साउन १२, २०८१, शनिबार
               

'भारतीय ‘फेक रिपोर्ट’का बाबजुद पनि नेपाल-चीन सम्बन्ध मजबुत छ'
चीनसँग कुनै सीमा विवाद छैन’

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीन र नेपालबीच अहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन् । नेपाली राजदूत पाण्डेले हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने रिपोर्टहरू आइरहँदा उनले भनेका छन्, ‘अहिले कुनै समस्या छैन ।’ भारतीय मिडिया पूर्वाग्रही भएको र कतैबाट प्रभावित भएको हुनसक्ने बताउँदै राजदूत पाण्डेले भारतीयहरुले फेक समाचार र प्रपोगाण्डा प्रकाशित गरेको जिकिर गरेका छन् । केही समय अगाडि मात्र चीनको लागि नेपाली राजदूतको कार्यभार सम्हालेका पाण्डेसँग चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले गरेको कुराकानीको सार संक्षेप:

चीनमा नयाँ नेपाली राजदूतको रूपमा तपाइँको प्राथमिकता के हो ?

नेपाल र चीन राम्रा छिमेकी र असल मित्र हुन् । कूटनीतिक तवरले हामीले सन् १९५५ मा सम्बन्ध स्थापित गरेका थियौँ । चीनमा नेपालको नयाँ राजदूतको रूपमा, मेरो प्राथमिकता दुई देशहरूबीच भएको सम्झौताको हो । गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्नुभएको थियो । जुन भ्रमण धेरै सफल थियो । भ्रमणका क्रममा करिब २० बुँदामा हस्ताक्षर भएको थियो । त्यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चीन भ्रमण गर्नुभएको थियो ।

त्यसैले मेरो प्राथमिकता हस्ताक्षर गरिएका सम्झौता र सम्झौता कार्यान्वयन गर्नु हो । पछिल्लो वर्ष, हामीले विआरआई अन्तर्गत केही कार्यक्रमहरू विकास गरेका छौँ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यावरणीय सुधारको मर्मत क्षेत्रमा परियोजनाहरू छन् । जुन हामीले संयुक्त रूपमा अघि बढाउनुपर्दछ । 

भारतीय मिडियाले चीन र नेपालसँगको सम्बन्धले आफ्नो देशमा सुरक्षा चिन्ता उत्पन्न गरेको प्रचार गर्दै आएको छ । तपाइँले कसरी हेरिरहनुभएको छ ?

यो तथ्यमा आधारित छैन । यो पक्षपाती मनोवृत्ति हो । त्यो त्रास मनोविज्ञानको अभिव्यक्ति हो । पहिला भारत उपनिवेश राष्ट्र थियो । तर नेपाल सधैँ स्वतन्त्र र एक सार्वभौम देश हो । हामी अहिलेसम्म कुनै पनि वैचारिक समूह वा कुनै प्रकारको शक्तिसँग झुकावमा  छैनौँ । नेपाल-चीन असल सम्बन्धनका कारण भारतमा खतरा ठान्नु भारतीय मिडियाका पक्षपाती धारणा हुन् । वा उनीहरूले कसैलाई बहकाएको छ । केही फेक समाचार प्रकाशन, प्रसारण भए ।  तर त्यो सत्य होइन ।  यो उनीहरुको डरको मनोवैज्ञानिक अभिव्यक्ति मात्र हो ।

चीन र भारत दुवै नेपालको छिमेकी राष्ट्र हुन् । छिमेकीहरू एकअर्कासँग डराउनु हुँदैन । यसको सट्टामा हामीले हात मिलाउनुपर्दछ । मिलेर विकासका काम गर्नुपर्दछ । आपसी फाइदा र सहयोग आदानप्रदान गर्नुपर्दछ ।

सीमा समस्या प्रचारमा ल्याउने कुरा होइन । यो ऐतिहासिक रेकर्ड र तथ्यहरूको आधारमा छलफल गर्न सँगै बसेर समाधान गर्ने कुरा हो ।

केही पश्चिमी मिडियाले भने नेपालले भारत र चीनको बीचमा कडा सङ्घर्षका साथ सम्बन्ध गाँसिरहेको छ भनेका छन् । चीन र भारत सीमा तनावको बीचमा नेपाल परेको छ । तपाइँ यसलाई कसरी हेर्नुहुन्छ ?  

चीन र भारत नेपालका दुई छिमेकी हुन् । नेपाल र भारतबीचको सिमानामा लामो समययता केही सीमा विवाद रहेका छन् । चीनसँग पनि पहिले केही समस्या थिए । तत्कालिन चिनियाँ नेता माओत्सेतुयलन सत्तामा हुँदा हामीले समस्या समाधान गरेका थियौँ । त्यो समयमा हस्ताक्षर सम्झौता भएको थियो । र सीमा समस्या समाधान भएको थियो । त्यसपछि नेपाल र चीनको बीचमा अहिले कुनै सीमा समस्या छैन ।

तर भारतले हाम्रो केही सीमाहरू मिचेको अवस्था छ । १९६२ मा जब चीन र भारतबीच युद्ध भइरहेको थियो र त्यस समयमा भारत पराजित भयो । केही भारतीय सेना अस्थायी रूपमा नेपाली भूमिमै बसे । तर पछि, तिनीहरूले त्यो भूमि आफ्नै भन्ने दाबी गरे । त्यो सीमा समस्या समाधान गर्न हामी यथासक्दो कोसिस गरिरहेका छौँ ।

यद्यपि सीमा समस्या, चाहे त्यो चीन र भारतको बीचमा होस् या  नेपाल र भारतको बीचमा होस् । प्रचारमा ल्याउने कुरा होइन । यो ऐतिहासिक रेकर्ड र तथ्यहरूको आधारमा छलफल गरेर, सँगै बसेर समाधान गर्ने कुरा हो । त्यो समस्या समाधानको लागी हामीले वार्ता छलफल गर्न भारतलाई धेरै पटक अनुरोध गरिरहेका छौँ । तर भारतले चाहिरहेको छैन । 

गत महिना चीनले नेपाल, पाकिस्तान र अफगानिस्तानसँगको कोभिड विरुद्ध लडाई गर्न र क्षेत्रीय शान्ति र सुरक्षालाई समर्थन गर्ने संयुक्त सहकार्यको बारेमा बैठकहरूको आयोजना गर्‍यो । तपाइँ कसरी बैठकको मूल्याङ्कन गर्नुहुन्छ ?

विश्वमा २०० भन्दा बढी देश र क्षेत्रहरू छन् । तिनीहरूको बीचमा भूगोल मानिसहरूले नै छुट्टाएका हुन् । यी कृत्रिम रेखा हुन् । जब महामारी आउँछ, यी सीमा रेखाहरूले यसलाई रोक्न सक्दैन । जब यो महामारी आयो, जिम्मेवार नेताहरू सँगै बसे र चिनियाँ नेताहरूले गरेजस्तै महामारी नियन्त्रण गर्नको लागी प्रयास गरे । म सधैँ भन्छु कि चीनले भाइरस नियन्त्रणमा लिइ चिनियाँ नागरिकलाई बचाएको छ । केही देशहरूले भने चीनले स्वतन्त्रताको हक नाघेको टिप्पणी समेत गरे । अरू देशमा स्वतन्त्रताको नाममा हजारौँ मानिस महामारीको सिकारमा मारिएका छन् ।

चीनमा नेतृत्वले जनताको जीवनको अनमोलतालाई ध्यान दियो । त्यस्तै (नेपालमा पनि) हामीले चीनसँग सहायता लियौँ । चीनले हामीलाई समर्थन पनि गरेको छ । यदि हामीसँगै यो महामारीविरुद्ध लड्यौँ भने हामी यसलाई नियन्त्रण गर्न सक्छौँ । यदि हामी एक अर्कालाई दुर्व्यवहार गर्छौँ र सामूहिक रूपमा लड्दैनौँ भने महामारी जारी रहनेछ । यसले मानवहरूलाई पराजित गर्ने प्रयत्न गर्नेछ। 

भारतीय मिडियाका केही रिपोर्टहरूले चीन र नेपालको सम्बन्ध बिग्रँदै गइरहेको भन्दै आएका छन् । महामारीपछि चीन-नेपाल सम्बन्ध कसरी अघि बढ्छ ? 

यसमा कुनै शङ्का छैन यो नक्कली प्रचार हो ।  दुई देश (नेपाल-चीन) बीच राम्रो सम्बन्ध नहुनुपर्ने कुनै कारण नै छैन ।

महामारीपछि विश्वमा, बहुपक्षीयता अगाडि बढ्नेछ र सामूहिकता अगाडि बढ्नेछ । विपक्षमा रहनेहरू पछाडि छोडिनेछन् । बीआरआई चीनले प्रस्ताव गरेको धेरै राम्रो पहल हो । तर वैचारिक भिन्नताका कारण यसको आलोचना भएको छ । तर त्यो आलोचना सफल हुँदैन ।

यो पनि