जेठ ०२, २०८१, बुधबार
               

अमेरिकाद्वारा म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति जो बाइडेनले 'कू' गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ ।

'कू'विरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो । मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए ।

म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । सू चीसहित कैयौँ वरिष्ठ नेतालाई सेनाले नजरबन्दमा राखेको छ ।

तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् । 

अमेरिकी राष्ट्रपति बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् । आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडुनले भने, "म्यान्मारका जनताले आफ्नो आवाज सुनाउँदैछन् र विश्वले सबै हेरिरहेको छ।"

पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडेनले बताएकाे बिबिसीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि