कोरोना भाइरस मानवीय उत्पत्ति भएको पहिलेदेखि आशंका भइरहदा अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट तयार गर्न त्यहाँको गुप्तचर निकायलाई निर्देशन दिएका छन् ।
कोरोना भाइरस कुनै जीवबाट मानिसमा सरेको हो वा चिनियाँ प्रयोगशालाबाट बाहिरिएको भन्नेमा पूर्ववर्ती राष्ट्रपति डोनाल्ट ट्रम्पकै पालादेखि विवाद थियो । ट्रम्पले त यसलाई चिनियाँ भाइरसकै संज्ञा दिने गरेका थिए ।
यसको उत्पत्तिबारे आशंका र विवाद बढिरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले अध्ययन गर्न निर्देशन दिएका हुन् । अमेरिकी गुप्तचर निकायले केही दिनअघि कोरोना भाइरस चीनको प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने प्रतिवेदन तयार पारेको थियो ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो । वुहानस्थित समुद्री खाद्य बजारबाट कोरोना भाइरस मानिसमा सरेको दाबी चिनियाँ अधिकारीले गर्दै आएका छन् ।
ट्रम्प प्रशासनले भने यसलाई नकार्दै आएको थियो र यसलाई मानवनिर्मित भनेको थियो । तर विश्व स्वास्थ्य संगठनको अनुसन्धानले प्रयोगशालाबाट मानिसमा सरको सम्भावना कम रहेको जनाएको थियो ।