जेठ ०८, २०८१, मंगलबार
               

कोरियामा निर्वाचन, कोरोना संक्रमितले पनि मतदान गर्ने

रासस
बैशाख ०३, २०७७

ADVERTISEMENT

 सउल । कोरोना भाइरस संक्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा बुधबार आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।

वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ । हाल सदनमा यो दलको १२० सिट छ । बलियो प्रतिद्वन्द्वी मानिने युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ । सदनमा युटाइटेड फ्युचरको पार्टीको ११२ सिट भए पनि २० सांसदले छुट्टै युनाइटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् । उनीहरु पनि आफ्नो बहुमत आउने दाबी गरिरहेका छन् ।

मजदुरको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल पूरा भएको छ । आफूले सत्ता सम्हाल्नासाथ मजदुरको ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने उनको महत्वकांक्षी योजना अझै पूरा हुनसकेको छैन ।

तर पनि अन्य योजनाहरु चुस्त गतिमा अगाडि बढाउनाका साथै कोरोना माहामारीलाई घटाउन उनको सरकारले गरेको कदमको विश्वव्यापीरूपमा प्रशंसा भइरहेको छ । 

मुनको पार्टी डेमोक्रेटिकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहे अनुसारका काम गर्न, नीति नियम बनाउन र योजना पूरा गर्ने अवसर हुनेछ ।

जोखिम हुन नदिन तयारी 

कोरियाली निर्वाचन आयोगका अनुसार कोरोना संक्रमण फैलन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने छ ।
 
हातमा स्यानिटाइजर लगाएपछि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्लास्टिकको पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । मतदानस्थलमा सबै मतदाताको विशेष यन्त्रमार्फत ज्वरो नापिने र ३७।५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ ।

चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन् । उनीहरु बिहान ९ बजेभन्दा अघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ । साथै विदेशमा रहेका कोरियाली नागरिकका लागि पनि मतदानको व्यवस्था गरिएको थियो । उनीहरुले दुई साताअघिदेखि नै भोट हालिसकेका छन् ।

कोरोना माहामारीका कारण कोरियाली सरकारले सभा सम्मेलन तथा भेला गर्न रोक लगाएको छ । संक्रमण पुष्टि भएपछि गत जनवरी २० बाटै सभा सम्मेलन गर्न रोक लगाइएको छ । दुई वा तीन जना प्रतिनिधिहरुले सामान्य घरदैलो कार्यक्रम गरी प्रचारप्रसार तथा सामाजिक सञ्जाल र फोन म्यासेन्जरबाटै प्रचार भए भने कता कति गाडीबाट माइकिङमार्फत उम्मेदवारले आफ्नो योजना भने र ब्यानर टाँस्ने काम पनि गरेका थिए । 


निको भएका ११६ मा पुनः संक्रमण

कोभिड–१९ बाट संक्रमण भई उपचारपछि निको भएर घर फर्किएका ११६ जनामा पुनः संक्रमण देखिएको छ । यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुनसक्ने र यदि पुनः सक्रिय भएको हो भने यो विश्वका लागि नै चिन्ताको विषय हुनसक्ने आशय व्यक्त गरेका छन् ।

पछिल्लो समय दक्षिण कोरियामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लागिरहेको छ । यसले कोभिड–१९ रोकथामका लागि कोरिया विश्वभर प्रशंसित हुँदैछ ।

तर, पुनः संक्रमितको संख्या देखिनु दुखद् कुरा भन्दै यहाँका स्वास्थ्य अधिकारीले यो संख्या अझै बढ्न सक्ने अनुमानसमेत गरेका छन् । यसका साथै यो भाइरस कसरी पुनः सक्रिय भयो भन्नेबारेमा पनि वैज्ञानिक कारणको अध्ययन जारी नै रहेको जनाएका छन् । तर केही विज्ञहरूले भने गलत परीक्षणका कारण यस्तो भएको हुनसक्ने पनि शंका गरेका छन् ।

चीनको वुहान शहरबाट कोरोनाको माहामारी फैलिएपछि लगत्तै संक्रमण उच्च भएको मुलुक दक्षिण कोरियाले नेपालमा जस्तो लकडाउन नगरेरै कोभिड–१९ संक्रमण रोक्न सफलता प्राप्त गरेको देखिन्छ । यहाँ हालसम्म १० हजार ५३७ जनाको संक्रमण देखिएको छ भने २१७ ले ज्यान गुमाइसकेका छन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि