गौतम
माघ ०८, २०७९

ADVERTISEMENT

हिउँदका कठ्याङ्ग्रिँदा छोटा दिनहरू सकिएर बिस्तारै न्यानो घाम लाग्ने लामा दिन आउँदै छन्। छिट्टै वसन्त ऋतु आउनेछ,  अनि तुसारोले रुखो बनाएका रुखबिरुवामा फेरि नयाँ पालुवा पलाउनेछन्।

राजनीतिमा पनि समयको चक्र फेरिइरहन्छ। यो रोस्टमबाट यस गरिमामय संसदलाई चारैतिर नियाल्दा मलाई लागिरहेछ, नेपाली राजनीतिमा चैँ वसन्त त छाइसकेछ। 

नयाँ सपना लिएर, नयाँ आशा लिएर नयाँ माननीय सांसदहरू आउनुभएको छ। सँगै लामो राजनीतिक यात्रा गरिसक्नुभएका, विभिन्न घटना परिघटना भोग्दै, सिक्दै, अध्ययन गर्दै राजनीतिमा खारिएर आफैँमा सिंगो संस्था बन्नु   भएका अनुभवी सांसदहरू पनि आउनुभएको छ! यस्तो लाग्दै छ, परिवर्तनशील समयको काँचुली फेर्दै गरेको नेपाली समाज र राजनीतिको प्रतिबिम्ब यस संसद्मा आज देखिँदै छ।

सभामुख महोदय!
नेपाली नागरिकको स्वतन्त्रता र सर्वोच्चताको पैरवी गरिने यस गरिमामय संसद्मा आफ्नो पहिलो मन्तव्य राख्दै गर्दा  सर्वप्रथम त म नेपाली स्वतन्त्रता र स्वाधीनताका लागि संघर्ष गर्ने सम्पूर्ण सहिद र योद्धाहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु १ सामाजिक न्यायका लागि देशभर उठेका आन्दोलनप्रति मेरो उच्च सम्मान छ!

यति वेला म मेरा काठमाडौं क्षेत्र नं २ का  मतादाताहरूलाई पनि सम्झिन चाहन्छु, नाग्लेभारे, छापभंज्याङ, पालुवारीजस्ता गाउँदेखि रातोपुल, कोटेश्वर, काँडाघारीजस्ता सहरमा बस्ने मेरा मतादाताहरूको आशा र भरोसालाई हृदयमा साँचेर आज म मेरा विचारहरू व्यक्त गरिरहेको छु।

काठमाडाैं क्षेत्र नं २ का जनताको प्रतिनिधिको हैसियतमा यहाँ बोल्दै गर्दा मलाई थाहा छ, यो क्षण ममाथि भरोसा राख्ने आमनेपालीको एउटा गर्वको क्षण मात्र होइन, यो नेपाली राजनीतिक इतिहासकै एउटा पानी ढलो क्षण हो। नेता भनेको ठूलो कद भएको मानिस हुनुपर्छ भन्ने भाष्य समाजबाट नहराउँदै एक २७ वर्षे युवामाथि भरोसा गरेर मेरा मतदाताहरूले आफ्ना सपनाहरू सुम्पेको क्षण हो। यदि म गलत छैन भने, मेरो उपस्थिति यो सदनको निम्ति नै एउटा ऐतिहासिक क्षण हुन सक्छ किनकि सम्भवतः योभन्दा अगाडि मभन्दा कान्छो व्यक्तिले लागि यो रोस्टममा आएर बोल्ने मौका सायदै पाएको होला। 

यो इतिहासको पानी ढलो क्षण यसकारण पनि हो, कि संघीय गणतान्त्रिक लोकतान्त्रिक नेपालको दोस्रो संसद्मा उपसभामुख पदका लागि सीमान्तमा रहेका दुई समुदायका महिलाहरू लोकतान्त्रिक पद्धतिमार्फत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

लोकतन्त्र भनेको फगत शासन पद्धति मात्र होइन, यो त जीवनशैली हो। त्यसैले लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको मानिसको जीवनमा आएको सकारात्मक परिवर्तनको आधारमा मात्र लिन सकिन्छ। आज दुईजना सीमान्तकृत समुदायका महिला लोकतान्त्रिक पद्धतिअनुसार उपसभामुख पदका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यो आफैँमा हाम्रो लोकतन्त्र सुदृढ हुँदै गएको संकेत हो।

उहाँहरूको प्रतिस्पर्धा फगत एक सुखद संयोग मात्र नबनोस्। बरु यस्तो प्रतिस्पर्धा हाम्रो लोकतान्त्रिक अभ्यासको सामान्य प्रक्रिया बन्दै जाओस्, जहाँ सीमान्तमा रहेका मानिस मूलधारको प्रतिस्पर्धामा आउन सकुन्। अनि मात्र हामीले हाम्रो लोकतन्त्र उन्नत भएको महसुस गर्न सक्छौँ।

सभामुख महोदय,
लोकतन्त्र संस्थाहरूको पनि संस्था हो १ संसद् जनताहरूको भावनाको प्रतिनिधित्व हुने साझा थलो हो । २७५ जना सदस्य रहने यो संसद्मा यतिबेला वास्तवमा हामी तीन करोड नेपाली उपस्थित छौँ । यो प्रतिनिधित्वको पछाडि जनताको आशा भरोसा छ । त्यो आशालाई वास्तविकतामा बदल्न, विकसित र गतिशील समाजलाई मध्यनजर गर्दै हामीले समय सापेक्ष ऐन, कानुनहरू बनाउनु छ । 

आम नेपालीको त्याग र बलिदानबाट हामीले सबैभन्दा उच्चतम राजनैतिक व्यवस्था को रूपमा लोकतान्त्रिक व्यवस्था हामीले हासिल गरिसकेका छौँ १ तर यो बामे सर्दै गरेको लोकतन्त्रलाई स्थापित गर्ने काम गर्नु छ ।

हामी सबैलाई थाहा छ देश अहिले गम्भीर आर्थिक संकटमा छ, लगभग ४२ ५ हिस्सा ओगट्ने युवा पुस्ताबाट लिन सकिने यथेष्ट जानसांखिक लाभको बाबजुद पनि हाम्रो देश अहिले आर्थिक संकटमा परेको छ १ जता हेर्‍यो आर्थिक  भ्रष्टाचारको कुरा मात्र सुनिरहेका हुन्छौ । मेरो विचारमा भ्रष्टाचार पैसा र पदमा मात्र हुँदैन, सम्भावनाहरूको खोजी नगर्नु अर्को ठुलो भ्रष्टाचार हो । त्यही सम्भावनाको यथेष्ट खोजी नभएका कारण  मासिक २० हजार रुपैयाँ कमाउन आज युवाहरू विदेश पलायन भएका छन्, सग्लो शरीर लिएर गएका साइँलीका रामहरू बाकसमा फर्किएका छन् । कति बन्धक बनेका छन्, कति लुटिएका छन्, कति पिटिएका छन् , यो समग्र देश प्रतिको अन्याय हो । 

वार्षिक करिब ५ खर्ब रेमिट्यान्स भित्र्याउँदा समेत आम नेपालीको जीवनमा केही मात्रामा भौतिक सुखसयल बाहेक तात्त्विक परिवर्तन ल्याउन सकिएको छैन । राजनीतिक हिसाबले लोकतन्त्र हासिल गरे पनि हामीले नेपाली समाजमा न्याय, स्वतन्त्रता र समानता स्थापना गर्न सकिरहेका छैनौँ । यति भनिरहँदा पनि यो देशमा केही हुन सक्दैन भनेर विदेश भासिएको युवा जमात आज यहाँको परिवर्तनको सम्भाव्यता देखेर खुसी छ, र कुनै दिन स्थायी रूपमा देश फर्कने योजना बनाइरहेको छ ।  ती तमाम बिदेसिन बाध्य भएका नेपालीका सपना अटाउन सक्ने नेपाल बनाउनु छ !

अब सम्भावनाहरूको अविलम्ब खोजी गरिनुपर्छ तर फुटेर हैन, एक आपसमा आरोप प्रत्यारोप गरेर हैन, विकासका मुद्दामा एक जुट भएर अगाडी बढ्नु पर्छ । 

विकासका कामहरू कसरी छिटो सम्पन्न गर्ने अब बहस हुनुपर्छ, प्रशासन कसरी चुस्त दुरुस्त र प्रभावकारी बनाउने बहस गर्नुपर्छ । यो बदलिँदो समयमा बदलिँदो शैली अपनाउन सकेनौ भने नयाँ विकास गर्ने सक्दैनौ, पुरानै चिन्तन बाट नयाँ विकास कसरी गर्ने ?

लोकतन्त्रको प्रवर्धन गर्दै संसदीय परम्पराको  मर्यादाभित्र रहेर हामीले मिलेर काम गर्नु छ । प्रविधि मात्र हैन प्रवृत्ति पनि बदल्नुपर्छ । सधैँ इतिहासमा मात्र गर्व गर्‍यौँ  । तर इतिहास भनेको पढ्ने र गर्व गर्ने चिज मात्र हैन इतिहास लेख्ने पनि कुरा हो ।। धेरै पढ्यौ अब लेख्नु पर्छ । इतिहास लेख्ने अवसर सबैलाई प्राप्त हुँदैन , इतिहास लेख्ने जनताका आशा र भरोसाका प्रतिनिधि हामी माथि यो अवसर प्राप्त भएको छ, अब नयाँ इतिहास लेख्नै पर्छ ।

विकासका कामहरू कसरी छिटो सम्पन्न गर्ने अब बहस हुनुपर्छ, प्रशासन कसरी चुस्त दुरुस्त र प्रभावकारी बनाउने बहस गर्नुपर्छ । यो बदलिँदो समयमा बदलिँदो शैली अपनाउन सकेनौ भने नयाँ विकास गर्ने सक्दैनौ, पुरानै चिन्तन बाट नयाँ विकास कसरी गर्ने ?

लोकतन्त्रको प्रवर्धन गर्दै संसदीय परम्पराको  मर्यादाभित्र रहेर हामीले मिलेर काम गर्नु छ । प्रविधि मात्र हैन प्रवृत्ति पनि बदल्नुपर्छ । सधैँ इतिहासमा मात्र गर्व गर्‍यौँ  । तर इतिहास भनेको पढ्ने र गर्व गर्ने चिज मात्र हैन इतिहास लेख्ने पनि कुरा हो ।। धेरै पढ्यौ अब लेख्नु पर्छ । इतिहास लेख्ने अवसर सबैलाई प्राप्त हुँदैन , इतिहास लेख्ने जनताका आशा र भरोसाका प्रतिनिधि हामी माथि यो अवसर प्राप्त भएको छ, अब नयाँ इतिहास लेख्नै पर्छ ।

सभामुख महोदय,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थ–राजनीतिक विकास, सामाजिक–सांस्कृतिक रूपान्तरण र विश्व सम्बन्धको नयाँ आधारशिला खडा गर्न नवीन विचार, परिष्कृत विश्वदृष्टि र उच्च नैतिक बलसहितको नयाँ नेतृत्व लिएर राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढेको छ !

यो सदनलाई पक्ष र प्रतिपक्षको चिन्तनमुखी थलो बनाउनुपर्ने जिम्मेवारी हामी सबै माथि छ ! भर्खरै बामे सरेको लोकतन्त्र लाई बलियो बनाउनका लागि पक्ष, प्रतिपक्षमा छलफल गर्ने पर्ने हुन्छ । त्यो हामी कसैलाई नहोच्याईकन, कसैलाई नरिझाईकन गर्नु आवश्यक छ । शक्ति संघर्षको भुलभुलैयामा र लोकरिझ्याईंमा अल्झिने हो कि संविधानवादको भावनालाई आत्मसाथ गर्दै साँचो अर्थमा सामाजिक न्यायका लागि आवाज उठाउने हो, त्यो हाम्रो हातमा छ ।

यो गरिमामय सदन न्याय, समानता र स्वतन्त्रताको पक्षमा वकालत गर्ने थलो हो । हाम्रो सभ्य र समुन्नत छलफलले लोकतन्त्र बलियो हुन्छ, नागरिक बलियो हुन्छ । यहाँको छलफलले हामीमाथि विश्वास गर्ने जनताहरूलाई विश्वास दिलाउनु छ, कि जनताहरू फगत मतदाता मात्र होइन, नागरिक हो । वहाँहरूको नागरिक हुनुको  परिचय हामी तब मात्र दिन सक्छौँ, जब हामी वहाँहरूले आफ्नो अमूल्य मतमार्फत निर्वाचित गरी पठाउनु भएका हामी वहाँहरूका समस्या र सपनाबारे यहाँ घनीभूत छलफल गर्छौँ र सकारात्मक परिवर्तनका लागि कदम चाल्छौँ ।

हामीले शासकीय स्वरूपमा लोकतन्त्र त स्थापना गर्‍यौँ, तर लोकतान्त्रिक संस्थाहरूलाई सुधार गर्न सकेनौँ । राज्यका हरेक महत्त्वपूर्ण लोकतान्त्रिक संस्था अहिले धराशायी अवस्थामा छन् । संविधानमा लेखिँदैमा न्याय, समानता, आत्मसम्मान र स्वतन्त्रताका कुरा आफैँ पुरा हुँदैनन् । तिनको त निरन्तर पैरवी गर्नु पर्छ । पक्कै पनि हाम्रो दायित्व लोकतन्त्रको पैरवी गर्ने र बडो मुस्किलले बनाइएको संविधानको रक्षा गर्ने हो । संविधानको भावनालाई आत्मसाथ गर्न सकियो भने मात्र सही अर्थमा हामी हाम्रो शिशु लोकतन्त्रलाई समुन्नत बनाउन सक्छौँ । 

संविधानप्रति कतिपय समूहका विमति पति छन्, जसलाई यही सदनमा व्यापक छलफलमार्फत टुङ्ग्याउनु पर्ने छ । किनकि राजनीति र लोकतन्त्र भनेको सहमति मात्र होइन, विमति पनि हो ।

एकांकी विचार मात्र हाबी हुनु, प्रतिपक्षी विचार शून्य हुनु वा त्यसलाई नजर अन्दाज गरिनुले लोकतन्त्रको क्षयीकरण हुन्छ । त्यसैले माननीय सदस्यहरू समक्ष मेरो आग्रह छ, लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि तपाईँहरूका प्रतिपक्षी आवाज यस सदनमा बुलन्द भइरहुन् ।

विचारको विविधता र प्रतिपक्षी विचारको सहनशीलता परस्पर प्रतिस्पर्धात्मक विचारको मन्थनले नै लोकतन्त्रलाई उन्नत बनाउन सक्छ । त्यसैले वादविवाद यस संसद्को आधारभूत लक्षण हुनुपर्छ ।

हामीले आफ्नो संसदीय शक्तिलाई फगत अङ्कगणितको खेल मात्र मान्यौँ भने हामीले पाएको अमूल्य मतको अपमान त हुन्छ नै, नागरिक माथि अन्याय पनि हुन्छ । यहाँ हामीले के छलफल गर्छौँ, कस्ता विषयमा वादविवाद गर्छौँ, यहाँ हाम्रो हाउभाउ कस्तो हुन्छ, त्यो सबै यो देशका आम जनताले बाहिर बसेर हेरिरहनु भएको छ ।

त्यसैले, लोकतन्त्र र संविधानलाई सुदृढ गर्ने यी यावत कुराहरूको सन्दर्भमा यस सदन को काम कर्तव्यलाई कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्ने अठोटका साथ प्रतिस्पर्धामा आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी माननीय सांसद इन्दिरा रानाको पक्षमा मतदान गर्न म सबै माननीय सदस्यहरूसमक्ष  प्रस्ताव लिएर आएको छु ।

आज हुन गइरहेको संघीय संसद्को उपसभामुख पदको निर्वाचन खास महत्त्वपूर्ण छ । संविधानको रक्षा, लोकतन्त्रको पैरवी र सकारात्मक संसदीय अभ्यासका लागि सभासद्को महत्त्वपूर्ण भूमिका हुन्छ । र यस महत्त्वपूर्ण पदमा निर्वाचनका लागि म माननीय इन्दिरा रानामगरका पक्षमा मतदान गरौँ भन्ने प्रस्ताव लिएर आएकी छु ।

माननीय इन्दिरा रानामगरको अनुहार यहाँहरूमध्ये कतिलाई नयाँ लाग्न सक्छ । एक नयाँ पार्टीको सदस्यका रूपमा संसद्मा प्रतिनिधित्व गर्दै गर्दा पक्कै पनि वहाँ नयाँ अनुहार नै हो जस्तो लाग्न सक्छ । माननीय इन्दिरा रानामगर समाज रूपान्तरणको अथक प्रयासपछि निखारिएर आउनुभएको छ ।

वहाँ लामो समयदेखि कारागारमा हुने बाबुआमाका बालबच्चाको पालन पोषण र शिक्षा दीक्षामा आफ्नो जीवन समर्पण गर्नुभएको छ । जुन बच्चा आफ्ना बाबुआमाको कसुरको भागीदार हुन पुगेका थिए, जसको भविष्य अन्धकार थियो, जसले जेलका भित्ताबाहिरको संसार देख्न सकेका थिएनन्, तिनलाई संसार देखाउनुभएको छ ।

तपाईँ हामीमध्ये धेरैजना समस्या औँल्याएर मात्र बस्छौँ, गुनासो मात्र गर्छौँ । तर माननीय इन्दिरा रानामगर ती समस्याको समाधान खोज्ने किसिमको व्यक्ति हुनुहुन्छ ।

अन्धकारमा जीवन बिताइरहेका कैयौँ नेपाली बालबच्चालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्ज्वल बनाउनुहुने माननीय इन्दिरा रानामगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, वहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मानित हुनु हो । लोकतन्त्र र संविधानको सर्वोच्चता बारे वहाँका स्पष्ट विचार छन् । यस सदनको गरीमा, र पदको जिम्मेवारीलाई वहाँले अत्यन्त कुशलतापूर्वक निभाउन सक्नुहुन्छ भन्ने म सबै भन्दा बढी विश्वस्त त म नै छु ।

उहाँले आफ्नो जीवन नै बालबालिकाका रक्षाका लागि र नेपालको रक्षाका लागि समर्पित गर्नु भएको छ । उपसभामुखका लागि हुँदै गरेको यस निर्वाचनमा आफ्नो अमूल्य मत संविधानको रक्षा र लोकतन्त्रको पैरवीको पक्षमा माननीय इन्दिरा रानामगर प्रति समर्पित गरौँ भनेर यहाँ उपस्थित सबै माननीय सदस्यज्यूहरूसँग आग्रह गर्न चाहन्छु ।

उपसभामुखको काम कर्तव्यलाई बलियो बनाउन माननीय इन्दिरा रानामगरले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

यस लोकतान्त्रिक प्रतिस्पर्धामा भाग लिनुहुने माननीय सांसद मुक्ताकुमारी यादवलाई समेत म शुभकामना टक्र्याउन चाहन्छु । र संसद्मा प्रतिपक्षको र प्रतिस्पर्धाको भावनालाई बर्करार राख्दै सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने माननीय सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएकोमा म नेपाली कांग्रेसलाई बधाई तथा धन्यवाद पनि दिन चाहन्छु ।

महात्मा गान्धीले भन्नुभएको छ, तपाईँले विनम्र तरिकाले नै संसार हल्लाउन सक्नुहुन्छ । अपार सैन्य शक्तिका बाबजुद ब्रिटिस साम्राज्यले गान्धीको सत्याग्रहसँग झुक्नु पर्‍यो । त्यसरी संसार हल्लाउने गान्धीको उपाय थियो, सत्याग्रह, अर्थात् सत्यको आग्रह । गान्धीको सत्यको आग्रह अरू प्रति मात्र लक्षित थिएन, आफ्नै अन्तर्मनसँग सत्यको आग्रह थियो । आज मतदान गर्दै गर्दा हामीले आफैँसँग सत्यको आग्रह गरौँ, र लोकतन्त्र, संविधानवाद, नेपाली नागरिकको सर्वोच्चता र स्वतन्त्रताको पक्षमा मतदान गरौँ ।

[शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमको सम्बोधनको पूर्णपाठ ]

गौतम काठमाडौं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छन्।

कस्तो लाग्यो ?

यो पनि