बैशाख १३, २०८१, बिहीबार
               

लास गन्ने दिन कुरेर नबस, सरकार !

चेतन पाण्डे
फागुन २९, २०७६

ADVERTISEMENT

कार्यकारी प्रमुख आइसीयुमा छन्, अनि सँगै देश पनि । गुनासो गर्न अब पशुपतिनाथ मात्र बाँकी छन् । 

लगभग साढे दुई महिना भएछ, चीनबाट कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएको । कोभिड–१९ को जन्मस्थल नै अहिले लगभग त्यो रोगबाट मुक्त हुन थालिसक्यो । चीनले यो रोगसँग लड्ने जुन नैतिक साहस र नीति अँगाल्यो । त्यसले सबैलाई चकित बनाएको छ । नागरिकप्रति राज्यको उत्तरदायित्व कस्तो हुन्छ भन्ने प्रमाण पनि दिएको छ ।

हुन त धन हुँदैमा सङ्क्रमणको आँधीबाट बच्न सकिँदैन भन्ने उदाहरण युरोप र अमेरिका बनेका छन् । युरोपमा सलह जस्तै कोभिड–१९ को सङ्क्रमण फैलिन थालेपछि सारा विश्व झन् आतङ्कित बनेको छ । सङ्क्रमणबाट कसरी बच्ने भनेर अनेकौँ उपाय अपनाउन थालेका छन् ।

हामी भने हिजो जस्तो थियौँ, आज पनि त्यही अवस्थामा छौँ । सङ्क्रमणबाट बच्ने तयारी बिना, पशुपतिनाथ कै आड भरोसामा । धनीले त रोक्न सकेनन्, हामी गरिबको के लाग्ला र ? भनेर बस्ने समय पनि छैन, अब ।

हुन पनि जुन राज्य आर्थिक तथा नैतिक आधारमा सङ्क्रमित छ । जुन देशका कार्यकारी प्रमुख नै बिरामी छन् । त्यो देशलाई बचाउने आखिर भगवानले नै त हो । जुन देशका जिम्मेवार मन्त्री ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न नागरिकसँग अनुनय विनय गर्छन्, त्यो राज्यले नागरिकको अधिकारलाई कति अवमूल्यन गरेको छ भन्ने पनि प्रस्ट भएकै छ । अनि नागरिकको सम्भावित मृत्युलाई कसरी हलुकासँग लिएको छ भन्ने प्रस्ट पनि भइसक्यो ।

जबसम्म शासकका लागि नागरिकको जीवन र मृत्युको कुनै मूल्य हुँदैन । जबसम्म नागरिकको मनोभावप्रति राज्य संवेदनशील बन्न सक्दैन । जबसम्म नागरिकको मनोभाव र राज्यसँगको स्वार्थरहित सम्बन्ध र आकांक्षालाई अवमूल्यन गरिन्छ । तबसम्म राज्य र नागरिकको सम्बन्धमा मिठास घुलिन सक्दैन । अनि भोलिका दिनमा त्यही शासक वर्गले हरेक मृत्युका लागि अफशोच मनाउँदा पनि त्यसलाई गोही रोदन देख्न थाल्छन्, बचेका जनताले ।

हुन त एउटा मृत्युको मूल्य ५–१० लाख रुपैयाँ तोक्ने बानी परिसकेको सरकार नागरिकको संवेदनासँग नखेल्ला भनेर कसरी भन्ने । नत्र अहिले कोरोनामुक्त रहेको मुलुकलाई नै क्वारेन्टाइनको रूप दिइसक्नु पर्थ्यो । अत्यावश्यक हरेक कुरा तयारी अवस्थामा राखिसक्नु पर्थ्यो । चाहे अस्पताल होस् वा उपचारका लागि चाहिने अन्य आवश्यक सर–सामान । अनि अत्यावश्यक बाहेक अन्य वस्तुको आपूर्ति र पर्यटक आगमनमा समेत रोक लगाइ सक्नु पर्थ्यो । जसरी भारतले लगायो । जनताको ज्यानभन्दा ठुलो अरू केही हुन सक्दैन । अहिले नसोचे, कहिले सोच्ने ? सरकार ! 

हो हामीले प्रचण्ड बहुमतको सरकार दिएका छौँ । तर, त्यही सरकार हाम्रो जीवनको सुनिश्चितता गर्न सकिरहेको छैन । बजारमा बढ्दो कालो बजारिलाई रोक्न सकिरहेको छैन । आँखा खोलेर हेरौँ सरकार ! कोरोनाको सङ्क्रमणले आज नभए भोलि भए पनि नेपाललाई नाकाबन्दीभन्दा ठुलो समस्यामा जाक्दैछ ।

हामीसँग खुल्ला सिमाना जोडिएको छिमेकीलाई पनि कोरोनाको सङ्क्रमणले गाँजिसकेको छ । मास्क लगाएमा यो रोगबाट सङ्क्रमित भइँदैन भन्ने भ्रम जनतामा रहे पनि शासकले त सबै यथार्थ बुझिसकेका नै होलान् । मास्क त स्वास्थ्यकर्मी र सङ्क्रमितका लागि मात्र लाभकारी हुन्छ भनेर किन बुझ पचाइ रहिएको छ ? विश्व स्वास्थ्य सङ्गठनले समेत भनिसकेको छ, यो कुरा । यो कुनै कालो अर्थ शास्त्रको सिध्दान्तको विषय हुन सक्ला । कालो बजारिलाई मौलाउने अवसर दिने । नत्र बजारमा अहिले मास्कको हाहाकार र कालोबजारी हुँदैन थियो होला । 

त्यसैले अब खुल्ला सिमानाकालाई पनि केही समयका लागि बन्द गर्नु पर्छ । नत्र कुन भेषमा र कुन रूपमा कोरोनाको सङ्क्रमणले नेपाललाई गाँज्न सुरु गर्छ भनेर उनै पशुपतिनाथले पनि भन्न नसक्लान् । सर्वदलीय बैठक बसेर, अमुर्त निर्णय गरेर मात्र संक्रमण रोकिदैँन । ठोस निर्णय नगरिएसम्म । अब गफ होइन, एक्सनको आवश्यकता छ ।

हो हामीले प्रचण्ड बहुमतको सरकार दिएका छौँ । तर, त्यही सरकार हाम्रो जीवनको सुनिश्चितता गर्न सकिरहेको छैन । बजारमा बढ्दो कालो बजारिलाई रोक्न सकिरहेको छैन । आँखा खोलेर हेरौँ सरकार ! कोरोनाको सङ्क्रमणले आज नभए भोलि भए पनि नेपाललाई नाकाबन्दीभन्दा ठुलो समस्यामा जाक्दैछ । हरेक नागरिक घरभित्रै कैद हुनेछन् । अव्यवस्थित राजधानी र अन्य गाउँ–सहर कुनै मसान झैँ बन्नेछन् । जहाँ जीवनलाई मृत्युले सहज जित्ने छ । लास बाहेक शासकले गन्न बाँकी केही रहने छैन ।

अहिलेको अनुमान अनुसार यही गतिमा फैलिएको खण्डमा युरोपका झन्डै ७० प्रतिशत बासिन्दा कोभिड–१९ को सङ्क्रमणमा फस्न सक्छन् रे । अति सम्पन्न मुलुकहरूको अवस्था यस्तो छ भने हाम्रो जस्तो पूर्वाधार र स्वास्थ्योपचारमा सहज पहुँच नभएको मुलुकको अवस्था झन् कति जटिल बन्ला ? समयमा नै नसोचिएको खण्डमा । 

कालले समेत हामीलाई समय दिइरहेको छ, बच्ने उपाय अवलम्बन गर्न । तर, सरकार टसका मस हुँदैन । तयारी बारे नागरिकलाई सुसूचित गराउन सक्दैन । नागरिकका लागि राज्य नै बिरानो झैँ बन्न थालेको छ । यस्ताे सरकारलाई कसरी हामीले आफ्नाे मान्ने ? 

अहिलेसम्म भगवानले हात थापेका छन् । तर, अब कति दिन थाप्लान् र ? यसरी कहिलेसम्म भयपूर्ण जीवन बिताउने, हामी नागरिकले ? हामीलाई केही भए राज्य छ भन्ने विश्वास कहिले दिलाउने ? मृत्युले न गरिब भन्छ नत धनी । नत शासक भन्छ नत शासित । बस्, आँखा चिम्लेर आउँछ, हुँडरी झैँ स्वाहा पारेर जान्छ । 

त्यसैले रोग लाग्नु भन्दा रोगलाई छिर्नै नदिनु सर्वोत्तम उपाय हो । रोग लाग्नु भन्दा रोगबाट कसरी टाढा बस्ने वा बसाउने भन्ने उपाय उत्तम हो । रोग लागे पनि त्यसबाट कसैको ज्यान नजाने तयारीमा रहनु राम्रै हो । तर, नागरिक रोगको सिकार बन्दै जान्छन्, राज्य मूकदर्शक भएर लास गन्दै जान्छ भने त्योभन्दा फासिस्ट मनोविज्ञान अरू केही हुनै सक्दैन ।

त्यसैले, सरकार ! विश्व स्वास्थ्य सङ्गठनले समेत महामारीका रूपमा स्विकारी सकेको कोरोना भाइरसबाट हामीलाई मर्न नदेऊ ! यो रोगबाट बच्ने सारा उपाय अवलम्बन गर, सरकार ! नागरिक सामु आफ्नो उपस्थिति देखाऊ ।

त्यसमाथि मौलाउन थालेको कालो बजारीमा नियन्त्रण गर्नुका सट्टा, मुलुकमा अत्यावश्यक वस्तुको भण्डार बढाउनु सट्टा, हामीसँग यति दिन वा यति महिनाको लागि भण्डारण छ भनेर ढोल पिट्नु थाल्नु थप नालायकीपन हो, सरकार ! यसले जनतामा कतिबिघ्न र कस्तो त्रास फैलिएला भनेर सोच्न नसक्ने सरकार, के को सरकार ।

त्यसैले समस्त नागरिकले अब अधिकार होइन दयाको याचना गर्नुपर्ने अवस्था आइसकेको छ, आफैँले मत दिएर बनाएको सरकारका सामु । जनताले शासकलाई बाध्य भएर नैतिक दायित्व सम्झाउने कुनै दिन आउँछ भने त्योभन्दा कमजोर राज्य अरू कुनै हुन सक्दैन । त्यो भन्दा असफल शासक अरू कोही हुन सक्दैन ।

त्यसैले, सरकार ! विश्व स्वास्थ्य सङ्गठनले समेत महामारीका रूपमा स्विकारी सकेको कोरोना भाइरसबाट हामीलाई मर्न नदेऊ ! यो रोगबाट बच्ने सारा उपाय अवलम्बन गर, सरकार ! नागरिक सामु आफ्नो उपस्थिति देखाऊ । जनताको लास गन्ने दिन कुरेर नबस, सरकार ! नत्र भोलिका दिनमा हरेक नागरिकको आँसुले पोल्दा तिम्रो दायित्व र नागरिकको अधिकार पनि त्यही आँसुको तापमा जल्ने छन् । अनि तिमीले मुख लुकाउने ठाउँ पनि भेट्न कठिन हुनेछ, सरकार !

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि