काठमाडाैं । भारतमा कोरोना भाइरसबाट पाँच सय भन्दा बढीले ज्यान गुमाएका छन् ।
भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २७ जनाले ज्यान गुमाएका छन् । तर, यो अघिल्लो दिनको तुलनामा कम हो ।
भारतको स्वास्थ्य मन्त्रालयले भारतमा हालसम्म पाँच सय सातको मृत्यु भएको जानकारी दिएको छ । भारतमा संक्रमितको संख्या पनि १५ हजार नाघेको छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । जहाँ अहिलेसम्म कोरोनाका कारण दुई सय ११ जनाको निधन भएको छ ।
त्यसैगरी मध्यप्रदेशमा ७०, गुजरातमा ५३, दिल्लीमा ४२ जनाको कोरोनाका कारण निधन भएको छ ।हालसम्म भारतमा दुई हजार दुई सय ३१ संक्रमित निको भइसकेका छन् ।