जेठ ०१, २०८१, मंगलबार
               

अस्ट्रेलिया सरकारद्वारा ४० अर्ब डलरको राहत घोषणा

रासस
चैत ०९, २०७६

ADVERTISEMENT

एजेन्सी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ । 

अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरिएको ६६ अर्ब अस्ट्रेलियन डलर समेत कूल एक खर्ब ८९ अर्ब अस्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गरिने बताए । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो । 

क्यान्बेरामा पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री फ्राइडेनबर्गले यो विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न यस्तै विशिष्ट कदम चाल्नुको विकल्प नरहेको जानकारी दिए । 

उनले पछिल्लो राहत घोषणाले लाखौं अस्ट्रेलियाली नागरिकमा आसाको सञ्चार गराउने विश्वास व्यक्त गरे । सरकारको योजनाअनुसार साना व्यवसाय र गैर नाफामूलक संस्थाहरूले एक लाख अस्ट्रेलियाली डलरसम्म अनुदान प्राप्त गर्नेछन् भने बेरोजगारको भत्तालाई दोब्बर बनाइने तथा निवृत्तीभरण प्राप्त गर्नेहरूलाई थप ७५० अस्ट्रेलियाली डलर नगद दिइनेछ । 

अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक क्षति १० दिनअघि सोचिए भन्दा निकै व्यापक रहेको पनि बताए । कोरोनाभाइरसका कारण मुलुकको अर्थव्यवस्था विगत २९ वर्षदेखिको लगातार प्रगतिपश्चात पहिलो पटक मन्दीको अवस्थामा पुग्ने खतरा रहेको छ । 

अस्ट्रेलियामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३०० पुगेको छ भने सात जनाको मृत्यु भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भाइरस प्रसार हुन नदिन अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धहरू लगाउनुका साथै गैर अस्ट्रेलियालीलाई देश प्रवेशमा रोक लगाएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि