जेठ ०६, २०८१, आइतबार
               

एक असफल प्रेमीको खुला प्रेमपत्र

ADVERTISEMENT

यति चोखो, यति मिठो
दिउला तिमीलाई माया ।
बिर्सनेछन् साराले
पुराना प्रेमका कथा ।।

प्रिय, न्यानो मायासँगै प्रणय दिवसको शुभकामना । आज ‘भ्यालेन्टाइन डे’, तिमीलाई सम्झने दिन । हुन त माया गर्न कुनै विशेष दिन चाहिँदैन । तर पनि संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिन मानिन्छ आज । आफूले माया गरेको, मन पराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिनको रूपमा प्रणय दिवसलाई लिइन्छ । 

ती प्रत्येक हाँसो र रुवाइहरू हाम्रो मायाको डोरीलाई कस्न प्रोत्साहन गरेको थियो । तर हाम्रो मायाको अक्षर केवल प्यासेन्जरको ट्यागमा मात्र सीमित भयो ।

अँ साच्चि अहिलेको जमानामा सामाजिक सञ्जालबाट पनि 'विस' गर्ने प्रचलन बसिरहेको छ । सबैले आफूले मन पराएकाहरूलाई फेसबुक, इन्स्टाबाटै शुभकामना आदानप्रदान गरिसकेका होलान् । यस्तै सोच्दै मलाई पनि तिम्रो फेसबुक हेर्न मन लाग्यो । फेसबुकमा तिमीलाई सर्च गरेँ । देखे प्लास्टिकका गुलाब जोडेर बनाएको कृत्रिम पुष्पगुच्छाले तिम्रो फेसबुकको भित्ता कसैले पहिलेनै रङ्गाइसकेको रहेछ । यदि त्यो म्यासेज हेरेकी भए, प्लास्टिकको फूल आकर्षक देखियो होला तर सुगन्ध पक्कै पाएनौ तिमीले ।  

प्रेम आफैँमा एउटा रङ्गिन अनुभूति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गित बनाउने नै भयो । झन् म त तिमीसँग प्रेममा परिसकेको मान्छे । आज प्रणय दिवसको दिन तिमीलाई सम्झदानै मनमा यस्तै नयाँ तरङ्ग, उत्साह सृजना भएको छ । यो तरङ्गले मनबीचको पर्खाल भत्काएको छ, सीमारेखाहरू मेटाएको र दुई मुटुलाई एक गराएको छ कल्पनामै भए पनि । 

विगतको हाम्रो प्रेम भुलिसक्यौ होला तिमीले । मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू थिए । कतिपय क्षणहरू तथा घटनाहरू हँसाएका थिए । सायद रुवाएका पनि थिए । ती प्रत्येक हाँसो र रुवाइहरू हाम्रो मायाको डोरीलाई कस्न प्रोत्साहन गरेको थियो । तर हाम्रो मायाको अक्षर केवल प्यासेन्जरको ट्यागमा मात्र सीमित भयो ।

साँच्चै हामी कति नजिक थियौँ कुनै समय । भ्यालेन्टाइनमा हामी रातभरि नसुतिकन नै च्याटमा माया-प्रेम साटासाट गरिरहेका थियौँ । त्यो पल साँच्चै रमाइलो थियो । फेसबुकको पासवर्ड साटासाट गर्नेदेखि फेसबुक अकाउन्ट आफ्नो कब्जामा लिँदै मायाको परीक्षा लिन्थ्यौँ तिमी । कुनै विश्वविद्यालय वा लोकसेवाको ‘एक्जाम’भन्दा कठीन थियो तिम्रो प्रेमको एक्जाम । जहाँ अलिकति मात्रै तल माथि भयो भने सम्बन्ध चैट हुने । बरु युनिभरसिटीको कतिपय एक्जाममा सप्लिमेन्ट्री दिन पाइन्छ । तर यो प्रेमको परीक्षामा भने लिन नपाउने गरी फेल गराइदिने । 

उनी अर्थात् अनुपमा मेरी फेसबुक फ्रेण्ड मात्रै थिइन् । त्यो भन्दामाथि अरू कोही पनि थिइन् । तर पछिल्लो समय उनीसँग म नजिकिन थालेको थिएँ । उनीसँग धैरै कुराहरू शेयर हुन्थ्यो । फोन होस् या फेसबुक प्यासेन्जरमा उनी मसँगै मात्रै बोलिरहोस् भन्ने लाग्थ्यो । मलाई ऊ मदनसँग बोलेको फिटिक्कै मन पर्दैनथ्यो । ऊ मसँगै मात्र बोलोस्, मसँग मात्र मीठामीठा कुरा गरोस् भन्ने म चाहन्थे । म उनलाई भन्थे, ‘तिमी अरूसँग नबोल, मसँगमात्र बोलिरहु, मिठाई जस्ता कुराहरू गर । उ भन्थी, ‘धत् लाटा कुरा पनि मिठाई जस्तो हुन्छ र ? ‘हाहा’ म हाँसेर टारिदिन्थे । कस्तो बकवास कुरा गरेछु भन्ने लाग्थ्यो ।

अनुपमा भन्थिन् – ‘मदनले मलाई ईग्नोर गरेको गर्‍यौ छ, न फोन उठाउँछ न प्यासेन्जरको म्यासेज नै सीन गर्छ ?’ मलाई फेरि रिसको पारो तात्यो । किनत धेरै उसको वास्ता गरेको ? उ मलाई चिढ्याउँदै फेरि भन्छे –‘कस्तो तनाव भएको छ यार ।’

उसले अरू केटाको कुरा गरेर मलाई जानीजानी चिढ्याउँदै थिई या के गर्न खोजेकी हो? मैले बुझ्नै सकेको थिइन् । म रिसमै थिए ।  मेरो रिस केका लागि? आफैँ अनविज्ञ थिएँ । मदनकै कुरा गरेको सुन्दा लाग्थ्यो ‘कतै अनुपमालाई  मदनले मुना बनाएर त टाप कस्दैन ?’ तर कहिले यस्ता कुरा सोचे पनि उनको ध्यान म तिर मोड्न चाहन्थे । ‘बजारमा हल्ला छ मदनले मुना लिएर टाप कसिसक्यो रे’ तिमी चाहिँ मदन मदन भन्दै बस’, उसको निराशालाई झनै खिन्न मन पारिदिने प्रयास स्वरूप ठट्यौली गरे ।

‘थ्याङस् गड’ लगत्तै भगवानलाई धन्यवाद दिँदै उसले भनी ।  ‘बल्ल ऊ अनलाइन  आयो, म खुसी भएँ ’ उसले खुसीले भरिएको मेसेज पठाउँदा म भने दुखी भएँ ।

‘तिमीलाई केही कुरो थाहा छैन, त्यही भएर त्यस्तो नबोल’, उनले अलि रिसाएको शैलीमा रिप्लाई गरी । ‘यस्तो कुरो थाहा पाइराख्नु पर्दैन, आफैँ बुझ्नुपर्ने हुन्छ’, मैले शङ्का भरिएको सन्देश पठाए ।

‘थ्याङस् गड’ लगत्तै भगवानलाई धन्यवाद दिँदै उसले भनी ।  ‘बल्ल ऊ अनलाइन  आयो, म खुसी भएँ ’ उसले खुसीले भरिएको मेसेज पठाउँदा म भने दुखी भएँ । ऊ खुसी हुँदा म दुखी हुनुपर्ने, सायद यो प्रेमको नियम विपरीत थियो । धेरैले भनेको सुनेको थिएँ तिम्रो खुसी नै मेरो खुसी हो । तर मेरो हकमा भने ठीक यसको विपरीत थियो । प्रेमी भइनसकेको भएर यस्तो भएको हो कि ? आफैँलाई प्रश्न गर्थे । ‘ल बाई म अफलाइन भए, तिमी मदनसँग कुरा गरेर बस,’ ऊ मदनसँग बोलोस्भन्दा पनि म उसको सम्बन्धको बारेमा जान्न खोज्दै चिढिए । अझ उसलाई चिढ्याउन खोज्दै भनेँ । 

‘मदनलाई को भन्ठानेका तिमीले ? उसले एङ्ग्री इमोजी पठाउँदै भनी । सायद उ रिसाई । म मौन नै थिए । उ मेरो मामाको छोरा दाइ । फेरि रिसाएको शैलीमा रिप्लाई गरी । उसले यत्ति भन्दा म बुरुक्क बुरुक्क नाच्दै थिएँ । म खुसी हुनुको कारण के  थियो म आफैलाई थाहा थिएन । सायद म मायामा परिसकेको थिएँ कि ? के यो परीक्षामा ऊ पास भई त ? प्रश्न गर्दै आफैँ हाँस्थे ।

‘मैले’नि मामाकै छोरा भन्ठानेको’, हाँसेको इमोजीसँगै पठाएँ । ‘खुब स्याल दिमाग लाउँछौ है !’ उसले मेरो बठ्याइको व्यङ्ग्य गर्दै भनी । ‘मलाई पहिलेनै थाहा थियो तर पनि तिमीले के भन्छौ भनेर जिस्काएको मात्र’ पत्याए पनि सही नपत्याए नि सही भन्दै अझै झुट छोप्ने प्रयत्न गरे । म भन्दा तीन गुणा बाठी उसले भनी नखरा पार्दै भनी ‘म तिमीसँग बोलेर सक्दिनँ पागल ।’ 

उसले मेरो कुराले नभई मायाले पागल भनेकी हो भन्ने बुझिसकेको थिए । यसैले त्यो पत्ता लगाउन जरुरी ठानिनँ । म हाँस्दै उसलाई आँसु झारेको दुई तीन वटा इमोजी राखेर रिप्लाई गरे । ‘म तिमी थुतुनो चलाउनेलाई चाँहि के भन्नु, म दिमाग चलाउने पागल भए ?’ जिस्किने क्रमलाई अझै निरन्तरता दिँदै मैले थपे । उ पनि कम्तीकी थिइन, लगतै जवाफ आयो ‘मुख चलाउनेहरू बाठो,  दिमाग चलाउने तिमी जस्तै पागल हीहीही... । म उसकै कुरामा सही थाप्न बाध्य बने । 

बिस्तारै हामी जिस्कने क्रम बढ्दै गयो । एकैछिन अनलाइन नदेख्दा फोन गरिहाल्थी । सेकेन्ड सेकेन्डमा ताजा खबर सुनाउनुपर्थ्यो । उनको त्यो बानी मलाई पनि परिसकेको थियो । दुवैले पलपलको घटना अपडेट गराईरहनु पर्थ्यो । म न्युज डेस्कमा काम गर्ने पत्रकार थिए । समाजमा भएका ताजा घटना अपडेट गराइरहनुपर्ने कर्तव्य थियो । तर म उनीसँग कुरा गर्न थालेपछि भने अधिकांश समय आफ्नै खबर उनलाई अपडेट गराउनमै व्यस्त बन्न थाले । खाना खाएको, खनाएको, खाजा पानी यस्तै यस्तै साधारण कुरा पनि शेयर हुन्थ्यो । टाउको दुखेको, खोकी लागेको, भोकै सुतेको यावत कुराहरू शेयर गर्ने गर्थ्यौ । 

हरेक दिन फेसबुकमा बोल्नेहरूसँग पनि कति गाढा सम्बन्ध बसेको जस्तो लाग्थ्यो । हरेक कुरा सुनाउने बानीले ऊ प्रेमिका नै जस्तो लाग्थी । यो बानी कति नराम्रो ? आफ्नो बानी हो कि सोच नराम्रो थियो, मैले केही ठम्याउनै सकेको थिइन । उसलाई कहिल्यै पराई जस्तो लागेन । आफ्नै सम्झेर बोलिरहे म निरन्तर । 

अचानक उनी लगातार २ दिन अफलाइन भइन् । कतै अनलाइन देखिन्छिन् कि भनेर बेलाबेलामा फेसबुकको प्यासेन्जर चेक गरे । वन आवर अगो २, ३ आवर अगो देखाउँदै गयो फेसबुकले पनि । हुँदा हुँदा टु डे अगो देखाएपछि म बेचैन भए । हरेक पलपल अपडेट हुने मान्छे किन यति दिनसम्म गायब ?’ म चिन्तित बने । म अनलाइनमै थिएँ । उसको अफलाइन लम्बिँदै गयो तर मैले म्यासेज लेख्दै लेख्दै गए । मलाई अनलाइन देखेर अरूले मीठा मीठा र लामा म्यासेजहरूको चाङ थपिँदै गएका थिए । तर मलाई कसैको लामो म्यासेजमा ध्यान गएन । उसले मलाई जसरी इग्नोर गरिरहेकी थिई । मैले पनि त्यसैगरि अरूलाई इग्नोर गरिरहेको थिएँ । फेसबुक खोलेर मोबाइलको स्क्रिनमा फोटो जुम गर्ने गर्थेँ । अनि एक चुप्पा खाँदै ‘उसलाई शुभरात्री भन्दै’ निदाउने प्रयत्न गर्थेँ । मलाई त्यतिबेला मात्र थाहा भयो कि उसँग प्रेममा रहेछु । मेरो हातमा घडी छैन तर हरेक पल उ मेरो समय बनेकी थिई । अनलाइनमा नआए पनि बिहानीको किरणदेखि मध्यरातको निद्रामा पनि सपना सजाउन आएकै थिई ।

भित्रभित्रै मैले बनाएको, उसँग बनाएको भविष्यको महल क्षणभरमै त्यही तीन लाइन म्यासेजले पुर्याे । म नाजवाफ भएँ ।

तेस्रो दिन उ अनलाइन आई । अफलाइन मेसेजको कुनै जवाफ नदिई उसले म्यासेज गरी ‘ आफूलाई क्या टेन्सन भा’को छ ।’ मैले पनि तनावमा भएको मान्छेलाई किन कति गायब भएको ? भनेर थप सोध्ने चेष्टा गरिन । ‘हाई !’ भन्दै उसको टेन्सनप्रतिको  जिज्ञासा राखे ? 

‘मेरो बिहे गर्दिने रे ? आज केटा हेर्न आउँछ । अस्ति बिहेको कुरा चलेदेखि मैले केही सोच्नै सकेको छैन ।’ खरर लाइन बाई लाइन म्यासेज आयो । 

भित्रभित्रै मैले बनाएको, उसँग बनाएको भविष्यको महल क्षणभरमै त्यही तीन लाइन म्यासेजले पुर्याे । म नाजवाफ भएँ । मौन बसे । मोबाइलको स्क्रिन आफैँ सर्दै गयो । उसका म्यासेज देखिँदै गए । ‘हेर्न आउन लागेको केटो मलाई मनै पर्दैन । विदेशमा बस्छ रे ! म भन्दा कत्ति बुढो  छ । कस्तो पागल जस्तो छ र घरमा हेर्न नआउँदै फेसबुकबाटै जेपिटी म्यासेज पठाउँछ । कस्तो पागल जस्तो छ ।’

‘मभन्दा पनि पागल हो ?’ यसरी लाइनका लाइन उसका मेसेज आएपछि मैले सोधेँ । मभित्र रिस कि डाह भरिएको थियो केही पत्तो पाइनँ । त्यसैले म हल्का जिस्केको र रिसको भावमा पठाए । उसको सरल जवाफ आयो । ‘हजुर त कति राम्रो नि । के पागल हुनू ?’

‘त्यो मन पर्दैन भने मै आउँछु नि त तिमीलाई माग्नलाई ?’ उ पीडामा थिई तै पनि मौकामा छेड हानेँ मैले ।

‘मलाई पाल्न सक्नुहुन्छ ?’ उ उत्ताउलो बनेर पोखिई । ‘तिमीले चाहिँ मलाई पाल्नुपर्छ ’ मैले भने । ‘हुन्छ घर जवाईँ बस्न आउनुस् म पालौँला’ उसले थप एक कदम अघि बढ्दै मलाई ट्रयापमा पारी । 

‘नारीहरू सक्षम भैसके, बुढालाई नै पाल्ने आँट गर्छन् अचेका युवतीहरू मेरै घरमा आएर पाल न,’ मैले उभित्रको नारी शक्तिलाई ब्युँताउन खोज्दै भने । एकछिन उ मौन बसी ।

मैले ‘कता गायब फेरि ।’ करिब पाँच मिनेटपछि फेरि उसको रिप्लाई आयो । ‘केटा पक्ष आइपुग्नै लाग्यो अरे, म तयार हुने बेला भयो । मलाई त्यो मनै पर्दैन । ऊसँग खुसी पनि हुन्नँ होला, के गरूँ ?’

उसको यस्तो मासुम प्रश्नले म निःशब्द भए । उसले मेरो आडभरोसा खोजेर हो वा के सोचेर हो सहायता मागिरहेकी थिई । कुनै सल्लाह दिने हिम्मत आएन । ‘म छु नि लाटी, म खुसी पार्छु’ मैले भन्नै लागेको थिए तर भन्न सकिन । उसको म्यासेज आयो, ‘बाई ल पछि, अहिले म गए, पछि कुरा गर्छु । त्यसपछि उसको 'पछि' कहिल्यै आएन । मलाई आजसम्म म्यासेजको जवाफ आएन । न त उ कहिल्यै अनलाइनमा नै आई ।
 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि