असार ०८, २०८१, शुक्रबार
               

खाल्टो (स्मृति)

नयनराज पाण्डे
माघ २४, २०७६

ADVERTISEMENT

धुनकी । हो, त्यसलाई धुनकी नै भनिन्थ्यो । कसैकसैले फटका पनि भन्थे । ऊ एउटा पुरानो धनुषाकार धुनकी लिएर जाडोयाममा घरघरमा सिरक बनाउन बजारतिर आउँथ्यो । शिवराम थियो उसको नाम । आफैँले भने आफूलाई स्युराम या सिराम भनेर चिनाउँथ्यो । हामी केटाकेटीहरू त्यस्तालाई देख्नासाथ धुनिया आयो भन्थ्यौँ । ऊ हाम्रो घरमा सिरक बनाउन आएको त थिएन । तर काम खोज्दै सडकमा यताउता हिँडिरहेको धेरैपटक देखेको थिएँ मैले उसलाई । धुनियाहरुले धुनकीलाई एउटा सानो मुदगलजस्तो डल्लो काठले हिर्काउँदा एक खालको संगीत बजेजस्तै लाग्थ्यो । एउटै लयमा बजिरहेको रुखो संगीत । तुन्न तुन्न ।

०००

म मान्छे खराबै हुँ । कति कति दुर्गुण भरिएका छन् मभित्र । बाहिरबाट हेर्दा भने कतिलाई म असाध्यै भलादमी देखिन्छु पनि होला । यो भलाद्मीपन पनि धुनियाले धुनकी चलाएर बडो मेहनतले तयार गरेको सिरकजस्तै त रहेछ आखिर । घुप्लुक्क ओढ्यो र आफूलाई न्यानोमा लुकायो । त्यो न्यानो हो या अँध्यारो ? अलमलमा छु म अहिले । तर जतिनै सिरकभित्र लुकाए पनि आफूसित कसरी लुक्नु ? कसरी आफ्नो मनलाई आफू असल छु भनेर प्रमाणित गर्नुुु ? मैले ओढिरहेको यो सिरक अरुलाई असल देखाउने दसीप्रमाण त होला तर मेरालागि यो फगत एउटा बोझिलो सिरक हो । आवश्यकताभन्दा बढ्ता कपास कोचेर बनाइएको सिरक । समयसँगै सुतीको पल्लाभित्रै गाँठागुठी परेर न्यानोपन हराएको सिरक । आज यो मध्य जाडोमा म आफूले ओढिरहेको त्यही सिरक उधिन्दैछु । स्मृतिका गाँठा परेका कपासलाई रेशारेशा पारेर निफन्दै छु । धुनकी छ्याटछ्याट बजाउँदै धुनियाले सिरकका लागि जसरी कपासको केस्राकेस्रा उधिन्छ, त्यसरी नै उधिन्दैछु । 

असोज कार्तिक लागेपछि सिरक बनाउन हिँड्थ्यो ऊ । तर त्यसबाहेकका महिना ऊ मजदूरी गर्थ्यो । कोरियनपुरभन्दा पनि पछाडिको करमोहना भन्ने गाउँमा बस्थ्यो ऊ । उसले बलजफ्ती बोकेर हिँडिरहेको अँध्यारो अनुहार, उसको दरिद्रताको बखान गर्ने दश ठाउँ टालिएका उसका कमिज पाइन्ट र पट्याकपट्याक बजेर उसको जीवनयात्रालाई गिज्याइरहने टायरको चप्पल । उसको हुलियाले उसका जीवनका सारा सपनाहरुलाई कुनै कब्रिस्तानमा सद्गत गरेर आएजस्तो देखिन्थ्यो । तर उसको शरीर भने अस्वाभिक किसिमले ठूलो थियो । करिब छ फुटको । मोटो पनि थियो । तर अनुहारमा गाढा पहेँलोपन । मानौँ, जीवनको आपाधापीमा आफ्नो शरीरको अन्तिम थोपा रगत पनि निखारेर हिँडिरहेछ ऊ । हाँस्न असमर्थ ओठमा पत्रपत्र कलेटी । 

उसलाई जोडले लात लगाएँ । छ फुट अग्लो मोटो न मोटो मान्छे, म मरन्च्यासेको लातले पनि असन्तुलित भयो र आफैँले भर्खर खनेका खाल्टोमा खस्यो । म खाल्टोमाथि, ऊ खाल्टो तल ।

०००

त्यो दिन ऊ त्रिभुवन चोकमा भेटियो । यो नेपालगन्जभरिको मुख्य व्यापारिक केन्द्र थियो उतिबेला । अत्यन्त व्यस्त बजार । टण्डन र खेतानका भव्य फरेन गुड्सका दुकानहरु यहीँ वरिपरि थिए । चाइनिज टर्च, रेडियो र घडी किन्न यहीँ आउँथे सिमापारि लखनऊसम्मका मान्छेहरु । किनमेलकै लागि सिमापारिनै हतियार थन्काएर तर वर्दीसहित हवल्दार र कन्स्टेबलहरु पनि आउँथे त्रिभुवन चोकसम्म । उतिबेला गजबको रौनक र शान थियो त्रिभुवन चोकको । साथीभाइसित भेटघाटको अखाडा नै यही थियो । साँझतिर चोकका पूर्व र पश्चिम कुनामा ठेला लगाएर बसिरहेका चाटवालाहरु बडेमानको कढाईमा देसी ध्यूमा तारिइरहेका हुन्थ्ये आलु टिक्की र बनिरहेको हुन्थ्यो स्वादिष्ट र वास्नादार चाट । अलिक पर बिरयानी बनाउनेहरुको ठेला । तर बिहानपख भने यहाँ बेग्लैखालको माहौल हुन्थ्यो । कतै घरका खसीबोकालाई ख्वाउने स्याउलाहरु बेच्नेहरुको समूह हुन्थ्यो । कतै हलुवा कचौरी बेच्नेका ठेलाहरु लागेका हुन्थे । दक्षिणतिरका मिठाइपसलमा दही, जलेबी र समोसाका सोखिनहरुको भीडभाड हुन्थ्यो । त्यतै पूर्वतिरको एउटा कुनामा कामको खोजीमा आएका मजदूरहरुको भीड हुन्थ्यो । घर बनाउने ठेकेदारहरुले त्यहीँ आएर मोलतोल गरेर मजदूरहरु लैजान्थे । तरकारी रोप्न बारी खनाउनका लागि घरधनीहरु पनि मजदूर खोज्दै त्यहीँ आउँथे । तर बारीको कामभन्दा निर्माणको काममा जान मजदूरहरु बढ्ता उत्साहित हुन्थे । किनभने त्यस्तो काम लामो समयसम्म पाउन सकिन्थ्यो । घर तयार नहुन्जेलसम्म । खेतबारीको काम त आज गर्यो, भोलि खत्तम । 

घरमा अट्याच बाथरुम बनाउनु थियो । त्यसकालागि घरबाहिर सेफ्टी ट्यांकी बनाउन अनिवार्य थियो । जयसपुरको लंगडले बाथरुम र सेफ्टी ट्यांक बनाउने जिम्मा लिएको थियो । उसले भनेको थियो—‘म मोहर्रम सकिएपछि मात्र काममा आउँछु । बरु छिटो मजदूर ल्याएर सेफ्टी ट्यांकीको लागि खाल्टो खनाएर राखिहाल्नुस् । काम छिटो हुन्छ ।’

मोहर्रर र ताजिया सकेर लंगड काममा आउने भएपछि हामीले उसले भनेझैँ खाल्टो तयार गरिदिनु थियो । त्यसैले बुवाले मलाई त्रिभुवन चोकबाट मजदूर लिएर आउने जिम्मा दिनु भयो । म चोकमा आएँ र उसैलाई भेटेँ । धुनियालाई । धनुषाकार धुनकी लिएर हिँड्ने धुनियालाई । उसको नाम शिवराम हो भन्ने मैले यहीँ थाहा पाएको थिएँ ।

‘काममा जाने हो ?’ मैले सोधेँ ।

‘कस्तो काम हो भैया ?’ उसले अवधी भाषामा बडो नम्र भएर सोध्यो । 

‘सेफ्टी ट्यांकीको काम हो ।’

ज्याला तय भयो । आठ या दस । त्यति नै त थियो होला उतिबेला । त्यो जमानाको कुरा । सैँतीस या अठ्तीस सालको । ऊ तयार भयो । म साइकल चढेर घर आएँ, ऊ बिस्तारै पछिपछि आयो ।

घर आएपछि मैले उसको हातमा फरुवा राखिदिएँ । ऊ अलमलमा पर्यो । मैले खाल्टो खन्ने ठाउँ पनि देखाइदिएँ ।

‘भैया, म यो काम गर्न सक्दिनँ ।’ उसले फरुवा भुइँमा छाडेर भन्यो । मलाई झनक्क रिस उठ्यो । गर्मीको बेला । बल्लबल्ल लिएर आएको एउटा हैसियत बिनाको मजदूरले ठाडै काम गर्दिन भन्दा मलाई मेरो स्वाभिमानमा चोट लागेजस्तै भयो । उसले मलाई हेपेजस्तै लाग्यो ।

‘काहे नाही करिहौ बे ?’ मैले हप्काउँदै सोेधेँ ।

‘अरु सबै काम गर्छु यो फरुवा चलाउने काम मबाट हुँदैन ।’ उसले लाचार भावमा भनेको थियो यो कुरा । तर मलाई अप्रिय लाग्यो । 

‘किन गर्दैनस् ?,’ मैले फेरि हप्काएर सोधेँ ।

‘भैया, म मर्जिहा आदमी हुँ । गर्दिनँ यो काम ।’ यति भनेर ऊ जान पो थाल्यो । मेरो रिसको पारा ह्वात्तै माथि चढिहाल्यो । त्यसको मर्जीले मात्र हुने हो र ? आफ्नो मर्जीले काम गर्नेले किन काम गर्छु भन्दै आएको मेरो घरमा ? मैले उसको पाखुरा च्याप्प समाते र धम्क्याएँ फेरि—‘काम गर्ने मन थिएन भने चोकमै भन्नुपर्थ्यो तैँले ? यहाँ आएर यस्तो भन्न पाउँदैनस् । तैँले काम गर्नै पर्छ ।’

छ फुटे शरीर । मोटोघाटो । तैपनि डरायो ऊ मसित । आफूभन्दा आधा उमेर कान्छो र मरन्च्यासे केटोसित किन डरायो ऊ ? थाहा छैन । तर गजबले डरायो । उसको रक्तहीन पहेँलो अनुहार झनै पहेँलो भयो । उसले भुइँमा फालिसकेको फरुवा उठायो र खाल्टो खन्न थाल्यो । म ढुक्क भएँ ।

तर, त्यो कामचोर नै रहेछ । पूरै अल्छी पाराले खाल्टो खनिरहेको थियो । एक मिनेट खन्यो भने पाँच मिनेट आराम गर्थ्यो । पसिना पनि कति आएको । साँस पनि कति फुलेको । यस्ताले मजदूरी किन गर्नु ?

दिउँसोसम्म आफू डुब्नेसम्मको खाल्टो तयार गर्यो जसोतसो । तर खन्न निकै बाँकी थियो । एक चौथाई पनि काम भएको थिएन । यही पारा हो भने खाल्टो खन्नै चारपाँच दिन लगाउने देखियो । म त्यसको काम गर्ने तौरतरिकाबाट मुर्मुरिइरहेको थिएँ ।

साँझ पाँचबजेसम्म काम गर्नु पर्ने थियो उसले । तर दिउँसो दुईबजे नै उसले मसित भन्यो—‘भैया, यो भन्दा बेसी काम म गर्न सक्दिनँ । म अब एकछिन पनि फरुवा चलाउन सक्दिनँ ।’

म फेरि जंगिएँ—‘किन सक्दैनस् बे ?’

‘म मर्जिहा आदमी हुँ । फरुवा चलाउँदिनँ ।’

‘साले, तेरो मर्जी भए काम गर्ने, मर्जी भए काम नगर्ने ? मजदुरीमा आएपछि यो काम त्यो काम भन्न पाउँछस् ? यहाँ तेरो हैन, मेरो मर्जी चल्छ ।’
‘नाहीँ बाबु, ई काम हमसे न होई । भोलि अर्को मजूर ल्याएर गराउनू ।’ उसले हात जोड्यो ।

मैले सहन सकिनँ । आवेशलाई नियन्त्रित गर्न सकिनँ । उसलाई जोडले लात लगाएँ । छ फुट अग्लो मोटो न मोटो मान्छे, म मरन्च्यासेको लातले पनि असन्तुलित भयो र आफैँले भर्खर खनेका खाल्टोमा खस्यो । म खाल्टोमाथि, ऊ खाल्टो तल । मानौँ ऊ नियतिको बडेमानको इनारमा खसेको थियो । अँध्यारो र गहिरो इनार । उसले त्यही गहिरो खाल्टोबाट मलाई नियाल्यो । हात जोड्यो र याचना गर्यो—‘भैया, मलाई जान दिनुस् । मलाई पैसा पनि चाहिन्नँ ।’

ऊ खाल्टोभित्रै बसेर रुन थाल्यो । रोएकै देखेपछि भने मेरो रिस शान्त भयो । म चुप लागेँ । ऊ सकिनसकी खाल्टोबाट निस्कियो र लुगामा लागेको धुलो झार्दै लुरुलुरु फर्केर गयो । उसले आफ्नो ज्याला मागेन । मैले उसको ज्याला दिइनँ । ‘म मर्जिहा मान्छे हुँ ’ भनेर आफ्नो मर्जी बाहेक अरु काम नगर्नेलाई कसरी ज्याला दिनु ?

०००

असोज लाग्यो । 

‘यसपालि नयाँ सिरक बनाउनु पर्छ । सडकतिर धुनियालाई देखिस् भने लिएर आउनूू ।’ आमाले भन्नु भयो ।

सडकमा धुनिया देखियो । धनुषाकार धुनकी लिएर हिँडिरहेको धुनिया । मैले बोलाएँ । परिचय भयो । करमोहनाकै रहेछ ऊ पनि । मैले झट्ट त्यही सिरामलाई सम्झिएँ । करमोहनाको सिराम । मर्जिहा आदमी हुँ भन्दै ज्यालै नलिई हिँडेको सिराम । मलाई फेरि झनक्कै रिस उठ्यो । सोधेँ धुनियासित—‘त्यो सिराम कहाँ छ आजकाल ? धुनकी लिएर हिँड्छ कि हिँड्दैन ? त्रिभुवन चोकमा मजदुरी खोजेर बस्छ कि बस्दैन ? कामधाम नगरी त्यो छ फुटको ज्यान कसरी धानेको छ त्यो सालेले ?’

अचेल म राजधानीमा बस्छु । मधेशदेखि टाढाको राजधानी । काठमान्डौ । पहिला हाम्रा बाउबाजेले काठमान्डौलाई ‘खाल्डो’ भन्थे । हो, खाल्टोमै त छु म । सत्ताको मात र दम्भको पर्खालले घेरिएको खाल्टोमा छु ।

पुरानो सिरक उधिन्दै धुनियाले भन्यो—‘अरे बाबु, त्यो सिराम त परमधाम गैसक्यो ।’

म जिल्ल परेँ । 

‘परमधाम ? किन यति चाँडै ? जवानै त थियो । त्यति अग्लो शरीर, त्यति मोटोघाटो मान्छे । यति चाँडै कसरी मर्यो त्यो ?’

पल्ला उधिनेर राश बनाएर थुपारेको पुरानो कपासमा धनुषाकार धुनकी लगाउँदै उसले भन्यो—‘मर्जिहा आदमी थियो । शरीरमा एक थोपा रगत थिएन । गरुंगो काम अलिकति पनि गर्न सक्दैनथ्यो । न ईँटागाराको काम गर्न सक्थ्यो, न धुनकी चलाउन सक्थ्यो । तीन महिना खटियामा थला परेर भदौमा मर्यो त्यो त ।’

‘मर्जिहा आदमी हुँ हजुर ।’ उसले उतिबेला मसित हात जोडेर भनेको थियो । 

‘मर्जिहा आदमी थियो त्यो त ।’ यतिबेला करमोहनाको धुनियाँले भन्दै थियो । 

मर्जिहा आदमी भन्ने दुई सामान्य शब्दहरु असामान्य ध्वनिका रुपमा मेरो कानमा प्रतिध्वनित हुँदै थिए । 

म बडेमानको भीरबाट खसेजस्तै भएँ । मर्जिहा आदमी । मैले बुझ्न गल्ती गरेको रहेछु । उसले आफूलाई रोगी अर्थात मरिज भनेको रहेछ । रोगले ग्रस्त भएको मर्जिहा आदमी । मरिजिया या मर्जिहा । आफ्नो मर्जी या आफ्नो रहरले काम गर्ने मान्छे हुँ भनेर कहाँ भनेको रहेछ र ? तर मैले उसलाई बुझिनँ त्यतिबेला । मैले उसको भाषा बुझिनँ । भाषा नबुझे पनि भाव बुझ्नु पर्ने । तर त्यो पनि बुझिनँ ।

म पश्चातापले पोलिएँ । ग्लानीले थिलथिलो भएँ । उसको रोगले पहेँलिएको अनुहार सम्झिएँ । उसको आधा दिनको ज्याला त दिएर पठाउनु पर्थ्यो नि मैले । कति क्रूर भएछु म । उफ् !

०००

अचेल म राजधानीमा बस्छु । मधेशदेखि टाढाको राजधानी । काठमान्डौ । पहिला हाम्रा बाउबाजेले काठमान्डौलाई ‘खाल्डो’ भन्थे । हो, खाल्टोमै त छु म । सत्ताको मात र दम्भको पर्खालले घेरिएको खाल्टोमा छु । तर सिरामलाई म आफूभन्दा पनि गहिरो खाल्टोमा देख्छु आज पनि । आज पनि सिराम खाल्टोभित्रबाट मलाई याचना गरिरहन्छ । ‘बाबु, भैया या मालिक’ भनेर हात जोडेकै देख्छु म सिरामलाई ।

तर सोच्छु फेरि । प्रश्न गर्छु आफैँसित—‘खाल्टोभित्र को छ ? सिराम या म ?’

यो प्रश्न हो या आगो ? के अहिले मधेशमा यही आगो बलिरहेको हो ? 
०००

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि