असोज २०, २०७९, बिहीबार
               

फ्रायडीय र भगवान् कृष्णको मनोविज्ञान भेद

महेश श्रेष्ठ
पुस २९, २०७८

ADVERTISEMENT

मनोविज्ञान जस्तै अध्यात्म पनि मनको विज्ञान हो  

पाण्डव र कौरवका विशाल सेनाहरू हातहतियार सहित, लडाइँ गर्न तम्तयार अवस्थामा रणभूमिमा उपस्थित थिए । त्यही बेला अर्जुन लडाइँ गर्नुको औचित्य छैन भनेर भगवान् कृष्णसँग लडाइँ गर्दिनँ भनेर याचना गर्दै थिए । आफन्त जनलाई मारेर कुनै युद्ध जित्नु छैन भन्दै मानसिक रूपमा आक्रान्त र आकुलव्याकुल भएका अर्जुनलाई कृष्णका केही वचनले विना दुबिधा लडाइँ गर्न राजी बनाएको थियो । मानसिक रूपमा अर्जुनमा कति तेज थियो भन्ने कुरा उसमा भएका क्षमताले उजागर गर्छ । त्यस्तो असाधारण परिस्थितिमा असाधारण मानिसलाई उसको मनोदशा बुझेर कृष्णले केही वाणीद्वारा परिवर्तन गरिदिए ।

अर्जुन त केवल प्रतिनिधि पात्र मात्रै हुन् । जुन प्रकारको अर्जुनको मनोदशा थियो, त्यो समग्र मानव जातिको मनमा भएको अन्तर्द्वन्द्वको कथा हो । स्वभावतः मानिस हिंस्रक नै हुन्छन् । यद्यपि भरपूर रूपमा मानिसले हिंसा अचेतन मनमा दबाएका हुन्छन् । वास्तवमा हिंसा र ममता एउटै चिजका दुई वटा पाटा हुन् । दिन र रात जस्तै, सिक्काका दुई पाटा । त्यसैले मानिसमा हिंसासँगसँगै ममता पनि छ ।

‘म’भाव र मन एकअर्कोसँग अन्योन्याश्रित सम्बन्ध राख्छ । ‘म’भाव विना मनको अस्तित्व नै छैन अनि मन विना ‘म’भाव । गहिरिएर हेर्‍यो भने ‘म’भाव भन्नु नै मन हो । 

गीताको एउटा पाटो भनेको हामीभित्रको हिंसा कसरी व्यवस्थापन गर्ने भन्ने हो । त्यसैले गीता मानव इतिहासको सबैभन्दा पुरानो एवं उत्कृष्ट मनोविज्ञानको ग्रन्थ हो । अनि कृष्ण महान् मनोवैज्ञानिक हुन् । कृष्ण मात्रै होइनन्;  नौ सय उनन्न सय जनाको हत्या गर्ने कुख्यात अपराधी अंगुलीमालालाई सन्त पुरुषमा रूपान्तरण गर्ने गौतम बुद्ध, जिसस, नानक, मोहम्मद सबैको व्यक्तित्वमा मनोवैज्ञानिक हुनुको पाटो छ । तिनको ज्ञानको सार भन्नु नै मानव मनको समग्र रूपान्तरण नै हो । त्यसैले अधिकतम आध्यात्मिक ग्रन्थहरूमा मनोविज्ञानको पाटो छ । 

मनोविज्ञान चिन्तन हो, अध्यात्म अनुभूति हो 

अध्यात्म विज्ञानको सार मनको समग्र रूपान्तरण नै हो । अध्यात्म, प्राचीन कालमा पूर्वीय सभ्यतामा विकास भएको मनको विज्ञान हो । तर सिग्मन फ्रायड, बि.एफ.स्किनर, अल्बर्ट बान्डुरा, ,एरिक एरिक्सन लगायतका पश्चिमी मनोवैज्ञानिकहरू र पूर्वीय ऋषिहरूले प्रतिपादित गरेको मनको विज्ञान बिच ठुलो भेद छ । मनको चरित्रलाई बुझ्न पूर्वीयऋषिहरूले स्वयंको मनलाई अनुभूति गरे । जसका लागि ध्यान विधिहरू आविष्कार गरिए । पश्चिमी मनोविज्ञान चाहिँ अन्य मानिसको मनलाई आधार मानिएर गरिएको अध्ययन चिन्तन र परीक्षणहरूको सार हो ।    

मनोविज्ञानले स्वस्थ देखेको मानिसलाई अध्यात्मले स्वस्थ देख्दैन  

पश्चिमी मनोविज्ञानका प्रणेता सिग्मन फ्रायडले करिब दुई हजार मानिसलाई आधार मानेर मनको अध्ययन गरेका थिए । तर ती दुई हजार व्यक्तिहरू मध्ये अधिकांश मानसिक रोगी थिए । हुन त पश्चिमी मनोविज्ञान सामान्य अर्थमा मानिसको भावना, सोचाई र व्यवहारको अध्ययन गर्ने विज्ञान हो । अनि आज पश्चिमी मनोविज्ञानको विभिन्न उपयोगिता छ । तथापि पश्चिमी मनोविज्ञानको इतिहास कालीन जग भनेकै मानसिक सन्तुलन गुमाएका मनोरोगीहरूलाई सामान्य अवस्थामा फर्काउनु नै हो । सामान्य मानिस पनि स्वभावतः मानसिक रूपमा स्थिर हुँदैन । केही अवसरमा रमाए पनि थुप्रै अवसरमा आम मानिसहरू दुःखी हुन्छन् । वास्तवमा मानिसलाई खुसी बनाउने हो भने, मनोरोगीको त परै जाओस् समान्य मानिसको नभई आनन्दित मानिसलाई परीक्षण र अध्ययनको विषय बनाउनु पर्छ । पछिल्लो समयमा ‘पोजेटिभ साइकोलोजी’का नाममा मानसिक रूपमा निरोगी मानिसलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने विषयमा पश्चिमी मनोविज्ञानले अध्ययनको थालनी चाहिँ गरिसके । तथापि आजसम्म पश्चिमी मनोविज्ञान मानिसको मनलाई व्याख्या गर्न जति दक्खल राख्दछ, दुःख निवारण गर्ने सन्दर्भमा उति नै निरीह छ । 

यसको विपरीत पूर्वीय ऋषिमुनिहरूले बुद्ध मानिसलाई आधार मानेर अध्यात्म विज्ञानको विकास गरेका हुन् । पश्चिमी मनोविज्ञान मनोरोगीहरूलाई सामान्य अवस्थामा फर्काउनुमा सीमित भइरहँदा पूर्वीय अध्यात्मले एउटा सामान्य मानिसलाई कसरी चरम आनन्दपूर्वक बाँच्ने भन्ने कुरा सिकाउँछ । व्याकुल मानिस कसरी बुद्ध मानिसमा रूपान्तरित हुने भन्ने कुरा सिकाउँछ ।
 
अध्यात्मका लागि आम मानिसमा मनोदुर्वलता छ, उनीहरू स्वस्थ्य छैनन् । त्यसैले उसले आम मानिसको मनो रूपान्तरण आवश्यक ठान्छ । तर मनोदुर्वलता भएकाहरूको हुलमा अर्को मनोदुर्वलता भएको मानिस बिल्कुलै स्वस्थ प्रतीत देखिन्छ । जस्तै, कुनै पागलखानामा एउटा सद्दे मानिसलाई राखिदिने हो भने त्यहाँ भएका पागलहरूको जमातले त्यो सद्दे मानिसलाई पागल देख्दछ तर त्यहाँ सद्दे मानिसको साटो पागललाई नै राखिदिने हो भने त्यो जमातलाई त्यो पागल सद्दे लाग्न सक्छ । पश्चिमी मनोविज्ञानकालागि मानसिक अवस्थाको मापदण्ड, समाजसँगको तालमेलमा भर पर्ने कुरा हो । जस्तै हाम्रो लागि नाङ्गै हिँड्नु पागलपनको पराकाष्ठा हो । तर जङ्गलमा रहेका आदिवासीका सन्दर्भमा नाङ्गै हिँड्नु सामान्य हो । एक समान्य मानिसलाई सामाजिक दृष्टिकोणले हेरेकै कारणले पश्चिमी मनोविज्ञानले आम मानिसलाई मानसिक रूपमा स्वस्थ्य देख्दछ ।

जहाँ मनोविज्ञान अन्त हुन्छ, त्यहीबाट अध्यात्म सुरु हुन्छ 

वास्तवमा सिग्मन फ्रायडको पश्चिमी मनोविज्ञान र कृष्णको पूर्वीय अध्यात्म दुईवटै विषयको केन्द्र मानिसको अहम् भाव अर्थात् ‘म’ भाव नै हो । पश्चिमी मनोवैज्ञानिकहरूले ‘म’ भाव अर्थात् ‘अहम्’लाई परिपृष्ठ गर्ने उपायहरू खोजेका छन् । तिनका मतमा ‘म’भाव परिपृष्ठ भएको सन्दर्भमा मानिसले सामान्य जीवन जिउन सक्छन् । 

हामीभित्र अनगिन्ती व्यक्तित्वहरू हुन्छन् । हामी साँझ सोच्ने गर्दछौँ कि भोलि बिहान ‘मर्निङ वाक’मा निक्लिनेछौँ । अनि बिहान हामीलाई अल्छी लाग्छ र हामी ओछ्यानमै रहन्छौँ । अनि फेरि समय बितेपछि ‘मर्निङ वाक’मा ननिस्किएको कुरामा पछुताउँछौँ । को हो त्यो ‘मर्निङ वाक’को योजना बनाउने ? अनि त्यो योजनालाई विफल बनाउने र फेरि पछुताउने ? के यी तिनै अवस्थामा हाम्रो मानस एकै खालको हुन्छ ? वास्तवमा हामीमध्ये धेरैको व्यक्तित्वमा अनगिन्ती व्यक्तिहरू छन् । दिनभरि हाम्रो व्यक्तित्वमा एकरूपता नआउनु भनेको नै मनोरोग हो । 

एकै मानिसमा धेरै व्यक्तित्व भएका सन्दर्भमा हामीभित्रको ‘म’भाव छरिएर बसेको हुन्छ । पश्चिमी मनोवैज्ञानिकहरूले यस्तै छरिएर बसेको व्यक्तित्वलाई एकत्रित बनाउनमा सहयोग गर्छन् । हामीले दिनभर उस्तै गरी सोच्यौँ भने हामी सामान्य अवस्थामा फर्किने हो । तर दुःखको मूल कारण नै ‘म’भाव हो । जति–जति ‘म’भाव मजबुत हुँदै जान्छ, हामी खुसी हुन सक्दैन । 

मनोविज्ञानको विपरीत, अध्यात्मले आनन्दमय जीवनका सन्दर्भमा ‘म’भावको त्याग गर्नु जरुरी छ भन्ने कुरा सिकाउँछ । हामीसँग जे छ त्यही मात्रै त्याग्न सक्छौँ । ‘म’भावको त्याग गर्ने सन्दर्भमा पनि त्यसलाई परिपुष्ट गर्नु चाहिँ जरुरी छ । त्यसैले जहाँबाट पश्चिमी मनोवैज्ञानिकका काम अन्त हुन्छ, त्यहीबाट पूर्वीय ऋषिमुनिका काम सुरु हुन्छ । 

‘म’भाव र मन एकअर्कोसँग अन्योन्याश्रित सम्बन्ध राख्छ । ‘म’भाव विना मनको अस्तित्व नै छैन अनि मन विना ‘म’भाव । गहिरिएर हेर्‍यो भने ‘म’भाव भन्नु नै मन हो । 

अध्यात्मले हामी स्वयंले आफ्नो बारेमा बनाएको छवि भत्काउन सिकाउँछ । अध्यात्मका सन्दर्भमा सामान्य अवस्थामा समेत हाम्रो व्यक्तिगत इच्छालाई सामाजिक छविको बचाउका लागि बलिदान दिनु उचित मान्दैन । समाजले के भन्छ, त्यसको महत्त्व केवल सामाजिक प्राणीलाई हुन्छ । अध्यात्मले हामीलाई विना सङ्कोच स्वार्थ बन्न सिकाउँछ ।

पश्चिमी मनोविज्ञानले केवल मानिसको मन बारेमा अध्ययन गरे । तर पूर्वीय ऋषिहरूले मनदेखि पारको अवस्थामाको बारेमा खोज गरेका छन् । मनको आधारभूमि विचार हो । पश्चिमी मनोविज्ञान, विचारमा एकरूपता र विचारको सकारात्मक परिवर्तन गर्नुमा केन्द्रित छ । तर पूर्वीय मनोविज्ञानको यात्रा भनेको विचारबाट निर्विचारको अवस्थासम्मको हो । निर्विचारको अवस्थामा चेतनाको अनुभूत गराउनु हो । 

विचार बाहिरबाट लादिन्छ तर चेतना नैसर्गिक हुन्छ    

विचार र चेतना फरक–फरक कुरा हुन् । विचार बाहिरबाट लादिएको हुन्छ । चेतना हाम्रो नैसर्गिक स्वभाव हो । विचार बादलजस्तै छ । बादल कहिले कालो हुन्छ । कहिले सेतो हुन्छ । कहिले पारदर्शी हुन्छ । कहिले घना हुन्छ । बादलको आकार पनि बदलिइरहन्छ । विचार पनि बादल जस्तै कहिले नकारात्मक हुन्छन् । कहिले सकारात्मक हुन्छन् । कहिले थोरै विचार आउँछ । कहिले धेरै विचार आउँछ । विचार परिवर्तन भइरहन्छ । तर चेतना आकाश जस्तै अपरिवर्तित छ । जुन सधैँ छ । त्यो कहिल्यै हराउनै सक्दैन । त्यो शाश्वत हुन्छ । तर जसरी बादलको उपस्थितिमा आकाश छेकिन्छ, त्यस्तै विचारले चेतनाको अनुभूतिमा बाधा पुर्‍याउँछ । अनि बादल नहुँदा आकाश आफसेआफ देखिन्छ । त्यस्तै निर्विचारको अवस्थामा हामीले हाम्रो चेतनाको अनुभूति गर्न सक्छौँ । त्यही चेतनाको अनुभूति गरेको अवस्थामा नै हामी छटपटीबाट मुक्त हुन्छौँ । हाम्रो हिंस्रक स्वभावबाट मुक्त हुन्छौँ । मनको पारको अवस्था भने कै यही हो । यही अवस्थालाई मुक्तिको अवस्था वा बुद्धत्वको अवस्था भनेको हो । तर आजसम्म पश्चिमी मनोविज्ञानले बुद्धत्वको कल्पना गर्न सकेको छैन । अनि मनोरोगीलाई सामान्य रूपमा फकाउने सन्दर्भमा पूर्वीय मनोविज्ञानसँग जति उपायहरू छन्, त्यसको तुलनामा अध्यात्मसँग शून्य बराबरको उपाय छ ।  

मनोविज्ञान, समाज प्रधान हुन्छ; अध्यात्म अस्तित्व प्रधान 

यो संसारमा जति मानिस छन्, त्यही अनुपातमा मनोवैज्ञानिक संसारहरू छन् । हामी सबैको नितान्त भिन्नै आ–आफ्नै मनोवैज्ञानिक संसारहरू छन् । तर ती संसारहरू थोरै मात्रामा समाजसँग जोडिएका हुन्छन् । जब हाम्रो निजी मनोवैज्ञानिक संसार र समाजबीच बिल्कुलै तालमेल खाँदैन त्यही अवस्थाका मानिसलाई समाजले पागल भनेका हुन् । पश्चिमी मनोविज्ञानले हाम्रो निजी मनोवैज्ञानिक संसार र समाजलाई जोड्ने कडी खोज्छ । तर पूर्वीय मनोवैज्ञानिकहरूले निजी मनोवैज्ञानिक संसारहरूको सिमाना भत्काउने विधि खोच्छ । मनको सीमाभित्र वैचारिक धरातलमा फरक मानिसका लागि सत्य फरक फरक छन् । तर मनदेखि पारको चैतन्य अवस्थामा मनोवैज्ञानिक सत्य हुँदैन केवल सत्य हुन्छ । अनि त्यस्तो अवस्थामा सत्य सबैका लागि एकै हो । त्यसैले दुई सामान्य मानिसले एउटै कुरालाई फरक फरक देख्छ । तर बुद्ध, जिसस, मोहम्मद र कृष्णले कुनै एउटा कुरालाई केवल एउटै देख्छ । भ्रममा परेका त हामी हौँ जसले तिनीहरूले भनेका सत्यलाई मनोवैज्ञानिक रूपमा भिन्नाभिन्नै देख्दै आएका छौँ ।

अक्सर हामीभित्रको मानवीय वृत्ति र सामाजिक छविको टकारावट भइरहन्छ । सामान्य अवस्थामा अरू मानिसको अगाडि हाम्रो सामाजिक छविले थुप्रै अवसरमा मानवीय वृत्तिलाई दबाएको हुन्छ । तर हामी एक्लै हुँदा हाम्रो सामाजिक छविलाई हाम्रो मानवीय वृत्तिले जितेको हुन्छ । हामीलाई हरपल आफ्नो छवि धुमिल हुने चिन्ता हुन्छ । पश्चिमी मनोविज्ञानका सन्दर्भमा हामी केही मात्रामा स्वतन्त्र व्यक्ति हौँ र धेरै मात्रामा सामाजिक प्राणी हौँ । किनकि ‘म’भाव अरूलाई दम्भ देखाउने सन्दर्भमा मात्रै परिपृष्ठ हुन्छ । तर अध्यात्मको सन्दर्भमा हामी केवल अस्तित्व हौँ । अध्यात्मले हामी स्वयंले आफ्नो बारेमा बनाएको छवि भत्काउन सिकाउँछ । अध्यात्मका सन्दर्भमा सामान्य अवस्थामा समेत हाम्रो व्यक्तिगत इच्छालाई सामाजिक छविको बचाउका लागि बलिदान दिनु उचित मान्दैन । समाजले के भन्छ, त्यसको महत्त्व केवल सामाजिक प्राणीलाई हुन्छ । अध्यात्मले हामीलाई विना सङ्कोच स्वार्थ बन्न सिकाउँछ । विना सङ्कोच आफैँलाई मात्रै माया गर्न सिकाउँछ । जसले समाजमा छवि निर्माण गर्नेलगायतका विभिन्न कारणले आफैँलाई माया गर्न सक्दैन, त्यसले अरूलाई निस्वार्थ माया कसरी गर्न सक्छ ? अध्यात्मका सन्दर्भमा आफैँलाई विना सर्त निस्वार्थ माया गर्नु एक मात्र प्रस्थान विन्दु हो । जसले आफैँलाई निस्वार्थ माया गर्न सक्छ, उसैले सारा दुनियाँलाई निस्वार्थ माया गर्न सक्छ । जहाँ ‘म’भावको समर्पण हुन्छ त्यहाँ ‘म’ र ‘अरू’बीचको पर्खाल नै रहँदैन । 
 

श्रेष्ठ अध्यात्म र दर्शनको क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि