बैशाख १५, २०८१, शनिबार
               

महानगर (कथा)

नयनराज पाण्डे
फागुन ०२, २०७६

ADVERTISEMENT

ऊ हाँस्दै मनेर आएर उभियो । “नमस्कार दाइ” भन्यो । मैले नमस्कार फर्काएँ । हालचाल सोध्यो । “सन्चै छु” भने“ । चुरोट झिकेर दियो र आफूले पनि लियो । सल्केको सलाईको काँटी पहिले मतिर बढायो र त्यसपछि मात्र आफ्नो चुरोट सल्कायो । मेरो कुममा कुनै सानो किरा बसेको रहेछ । उसले हटाइदियो । एउटा माग्ने हात फैलाउँदै हामीनेर आयो । उसले केही चानचुन हामी दुईका तर्फबाट भनेर दियो माग्नेलाई ।

“सिनेमा हेर्न आउनुभएको ?” सोध्यो । 

मलाई उसको प्रश्न मन परेन । सिनेमा हलमा मान्छे फुटबल खेल्न त आउँदैन नि ! 

“हो, सिनेमा हेर्न आएको ।”, अलिक रूखो पाराले जवाफ दिएँ । 

“टिकट पाउनुभयो ?” फेरि सोध्यो ।

“अहँ, पाइनँ । ब्ल्याकमा त सारै महँगो रैछ ।” 

मैले यसै भनेँ । मैले सिनेमा हेर्ने आसा पूर्णतः मारिसकेको थिएँ । अब आजको दिन कसरी बिताउने होला भनेर मन एकदमै विरक्त भएको थियो ।

‘एक छिन है दाइ ।’

यति भनेर ऊ हूलभित्र पस्यो । टिकटका निम्ति लाइनमा ठेलाठेल गरिरहेका मानिसहरूलाई ठेल्दै धकेल्दै टिकट काउन्टरसम्म पुग्यो । पछाडि मानिसहरू कराउँदै थिए । उसलाई सराप्दै थिए । तर, उसले पटक्कै वास्ता गरेन र काउन्टरको प्वालभित्र हात छिराएर मेरोलागि एउटा टिकट लिइछाड्यो । 

अब भनेँ म उसको सहयोगबाट प्रभावित भएँ । अघिसम्म जुन मान्छे दिक्कलाग्दो लागिरहेको थियो, त्यही मान्छे अब मिलनसार पनि लाग्यो मलाई । उसका अघिका प्रश्नहरूप्रति अब मलाई कुनै गुनासो बाँकी रहेन । अब स्थिति केही सहज लाग्न थालेको थियो मलाई । नत्र त अघिसम्म म उसको उपस्थितिलाई एकदम असहज ठान्दै थिएँ । तर एउटा कुरा अझै असहज थियो— मैले उसलाई चिन्न सकिरहेको थिइनँ ।

कतै उसलाई भ्रम भएको त छैन ? 

कहिलेकाहीँ यस्तो हुन्छ । नचिनेको मान्छे पनि चिनेचिने जस्तो लाग्छ । अपरिचित मान्छे पनि परिचित हो कि जस्तो लाग्छ । तर यति बेरसम्म भ्रम पर्नु र लगातार परिरहनु अलिक अमिल्दो कुरा हो । मैले धेरै सम्झन खोजेँ, को होला त्यो ? तर, ऊसित मैले कतै कुनै कोणबाट पनि आफ्नो सम्बन्धसूत्र फेला पार्न सकिनँ ।

तर बीचबीचमा भने छड्के आँखाले मैले उसलाई हेरिरहेको थिएँ । म ऊ को हो भनेर अझै ठम्याउन खोज्दै थिएँ । ऊ चाहिँ मग्न भएर सिनेमा हेर्दै थियो ।

ऊ बडो स्वाभाविकताका साथ कुरा गर्दै थियो । कुनै सङ्कोचबिना । कुनै कृत्रिमताबिना । मैले उसलाई चिन्न सकिरहेको छैन भन्ने कुराको आभाससम्म पनि उसको अनुहारमा थिएन । छँदै थिएन । 

मभन्दा कलिलै थियो । त्यसैले मलाई दाइ भनेर सम्बोधन गर्दै थियो । सम्बोधन अनुसारको आदर पनि प्रकट गर्दै थियो । अब मैले पनि उसको कुराकानीमा आफूलाई क्रमशः सहभागी गराउँदै थिएँ । म पनि ऊसित समान रूपले परिचित छु भन्ने खालले कुरा गर्दै थिएँ । यसरी म उसलाई भ्रममा पारिरहेको थिएँ । तर पनि म ऊसित पूर्णतः खुल्न सकिरहेको थिइनँ । चिनेको भए उसको घरपरिवारबारे सोध्दो हुँ । उसका दाजुभाइ, दिदीबहिनीका बारेमा कुरा गर्दो हुँ । म त्यस्ता कुनै पनि कुराहरू गर्न सकिरहेको थिइनँ, जो पूर्णतः एकअर्कासित परिचित भएकाहरुले गर्नुपर्छ वा गर्न सक्छन् । एक किसिमको अस्वाभाविक स्थितिले मलाई अजि∙रले झैँ कसेर बेरेको थियो यतिखेर ।

सिनेमा हलको गेट खुलेपछि मानिसहरू सलहको बथानझैँ भित्र पस्न थाले । भीड कम भएपछि हामी पनि भित्र पस्यौँ । अँध्याराले ह्वात्त छोप्यो । अँध्यारामा हामी छुट्टिएछौँ क्या र । ऊ कतातिर पुग्यो थाहा भएन । मलाई जटिल स्थितिबाट उम्के जस्तो लाग्यो । ढुक्क भएँ म ।  

तर, म सिटमा बसेको मात्र थिएँ, ऊ फेरि मनेर आइपुग्यो । अन्ततः स्थिति यथावत् भइदियो । जस्ताको तस्तै । म निराश भएँ । तर, निराशालाई अभिव्यक्ति दिएर हलुङ्गो हुन सकिनँ । 

हामी सँगसँगै बस्यौँ । सिनेमा सुरु हुन अझै केही समय बाँकी थियो । मैले उसलाई यसअघि कहाँ, कहिले र कुन स्थितिमा भेटेको थिएँ भन्ने कुरा दिमागमा बलै लगाएर सम्झन खोज्दै थिएँ । तर, मेरो स्मृतिको कुनै पनि कुनामा यस्तो खालको र यस्तो अनुहारको मान्छेको कुनै चित्र स्थापित थिएन ।

“दाइ, हामी त घर बेच्दै छौ“ नि !”

उसले दयनीय, लगभग नमिठो र खल्लो स्वरमा भन्यो । 

कुन घर ? कहाँको घर ? अहँ, मलाई केही थाहा छैन । तर पनि मैले आफ्नो स्वरलाई आत्मीय बनाउँदै घर बेच्न लाग्नुको कारण सोधेँ ऊसित । सोध्नैपर्ने बाध्यता केही थिएन । तर पनि यतिखेर सँगै बस्नुको औपचारिकता पूरा गर्दै थिएँ म ।

“दाइ, हामीजस्ता मान्छे काठमान्डुमा बस्न नसकिने भयो । महँगी उस्तै ।” उसले जवाफ दियो ।

त्यसपछि केही बेर हामीबीच काठमाडौँ अर्थात् महानगर, यहाँको पानी, यहाँको महँगी, यहाँको अस्तव्यस्तता र यहाँका मान्छेहरूबारे कुराकानी भयो । उसले महानगरका मानिसहरूलाई स्वार्थी भन्यो र अनि सुनायो एउटा नरमाइलो प्रसङ्ग ।

०००

जागिर नखाई गृहस्थी चल्न नसक्ने भएपछि ऊ जागिर खोज्ने क्रममा लागेछ । त्यस क्रममा ऊ राजधानीमा महानगरका सम्पूर्ण सुविधाहरूको उपभोग गर्दै बसेका आफ्ना साख्खै काकाको अफिसमा गएछ । काका एउटा संस्थानमा महत्ववपूर्ण पदमा आसीन थिए । चिट पठाएको झन्डै डेढदुई घण्टापछि मात्र काकाले उसलाई आफ्नो कोठामा बोलाएछन् । ऊ भित्र पसेपछि काकाले सोधे—

“को हो तपाईँ ? मैले त चिनिनँ नि ।”

ऊ स्तब्ध भएछ । तर, उसले आफ्नो परिचय दिएन । परिचय दिने आँटै आएनछ उसलाई । चुपचाप नमस्ते गरेर फर्केछ ।

“अब भन्नुस् दाइ,” उसले भन्यो, “यस्तो पनि सभ्यता हो ? आफन्तलाई आफन्तले नै चिन्न अस्वीकार गरे । सहरमा यस्तै हुँदो रहेछ दाइ ।”

म झसङ्ग जस्तै भएँ । कतै यो मप्रति कुनै व्यङ्ग्य त हैन ? तर, उसको अनुहारमा व्यङ्ग्यभाव थिएन । ऊ सहजतापूर्वक यति कुरा गर्दै थियो । म भने अब ऊसित अतिरिक्त सजग हुनुपर्ने स्थितिमा पुगेको थिएँ ।

यतिन्जेल पनि ऊ मेरा लागि अपरिचित नै छ । म परिचितझैँ कुरा गर्दै छु । तर जोगिएर, सम्हालिएर कुरा गर्दै छु । सकेसम्म सामान्य कुराकानी मात्र होस् भन्ने खोज्दै छु । उसको घरपरिवारबारे कुरै उठाएको छैन ।

“कतिमा घर बेच्न लागेको ?” मैले सोधेँ ।

“के भन्नु दाइ, एकदम सस्तोमा बेच्दै छु । के गर्नु, गर्जो परेपछि भने जस्तो मोल नपाइने रैछ ! फेरि यसो सोचेँ, घर मात्र ठिङ्ग राखेर के गर्नु ? कमाइधमाइ क्यै छैन । त्यसैले घर बेचेर आउने पैसाले बरु मधेसतिर एकडेढ बिघा जग्गा किन्ने विचार गर्दै छु । पैसाले पुगेछ भने त्यतै कतै सानो छाप्रो पनि जोड्छु । अनि बाँकी पैसाले सानोतिनो पसल थाप्छु ।”
मैले उसको विचारको प्रशंसा गरेँ । उसको अनुहार केही बेरलाई उज्यालो भयो । मात्र केही बेरलाई । त्यसपछि उसको अनुहार फेरि खल्लो र दयनीय देखिन थाल्यो । लाग्यो, उसको मनका जम्मै पीडाहरू अनुहारभरि सलबलाइरहेछन् । तर, उसको पीडा के हो ? घर बेच्नुपर्ने बाध्यता के हो ? यसबारे म अझै अनभिज्ञ नै छु ।

०००

सिनेमा सुरु भयो । स्थिति केही सजिलो भयो । सिनेमा चलुन्जेल मैले कुराकानी नगर्नु नै बेस ठानेँ । कुराकानी गर्दागर्दै मैले उसलाई चिन्नै सकेको छैन भन्ने कुरा फुत्कन सक्छ । त्यसले उसको चित्त दुख्न सक्छ । तर बीचबीचमा भने छड्के आँखाले मैले उसलाई हेरिरहेको थिएँ । म ऊ को हो भनेर अझै ठम्याउन खोज्दै थिएँ । ऊ चाहिँ मग्न भएर सिनेमा हेर्दै थियो ।

वेशभूषाबाट ऊ अलिक निर्धनझैँ देखिन्थ्यो । कमिजको र∙ खुइलिएको थियो । पाइन्ट ठाउँ ठाउँमा रफू गरिएको थियो । जुत्ता पनि सद्धे थिएन । तर यतिन्जेलसम्मको उसको कुराकानीबाट ऊ शिक्षित, सभ्य र सरल व्यक्ति हो भन्ने स्पष्ट भैसकेको थियो । उसको भद्रताकै कारण मैले उसलाई ठाडै ‘भाइ, म त तिमीलाई चिन्दिनँ नि’ भन्न सकिरहेको थिइनँ ।

मेरो मनमा चलेको करिब डेढ घण्टाको उकुसमुकुसपछि मध्यान्तर भयो । हलभित्र चिसो बेच्नेहरू सक्रिय भए । छोटो समयमा धेरै व्यापार गर्नु परेकोले तिनीहरूलाई भ्याइनभ्याई थियो । साह्रै तिर्खा लागेकाले मलाई पनि चिसो लिने मन थियो । तर मसँगै ऊ पनि थियो । उसलाई मतलबै नगरी मैलेमात्र चिसो कसरी लिनु ? उसलाई समेत चिसो लिइदिन मनले मानेन । मनको कुनै कुनाले भनिरहेको थियो— अपरिचित व्यक्तिका निम्ति यति उदार हुनु उचित हुँदैन ।

तिर्खा लाग्दालाग्दै पनि मन मारेर बसेँ ।

‘ए भाइ, दुइटा चिसो देऊ त ।’

उसले दाहिने हातको चोर र माझी औँलाको बीचमा नोट च्यापेर चिसो बेचिरहेको एउटा केटोतिर तेर्स्यायो । केटोले तुरुन्तै दुइटा बोतल दिइहाल्यो । उसले एउटा मलाई दियो र अर्को आफूले लियो । म ग्लानिले निथ्रुक्क भएँ । जाबो केही रूपैयाँकै त कुरा थियो । मैले नै किनेको भए पनि के फरक पर्थ्यो र !

“दुईतीन महीनाअघि म तपाईँको ब्याङ्कमा गएको थिएँ । धितो राखेर लोनसोन मिलाइदिनुहुन्थ्यो कि भनेर । तर दाइ त बिदामा बस्नुभएको रैछ ।”

अब भने मलाई विश्वास भयो । ऊ मसित झुक्किएको हैन । राम्रैसित चिन्छ ऊ मलाई ।

कतै यो मसित कुनै प्रत्यक्ष या अप्रत्यक्ष फाइदा दिने दाउमा त छैन ? मनको कुनै कुनामा यस्तो आशङ्का पनि जन्म्यो । तर यस्तो होला जस्तो लागेन । उसको अनुहार र व्यवहार दुवैमा स्वार्थको पातलो छायासम्म पनि थिएन । म उसलाई फेरि एक पटक चिन्ने प्रयत्नमा लागेँ । तर मेरो यो प्रयत्न पनि सफल हुन सकेन । ऊ मेरा लागि अपरिचित नै रह्यो, रहिरह्यो ।

मैले आफैँलाई सम्झाएँ– उसलाई चिन्न नसक्नु मेरो गल्ती वा कमजोरी होइन । महानगरको हूलमा थुप्रैसित चिनजान भएको हुन सक्छ, थुप्रैसित हाईहेल्लो भएको हुन सक्छ । सबैलाई सम्झेर कहाँ साध्य हुन्छ र ! जीवनको कुनै पनि महङ्खवपूर्ण क्षणमा मैले उसको सहयोग र त्यस्ता क्षणहरुमा उसको उपस्थिति वा सहभागिता नपाएको हुन सक्छ । त्यसैले पनि मैले उसलाई नचिनेको हुन सक्छ । 

मध्यान्तर सकियो । सिनेमा फेरि सुरु भयो । हाम्रो वार्तालाप फेरि रोकियो । ऊ अघिझैँ मग्न भएर सिनेमा हेर्न थाल्यो । म चाहिँ द्वन्द्वकै स्थितिमा रहेँ । म उसलाई चिन्न पनि खोज्दै थिएँ र सिनेमा पनि हेर्दै थिएँ । यो स्थिति जटिल त थियो नै तर अब त तनावयुक्त पनि हुन थाल्यो ।

मैले मन दह्रो बनाएँ । परिचय माग्दैमा के फरक पर्छ ? उसले झम्टने त हैन नि ! खाइहाल्ने त हैन नि ! एक छिनको अप्ठ्यारो न हो ! बरु परिचित भइसकेपछि चिन्न नसकेकामा नम्र भएर माफी मागुँला । 

द्वन्द्वको स्थितिमा रहँदारहँदै सिनेमा सकियो । हामी दुवै निस्क्यौँ । हलबाट बाहिर आइपुग्यौँ। अँध्यारो गाढा भइसकेको थियो ।

मैले एउटा निश्चय गरेँ— जे त होला, उसलाई चिनिनँ भन्छु र नम्र भएर उसको नाउँ सोध्छु । यति सभ्य, सरल र उदार व्यक्तिलाई चिन्दै नचिनी छुट्टिन पनि मेरो मनले मानिरहेको थिएन । आखिर यही स्थिति हाम्रो अर्को भेटमा पनि उपस्थित हुन सक्छ । के त्यतिखेर पनि यसरी नै अभिनय गरिरहनु ?

मैले मन दह्रो बनाएँ । परिचय माग्दैमा के फरक पर्छ ? उसले झम्टने त हैन नि ! खाइहाल्ने त हैन नि ! एक छिनको अप्ठ्यारो न हो ! बरु परिचित भइसकेपछि चिन्न नसकेकामा नम्र भएर माफी मागुँला । 

मैले दह्रो निश्चय गरेँ ।

‘भाइ !’

उसले मतिर हेर्‍यो ।

“एउटा कुरा भन्छु, नरिसाऊ है । "मैले भने" ।

”किन रिसाउनु र दाइ !” उसले नम्रतासाथ भन्यो ।

‘मैले भाइलाई चिन्न सकिनँ नि !”

‘... ... ...’

ऊ मौन भयो । एकदम चुप । अप्ठ्यारो मान्यो सायद । टाढा, एकदमै टाढा कतैतिर हेर्‍यो । सायद आकाशतिर । सायद शून्यतिर । पुनः मतिर हेर्‍यो । रित्तो हेराइ । मुसुक्क हाँस्यो । हैन, हाँस्न खोज्यो । रित्तो हाँसो । उसले अप्ठ्यारो मान्दै, आफूभित्रका सम्पूर्ण पीडा, खल्लोपनहरूलाई सकेसम्म दबाउँदै, थिच्दै, उछिन्दै बिस्तारै भन्यो, “... दाइलाई मैले... पोहरसाल... दाइ कार एक्सिडेन्टमा परेर सिरियस हुँदा रगत दिएको थिएँ । दाइले त्यतिखेर, तिम्रो गुन कहिल्यै बिर्सन्नँ भन्नुभा’थ्यो । मबाट हुनेसम्म सहयोग गर्छु भन्नुभा’थ्यो । दाइ, म रमेश ।... रमेश कार्की ।”

म धेरै बेरसम्मै अवाक् भएँ ।

ऊ कतिखेर गएछ थाहै पाइनँ ।

अघिसम्म ऊ उभिएको थियो मेरा अगाडि । तर, अब भने मेरा अगाडि महानगर उभियो । सिङ्गो महानगर । महानगरको फोहोर पानी, महानगरको डरलाग्दो महँगी, महानगरको दिक्कलाग्दो व्यस्तता र महानगरका सुकिला मान्छे । के रमेश मेरा लागि यो महानगरको विशाल हूलभित्रको नितान्त साधारण अनुहार मात्र थियो र ?

रमेश कार्की, मैले तिमीसित माफी पनि त माग्न सकिनँ ।

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि