असोज ०६, २०८१, आइतबार
               

‘सीमाना’ मा फन्को मार्दा

बेगम थापा ‘निश्चल’
कात्तिक २३, २०७७

ADVERTISEMENT

कोरोनाको कहरबीच बडादसैँ २०७७ को अवसर पारेर नेपाल–भारत सीमानामा आधा दर्जनभन्दा बढी साहित्यकारको उपस्थितिमा आमकृति विमोचनभन्दा फरक शैलीमा विमोचन भएको मुक्तक संग्रह हो ‘सिमाना’ । ‘सिमाना’ मुक्तक संग्रह मध्यपश्चिममा कर्मथलो बनाएर निरन्तर साहित्य सिर्जना गर्दै आएका चर्चित साहित्यकार महानन्द ढकालद्वारा लिखित पछिल्लो नयाँ कृति हो ।

कृतिकार ढकालका यसअघि चर्चित कृतिहरू ‘खण्डित आत्मा’ (गजल संग्रह–०५८), ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरू’ (गजल संग्रह–०५०), ‘अव्यक्त प्रत्यासा’ (गजल संग्रह–०६३) र ‘घाम उदाए’ (हाइकु संग्रह–०६८) प्रकाशित भइसकेका छन् । पूर्णिमा साहित्यिक पत्रिका एवं मिसन टुडे राष्ट्रिय दैनिकको साहित्यिक सम्पादकका रुपमा विगत लामो समयदेखि क्रियाशील ढकाल पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्छ ।

करिव दुई दशकभन्दा बढी समय साहित्य साधनामा खर्चिसकेका ढकालले आफूले लेख्दै मात्र आएका छैनन्, नव सर्जकहरूलाई पनि मुक्तक, गजल तथा अन्य विविध साहित्यका विधा लेखनीमा उत्प्रेरित गर्दै आएका छन् । त्यसैले उनलाई कुशल साहित्यकारका रुपमा मात्रै नहेरी साहित्यको कुशल नेतृत्वको रुपमा पनि लिन सकिन्छ । कृतिकारको कलमका मसी मुक्तकमा मात्रै सीमित नभई नियात्रा, गीत, कथा, समीक्षाजस्ता साहित्यका विविध विधामा पनि कलात्मक तरिकाले पोखिएको पाइन्छ ।

मुक्तकलाई चार हरफको आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचनाको रुपमा लिने गरिन्छ । मुक्तकमा पहिलो हरफले विषयको उठान गर्ने, दोस्रो हरफले पहिलो हरफलाई समर्थन गरी पृष्ठभूमि तयार पार्ने र तेस्रो हरफ स्वतन्त्र हुने तर चौथो हरफलाई झट्का हान्नलाई वातावरण तयार पार्ने र चौथो हरफ वजनदार हुने गर्दछ । यिनै मुक्तकीय विशेषताले निपुण छन् कृतिकार ढकालका चोटिला मुक्तकहरू । हेरौँ न एउटा यो देशप्रेमले ओतप्रोत भएको सुन्दर मनछुने मुक्तक:

सीमा रक्षाका लागि यस्तो करार लिएर आउनुहोला जन्मभूमिप्रति थोरै भए’नि प्यार लिएर आउनुहोला हेप्नेहरूले काट्न सक्छन् र काटिन पनि सक्छन्  एउटा हातमा कलेजो अर्काेमा हतियार लिएर आउनुहोला । (सीमाना), पृष्ठ १९

लेखकले आफ्नो यस कृतिको अन्तमा आफ्नो भनाइ लेख्दै भन्नुभएको छ, ‘यी मुक्तकहरू न त लहडमा लेखिएका हुन् न त रहरमा नै । उपस्थिति जनाउनका लागि मात्र पनि लेखिएका होइनन् । सामाजिक विकृति, विसंगति एवं सीमाको पीडाले पटकपटक घोचेपछि यत्रतत्र उभिएका हुन् शब्दको साङ्लो बनेर ।’

वास्तवमा लेखकका अधिकांश यस कृतिभित्र रहेका रचनाहरू ठूला देशले साना देशलाई सदासयता देखाउनुको साटो हेपाहा प्रवृत्तिले हेर्ने र सिमाना मिच्नेहरूप्रति आक्रामक छन् । नेपोलियन बोनापार्टले ‘तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।’ भनेझैँ लेखकले यस कृतिमा जननी र जन्मभूमिप्रति अधिक प्रेम दर्शाउनुभएको छ । हेरौँ न यस कृतिभित्र रहेको अर्को यो राष्ट्रप्रेमी मुक्तकः

सिमाना माथिको मनपरी कति सहनु ? उखेलिन्छन् किल्ला घरीघरी कति सहनु ? सरकार, एक एक थान हतियार उपहार दे, सधैँ सधैँको दादागिरी कति सहनु ?  (सीमाना), पृष्ठ ५० 

साहित्यकार पुष्कर रिजाल ‘पुष्प’ले यस संग्रहको प्रकाशकीयमा लेखेझैँ, ‘महाकवि देवकोटाको मानवतावादी चिन्तनबाट प्रभावित ढकाल देखावटी लोकाचारलाई मिथ्या ठानी हार्दिकताको खोजी गर्दै आत्मीय प्रेम, सद्भाव र नैतिकताको पक्षमा उभिएका छन् । यस संग्रहभित्र संग्रहित उनका हरेक रचनाहरूमा देशको माटोको गन्ध छ ।

सबै जातजाती र भाषा तथा संस्कृतिको हार्दिकता छ र सामाजिक मेलमिलाप तथा समानता पाइन्छ । सीमानाका किल्लाहरू सारिदा पनि सरोकारवालाहरू मौन बसेकोमा उनीहरूप्रति खरो आक्रोश र गतिलै कटाक्ष उनका मुक्तकीय भावहरूमा पाइन्छ । अशक्त र असहायप्रति सधैँ चिन्तित साहित्यकारको भावना देशद्रोही र भ्रष्टचारीहरूप्रति आगो ओकलिएको छ ।

पाब्लो कासाल्सले ‘देशलाई माया गर्नु एउटा आदरणीय काम हो । तर, ‘हामी सीमानामा पुगेपछि किन देशलाई माया गर्न छाड्छौँ’ भनेका छन् यसको विपरित साहित्यकार ढकालले देशको सीमानाको पक्षमा लेखिएको संग्रह सीमानामा गएर विमोचन गर्न तम्सिनुले उनि भित्र कति देशप्रेमको भाव छ भन्ने कुरा सहज नजरअन्दाज गर्न सकिन्छ । हेरौँ न उनको देशप्रेमी भावना उहनकै मुक्तकमाः

देश दुख्दा हाँस्नेहरू मेरा आफ्ना हुँदै होइनन् पीडा हेरी नाँच्नेहरू मेरा आफ्ना हुँदै होइनन् ‘आऊ देश बचाऊ’ भन्छ मेचीकाली विपत्तिमा आफू मात्र बाँच्नेहरू मेरा आफ्ना हुँदै होइनन् ।सीमाना, पृष्ठ ४०

विश्वका लगभग सबै देशहरू कोही न कोही देशबाट गुलाम भइरहँदा हाम्रो देश कहिल्यै गुलाम नहुनुमा हाम्रा वीर पूर्खाहरूको ठूलै योगदान रहेको कुरा हामीमाझ जगजाहेर नै छ । भीमसेन थापा, भक्ति थापा र पृथ्वीनारायण शाहजस्ता कुशल शासक र सिमानाका पहेरेदार वीर योद्धाहरू नहुँदा हुन् त आज हाम्रो देशको अस्तित्व के रहन्थ्यो होला ? हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ ।

स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले सायद देशप्रेमले ओतप्रोत भएको यो गीतको रचना त्यसै गरेनन् होला, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे... नेपालै नरहे...।’ यही भावहरू पनि साहित्यकार ढकालका रचनाहरूमा जताततै छचल्किएर सुन्दर मुक्तकका आकार लिएका छन् जस्तो लाग्छ मलाई । हेराैँ न त अर्को देशको माया बोकेको यो शक्तिशाली मुक्तकः

‘दिल’ प्यारो लाग्छ, ‘दिवाना’ प्यारो लाग्छ मलाई मेरो देशको सिमाना प्यारो लाग्छ सक्दो रम्नु छ, केही गर्नु छ बाँचुन्जेल छोडेर जानु छ र त निशाना प्यारो लाग्छ ।  (सीमाना), पृष्ठ २७
साहित्यकारले यस संग्रहमा कतै–कतै आफ्नै जीवनका तितामिठा अनुभूतिहरू पनि बिसाएको पाइन्छ । जिन्दगी सधैँ सगरमाथाको जस्तै उचाई पनि त होइन जहाँ पुग्न गाह्रो हुन्छ तर पुगेपछि झर्न मन लाग्दैन र जिन्दगी सधैँ सागरको गहिराई पनि त होइन जहाँ छिर्न गाह्रो हुन्छ तर छिर्नसके हिरा र मोती भेटिन्छन् ।

तैपनि, यो लोभी र स्वार्थी दुनियाँका कारण कहिलेकाहीँ जिन्दगीमा सूर्यको ताप र वर्षाको झरीले एकैचोटी बज्रपात पार्ने कुरालाई साहित्यकारले आफ्नो चोटिलो मुक्तकमा जोकोहीलाई मोहित पार्ने गरी यसरी दर्शाएको पाइन्छः

कहिले घाम कहिले पानी मेरो जिन्दगानी थोरै जित धेरै हानी मेरो जिन्दगानी आज–भोलि छानीछानी परिक्षण गरिँदैछ प्रयोगशाला मानीमानी मेरो जिन्दगानी । (सीमाना), पृष्ठ ८७ 

लाखौँ पर्यटकहरू भित्र्याएर आयआर्जन गरी देशलाई समृद्ध बनाउन र कलकारखाना तथा उद्योगधन्दा खोली लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन हाम्रो देशमा के छैन होला र ? विश्वकै दोस्रो जलस्रोत छ, भगवान गौतम बुद्ध र माता जानकीको जन्मभूमि छ, हरिया वनजंगल र विश्वकै छानो सगरमाथा छ, हिन्दूहरूको प्रसिद्ध मन्दिर भगवान् पशुपतिनाथको शिर भएको मन्दिर छ, सानो भूगोलमा पनि हिमाल, पहाड र तराई एकै ठाउँमा छ ।

तैपनि देशमा असल शासन र कुशल नेतृत्व नभएकै कारण लाखौँ युवा आफ्नो घरपरिवार छाडी रोजीरोटीका लागि अरबको खाडीमा जान बाध्य छन् । देश वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले पालिन बाध्य छ भन्ने भाव आफ्नो गहिकिलो मुक्तकमा साहित्यकारले यसरी पोखेका छन्ः

युवाहरू सधैँ हतार हतार देखिन्छन् हिँजो जस्तै आज लगातार देखिन्छन् । देश कसरी बन्छ केटाकेटी र बूढाबूढीले ? गर्न सक्नेहरू दुबई कतार देखिन्छन् ।   (सीमाना), पृष्ठ ८२

यो संसार बिचित्रको छ । विचित्र संसारभित्रका हामी मानव पनि बिचित्रकै छौँ । भनिन्छ देव र दानव मिलेर मानव बनेको हुन्छ । अर्थात्, मानवमा राम्रो र नराम्रो दुवै पक्ष विद्यमान हुन्छन् ।

जुन व्यक्तिमा देवत्व पक्ष बढी हुन्छ ती असल मान्छेमा गनिन्छन् र जुन व्यक्तिमा दानवत्व पक्ष बढी हुन्छ उनीहरू खराब व्यक्तिमा कहलिन्छन् । यही कुरालाई आफ्नो मिठो मुक्तकीय भावमा यसरी दर्शाउँछन् साहित्यकार ढकालः

कहिले छायाँमा देखेँ कहिले धुपमा देखेँ मान्छेहरूलाई अनेकानेक स्वरुपमा देखेँ कोही भगवान बनेको अभिनय गर्दै थिए कसै कसैलाई सैतानको रूपमा देखेँ । (सीमाना), पृष्ठ ३७ 

नेपालको इतिहास हेर्ने हो भने, स्वामी विवेकानन्दले ‘सिंगो देशले दुःख पाउनुभन्दा एउटा व्यक्तिको कष्ट उठाउनु राम्रो हो,’ भनेका छन् । युगपुरुषहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द ठकुरी, शुक्रराज शास्त्री आदिले आफ्नो स्वार्थका लागि देशको पक्षमा आवाज नउठाउने सर्तमा कहीकतै सम्झौता गरिदिएको भए सायद देशले अझैँ पाउनु दुःख पाउँथ्यो होला ।

तर, उनीहरूले देशका त्यतिबेलाका शासक भनाउँदा खलनायकहरूसँग चुप लागेनन् बरु उनीहरूका विरुद्ध आगो ओकले र देशको खुसीको लागि आफू मर्न पनि तयार भए । यस्तै साहित्यकार ढकालले पनि देशलाई अस्तव्यस्त पार्ने जोकोही शासकहरूका विरुद्धमा चुप लागेर नबसेको कुरा आफ्ना चोटिला मुक्तकीय बान्कीहरूका माध्यमबाट व्यक्त गरेका छन्ः

सागर जस्तै शान्त रहन पनि सकिएन हावा जस्तै चुपचाप वहन पनि सकिएन स्वाभिमानमा जब खेलवाड मात्रै गरियो सधैँ सधैँ बुद्ध बनी सहन पनि सकिएन । (सीमाना), पृष्ठ ७० 

ढकालका अधिकांश मुक्तकहरूमा नारीवेदना, वैदेशिक पीडा, जातीय विभेदका विरुद्धमा छटपटी र सिमाना अतिक्रमणका विरुद्धमा आक्रोश र समताका पक्षमा वकालत भएता पनि केही मुक्तकहरू विभिन्न रसहरूमध्येको एक सुन्दर रस शृंगारिक रसबाट अछुतो भने हुन सकेका छैनन् ।

यो संसार नै मायामा अडेको छ पनि भन्छन् भन्नेहरूले । प्रसिद्ध साहित्यकार शेक्सपियरको चर्चित कृति ‘रोमियो जुलियट’ हेरौँ या महाकवि लक्ष्मीप्रसाद देवकोटाको मनछुने कृति ‘मुनामदन’ कोही पनि प्रेमको कथा र शृंगारिकताबाट विमुख हुन सकेका छैनन् । हेरौं न त यो शृंगारिकताले सजिएको सुन्दर मुक्तकः

नागबेली चाल हेरेर जिन्दगी चल्दो रहेनछ बुलबुल कपाल हेरेर जिन्दगी चल्दो रहेनछ न कहिल्यै हेरेर पुग्यो, न अघायो पेट पनि कसैको जिउडाल हेरेर जिन्दगी चल्दो रहेनछ (सीमाना), पृष्ठ ७

द्वापर युगमा रामले लंकाका राजा रावणमाथि विजय प्राप्त गरेपछि, सुनै–सुनको दरबार लंकाबाट मोहित लक्ष्मणले रामलाई लंकामै राज गरौँ भन्ने सुझाएका थिए रे ! जवाफमा रामले भाइ लक्ष्मणलाई सम्झाउँदै, ‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरियसी ।’

अर्थात्, आफूलाई जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ, भन्नुभएको थियो रे ! सायद यसै कारणले नै होला युगकवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्यारो ओखलढुंगा’ भन्ने कवितामा आफू जन्मेको भूमिको बारेमा चर्चा गर्नुभएको छ । साहित्यकार ढकालले पनि ‘सिमाना’ मुक्तक संग्रहमा आफू जन्मेको प्राणभन्दा प्यारो जन्मभूमिलाई यसरी कैद गरेका छन्ः

मैले बचपन सम्झेको छु टारी सम्झेको छु
लुकामारी खेल्ने गरेको गैराबारी सम्झेको छु
मलाई जन्मायो हुर्कायो बडो मुस्किलले
स्याङ्जा, पञ्चमूल, तमाखुबारी सम्झेको छु ।
  (सीमाना), पृष्ठ ५१ 

आज विश्वका मानवजाती नै धर्मका नाममा, रङका नाममा र राजनीतिका नाममा विभाजित भएको पाइन्छ । ‘धर्मका कट्टरपन्थी हुँ’ भन्नेहरूले नै हतियारको बलमा पटक–पटक ज्ञानको ज्योति छर्ने विद्यालयमा नै बम–गोलाबारी गरेको समाचार सुन्नमा पाइन्छन् । ‘मन्दिरको पुजारी हुँ’ भन्नेले नै जात हेरेर मन्दिरमा मान्छेहरू प्रवेश गराएका हुन्छन् ।

रङकै आधारमा रोजगार दिने र काला जातीलाई दास बनाउने उदण्ड पनि मानव जातीबाट नै नभएका होइनन् । सायद त्यसैले गर्दा पनि होला, ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन,’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकाटाको हरफ आज पनि नेपाली जन–जनको जिब्रोमा नै झुण्डिएको छ । यही भाव ‘सीमाना’ मा पनि साहित्यकार ढकालले मिठो तरिकाले अभिव्यक्त गरेका छन्ः

गीता, बाइबल र कुरान उस्तै उस्तै लाग्छ यशु, अल्लाह, भगवान उस्तै उस्तै लाग्छ रङ्ग, जात, धर्मलाई कसले बाँड्यो खै कुन्नि मलाई त हरेक ‘इन्सान’ उस्तै उस्तै लाग्छ । सीमाना, पृष्ठ ३३ समग्रमा भन्नुपर्दा, ‘सिमाना’ देशप्रेम भावनाले ओतप्रोत भएको सबैले पढ्नैपर्ने एउटा सुन्दर मुक्तक संग्रह हो ।  (सीमाना, पृष्ठ ३३)  

यसले लाखौँ युवाहरूलाई सिमाना नाघी विदेश जान बाध्य पारिनुभन्दा स्वदेशमै रोजगार हुने वातावरण राज्यले सिर्जना गरिदिनुपर्दछ । दिनानुदिन अतिक्रमण भइरहेको नेपाली भूमिप्रति राज्य सधैँ चिन्तित हुनुपर्दछ र जातीय विभेद र अन्य कुनै पनि विभेद गर्नेलाई राज्यले कानुनी दायरामा ल्याउनैपर्दछ भन्ने गम्भीर सन्देश बोकेको पाइन्छ ।

८७ वटा मनछुने सुन्दर मुक्तकले सजिएर ‘सिमाना’ संग्रहको रचना भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको यस संग्रहमा देवेन्द्र थुम्केलीको आवरण तथा प्रत्येक मुक्तकमा सुन्दर रेखाचित्रहरू साहित्यकार तथा कलाकार विक्रम शिशिर र आयुष्मा ढकालले कोरिदिएका छन् । कथाकार सुमित्रा न्यौपानेले सम्पादन गरेकी छन् । पछिल्लो कृति यस ‘सीमाना’ मुक्तक संग्रहले पनि नेपाली भाषा र नेपाली साहित्याकाशमा नयाँ आयाम थपोस् र केही थप योगदान देओस् अन्तर्मनदेखि नै हार्दिक बधाई तथा शुभकामना । 

अन्तमा, यस संग्रहभित्र रहेको मन र मस्तिष्क छुने उहाँकै यो सुन्दर मुक्तकः

आफूलाई पत्थर मानिन र त पछि परेँ 
कसैलाई दुस्मन ठानिन र त पछि परेँ
पर्दा पछाडि भयङ्कर युद्ध चल्दो रहेछ 
षडयन्त्रहरू बुन्न जानिन र त पछि परेँ ।
(सीमाना, पृष्ठ ४)

निश्चल नेपाली भाषा तथा साहित्यमा रूचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि