असोज २६, २०८१, शनिबार
               

नयाँ वर्षको कामना : सबै भाइरसहरूको समूल नष्ट

अर्जुन खड्का
चैत ३०, २०७६

ADVERTISEMENT

कोरोना भाइरसले विश्व आहत छ । हरेक क्षण दुखका समाचार आइरहेका छन् । संक्रमण र मृत्यु सामान्यझैँ बन्न थालेका छन् । संसारले दोस्रो विश्वयुद्धपछिको ठुलो समस्या झेल्नु परेको छ । यो भाइरस आधुनिक विश्वका लागि चुनौतीको पहाड बन्दै छ । विज्ञान र प्रविधिले विश्वलाई सम्पन्न, समुन्नत र मानव कल्याणका लागि निकै योगदान दियो । तर संक्रमणविरुद्ध लड्न हम्मेहम्मे पर्दै गएको छ । के गरिब, के धनी ? कसैलाई छोडेको छैन यो भाइरसले । अहिलेसम्म त शक्तिशाली र सम्पन्न मुलुकहरूलाई नै बढी पिरोलेको छ ।

यतिबेलासम्म विदेशी भूमिमा एक दर्जनभन्दा बढी नेपालीले मृत्युवरण गरिसकेका छन् । नेपालीभित्रै पनि एक दर्जन जतिलाई यो भाइरसले प्रत्यक्ष सताएको छ । यसको असर भने सर्वत्र परेको छ । मुलुकभर लकडाउन छ । पेसा व्यवसाय चौपट्ट भएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई कठीन भएको छ । लकडाउनलाई आमतवरमा समर्थन छ । कोरोना नियन्त्रणको प्रयासमा मिडियाको खुलेर समर्थन छ । सरकारलाई मिडियाको यो स्तरको समर्थन यसअघि सायदै भएको थियो ।

ओलीले केही विवादास्पद उपप्रधान र मन्त्रीलाई बागडोर दिएका मात्र छैनन्, उनीहरूको बेथिति र अनियमितताको ढाल बनेर उभिएका छन् । लाग्छ कि प्रधानमन्त्री ओली अनियमितताको 'क्लिन चिट' दिने 'अथोरिटी' हुन् ।

सरकारलाई कोरोना संक्रमण नियन्त्रणका लागि राजनीतिक क्षेत्रको पनि समर्थन अभूतपूर्व छ । प्रमुख प्रतिपक्षीको भूमिका कुशल नभएको टिप्पणी बेलाबेलामा सुनिएकै हुन् । सरकारप्रति आक्रामक भूमिका नखेलेको आरोप काँग्रेस नेतृत्वसामु लाग्दै आएको छ । तर पनि काँग्रेसले सहिष्णु भूमिका खेलेको छ । अरु राजनीतिक शक्तिहरूबाट पनि सरकारलाई साथ र समर्थन नै छ । उता प्रधानमन्त्री केपी शर्मा ओलीका सम्बोधनहरू भने तुच्छ एवं गैरजिम्मेवार हुने गरेका छन् ।

कोरोना संक्रमण महामारी हो । पुरातन भाषामा यो बाजा बजाएर आएको होइन । तर नेपालमा प्रवेश गर्दा भने बाजा बजिसकेको थियो । धेरै देशको 'बाजा' बजेकै हो । त्योभन्दा अगावै संसद‍्मा प्रमुख प्रतिपक्षले प्रस्ताव नै ल्याएर आफ्नो धर्म पूरा गरेको पनि हो । यतिबेलासम्म मानवीय क्षतिका आधारमा भयानक अवस्था छैन । तर ढुक्क भएर बस्ने अवस्था यो होइन । सरकारले समयमै तयारी नगरेकै हो । भारतीय विदेशमन्त्री एस जयशंकर आउनुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएर जुन नाटक मञ्चन गरे । विपद्को क्षणमा उनले त्यति सक्रियता पनि देखाउन आवश्यक ठानेका छैनन् ।

राजनीति गर्नेले आफू, आफन्त र परिवारभन्दा माथि हुन सक्नु पर्छ । जनताको सेवक भन्नेले त्यो सिद्ध गर्न सक्नु पर्छ । यस्तो विपद‍‍्मा त चीलले कुखुराको चल्लालाई आक्रमण गर्दा माउले छोपेजस्तो जनताका लागि ओत बन्नु पर्छ । तर यतिबेला पनि मन्त्रीहरू नै कमिसनको चक्करमा पर्नु शर्मनाक छ । औषधि खरिदका लागि प्रकियागत नाटक गरियो । पछि आठ गुणासम्म बढीमा करोडौँको औषधि किनियो । सवा अर्बजतिको खेल मिडियाकै कारण करोडौँमा सीमित भयो । त्यो प्रकरणको न त छानबिन भएको छ । न कारबाही प्रकिया नै अघि बढेको छ । ओलीले केही विवादास्पद उपप्रधान र मन्त्रीलाई बागडोर दिएका मात्र छैनन्, उनीहरूको बेथिति र अनियमितताको ढाल बनेर उभिएका छन् । लाग्छ कि प्रधानमन्त्री ओली अनियमितताको 'क्लिन चिट' दिने 'अथोरिटी' हुन् । वाइडबढीमा पनि ओलीले त्यस्तै गरेका थिए । नेकपाभित्रकै दबाबले मन्त्रीमा निरन्तरता दिन नसके पनि गोकुल बाँस्कोटा अडियो प्रकरणमा पनि ओली 'न्यायाधीश' बने ।

कोरोना भाइरस साझा शत्रु हो । नेपालमा कोरोना भाइरसकै सहारामा भुँडी भर्ने भाइरसहरू थुप्रै छन् । औषधि खरिद अनियमितताले त्यही प्रमाणित गर्छ । २०७६ सालको उत्तरार्धमा हामीले कोरोना भाइरसविरुद्धको अभियानमा साथ दियौँ । कोरोनासँगै सलबलाएका अरू भाइरसहरूविरुद्ध खबरदारी पनि गर्‍यौँ ।

सँगसँगै विपद् र अन्य विषय परिस्थितिमासमेत नेपालमा सलबलाउने भ्रष्टाचारका भाइरसहरू पनि हामीले अन्त्य गर्नु परेको छ । कामना गरौँ- २०७७ सालमा कोरोना र भ्रष्टाचारका यावत भाइरसहरूको समूल अन्त्य हुन सकोस् ।

यो सरकारसँग आशा र अपेक्षा धेरै थियो । सरकार बलियो छ । स्थीर छ । आधुनिक नेपालको इतिहासमै सर्वाधिक शक्तिशाली छ । त्यसैले अपेक्षा पनि धेरै थिए । सपना पनि धेरै नै बाँडिएका थिए । तर शासन-सत्ता सञ्चालनको कुशलता गणितीय आधारमात्र हुँदैन रहेछ । ओली सरकारले यही पुष्टि गरेको छ । चुनावपछि मतदाताले ठाने बारीमा ठुलो मुला फल्यो । अब सुबिस्ता हुने भयो । तर समयान्तरसँगै त्यो मुला फोस्रो साबित भएको छ । महामारीविरुद्ध अग्रिम मोर्चामा लडिरहेका स्वास्थ्यकर्मीलाई अझै उपकरण र सामग्री पुगेको छैन । राज्य संयन्त्र पंगु बन्दै गएको छ । सरकार नै गलत सूचना प्रवाह गरेर आमसञ्चारमाध्यमलाई दोष थोपर्दै हिँडिरहेको छ । त्यसमाथि प्रधानमन्त्रीका केही अरिगांलहरू खनिने गरेका छन् ।

हामी नयाँ वर्षमा प्रवेश गर्दै छौँ । नयाँ वर्षमा उमङ्गको छैन । रौनकहीन छ । नेपाल र समस्त विश्व यो भाइरसबाट मुक्त हुनु छ । नेपाल र नेपालीको ज्यानको सुरक्षित अवतरण अहिले नेपालीको सामूहिक प्रयास र प्रतिबद्धता हो । यसमा सरकार, निजी क्षेत्र तथा सबैको हातेमालो आवश्यक छ । सँगसँगै विपद् र अन्य विषय परिस्थितिमा समेत नेपालमा सलबलाउने भ्रष्टाचारका भाइरसहरू पनि हामीले अन्त्य गर्नु परेको छ । कामना गरौँ- २०७७ सालमा कोरोना र भ्रष्टाचारका यावत भाइरसहरूको समूल अन्त्य हुन सकोस् ।

 

खड्का nepalflash.com का सम्पादक हुन् ।

कस्तो लाग्यो ?

यो पनि