बैशाख १५, २०८१, शनिबार
               

सरकारको शासन गर्ने राजनीतिक र नैतिक धरातल गुम्यो

शेरबहादुर देउवा
बैशाख २६, २०७७

ADVERTISEMENT

कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरूको गहिरो समीक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद् सफल हुनै पर्ने इतिहासकै विशेष अभिभारा म सुरुवातमै सबैलाई स्मरण गराउन चाहन्छु ।

कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै कोरोनाका कारण जीवन गुमाएका विश्वभरिका सबै मानवको आत्माको चिरशान्तिको कामना गर्दछु ।

कोरोना संक्रमित भई उपचाररत नेपाल भित्रका सबै नेपाली र विभिन्न देशमा रहेका ३ हजार भन्दा बढी नेपालीको सिध्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरीत क्रियाकलापमा व्यस्त रहनु, सांसदको अपहरण हुनु जस्ता अवाञ्छित र आपराधिक गतिविधि कुनै पनि रूपले स्वीकार्य हुन सक्दैनन् ।

पर्याप्त स्वास्थ्य सामग्री अभावका बाबजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहनु भएका सबै आदरणीय स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्दछु । यसरी नै अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, संचारकर्मी एवं सफाइको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको प्रशंसा गर्दै श्रद्धा प्रकट गर्दछु ।

कोरोनाका कारण उत्पन्न अनेक जटिलता असीम धैर्य साथ सामना गरिरहनु भएका स्वदेश र विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइको धैर्यको प्रशंसा गर्दै आजको परिस्थितिलाई संयम र एकता साथ सामना गर्न यो सम्मानित संसद् मार्फत अपिल गर्दछु ।

प्रतिपक्षको खबरदारी

कोरोनाको यो संकटका बेला ‘सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ’ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली काँग्रेसले कार्य गरिरहेको छ । नेपाली काँग्रेसले पार्टीको सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न आ-आफ्नो तर्फबाट निरन्तर कार्य गर्न आव्हान गरेको छ र सबै साथीहरूले जिम्मेवारीपूर्वक कार्य गरी रहनु भएको छ । कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हरसंभव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई नीतिलाई हामी निरन्तरता दिनेछौँ ।

राहतको ब्यवस्थित प्याकेज ल्याउन माग

• लकडाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा सङ्कटमा पार्‍यो । सरकारले पर्याप्त राहत नदिँदा हजारौँ श्रमिक पैदल हिँडेर गाउँ फर्किए । न खान दिने न गाउँ जान दिने, सरकारको यस्तो व्यवहारले जनतालाई आहत तुल्यायो । कोरानाका कारणले रोजगारी गुमेका र राज्यबाट सहज रूपमा तत्काल राहत पाउनु पर्ने व्यक्तिले राहत पाउन सकेका छैनन् । सुकुम्वासीलाई जाउलो पुर्‍याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्वासी आयोग गठन गर्नुको कुनै तर्क थिएन ।

• श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायी देखि साना व्यापारी हुँदै उद्योगी व्यवसायी सम्मलाई विविध ढङ्गले राहत दिने बृहत्तर प्याकेज निर्माण, घोषणा र कार्यान्वयन यथाशीघ्र गर्न म सरकार समक्ष माग गर्दछु ।

सामग्री खरिदमा भ्रष्टाचार

कोरोनासँग जुध्न अत्यावश्यक पिपिइ, परीक्षण कीट लगायतका सामग्रीको अझै अभाव रहनु दुःखद र लज्जास्पद छ । समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मूल्य भन्दा बढी रकम राज्य कोषबाट निकासा गराएर भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य छ । दोषीहरूलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन र कडा कारबाही गर्न म माग गर्दछु ।

प्रधानमन्त्रीको नियोजित नियत गलत

• सिङ्गो देश कोरोनाबाट आतङ्कित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरीत दुइटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गर्‍यो । विपक्षी लगायत राजनीतिक दल, सञ्चार माध्यम र समस्त नागरिक सहित सबैले कोरोना विरुद्धको लडाइमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो ।

• एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रूपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो । म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कारबाही गर्न माग गर्दछु ।

• एकातर्फ कोरोनासँग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, सञ्चार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध रहन यो सम्मानित संसद् मार्फत अपिल गर्दछु ।

सरकारको नैतिक र राजनीतिक आधार गुम्यो

• विश्वव्यापी रुपमानै मानव जाति समक्ष कोरोनाको रूपमा ठुलो चुनौती देखा परेको छ । नेपालमा यति बेला एकसय बढी नागरिक संक्रमित भैसकेको स्थिति छ । सर्वत्र त्रासको अवस्था विद्यमान छ । यस्तो विषम परिस्थितिमा कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको छ । सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन । महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरूको व्यक्तिगत सुरक्षा सामग्री, परीक्षण सामग्रीको आपूर्तिका कामहरू उचित तवरले भएका छैनन् । नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परीक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून सङ्ख्यामा मात्र परीक्षण भएको छ । परीक्षण सामग्रीको विश्वसनीयतामा प्रश्न उठेका छन् । विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना छैन । कोरोनाबाट विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउने दिशामा कुनै सुरसार छैन । यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरीत क्रियाकलापमा व्यस्त रहनु, सांसदको अपहरण हुनु जस्ता अवाञ्छित र आपराधिक गतिविधि कुनै पनि रूपले स्वीकार्य हुन सक्दैनन् । यी विषयहरूलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सूक्ष्म ढङ्गले विश्लेषण गरी यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको ठहर गरेको छ ।

विदेशमा रहेका नेपालीको उद्धार

विदेशमा रहेका नेपाली पनि यति बेला कोरोनाबाट प्रताडित छन् । अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्नु सरकारको कर्तव्य हो । यस सम्बन्धी आवश्यक व्यवस्थापनको योजना निर्माण गरेर सम्मानित संसद्मा यथाशीघ्र पेस गर्न र उद्धार थाल्न म सरकार समक्ष माग गर्दछु ।

• आगामी बजेटको मुख्य प्राथमिकता कोरोना केन्द्रित हुनुपर्छ भन्ने मेरो प्रस्ट माग छ । आवश्यक सचेतना, अत्यावश्यक स्वास्थ्य सामग्री, अनिवार्य उपचार, विविध क्षेत्रमा पर्याप्त राहत एवं विदेशमा अप्ठ्यारोमा रहेकाको उद्धार र पुनर्ब्यवस्थापनमा अबको बजेट केन्द्रित हुनुपर्छ ।

आशा एवं विश्वास छ आज सुरु भएको प्रतिनिधिसभाको यो बैठकले कोरोना माथि विजय हासिल गर्न आवश्यक पर्ने सबै अत्यावश्यक कदमहरूका बारे मार्गदर्शन गर्न र राष्ट्रिय एकतालाई अभिवृद्धि गर्न गराउन सक्नेछ ।

(प्रमुख प्रतिपक्षी दलका नेता देउवाको प्रतिनिधिसभा बैठकमा २०७७ वैशाख २६ गतेको सम्बोधनको सम्पादित अंश )

देउवा संसदमा प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति हुन् ।

कस्तो लाग्यो ?

यो पनि