भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबारसम्म ३० पुगेको छ ।
प्राप्त पछिल्लो सूचनाअनुसार भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् । यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा हर्षवर्द्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना संक्रमित भएको बताएका थिए ।
राज्यसभामा बोल्दै उनले भने, ‘देशभर यही मार्च ४ देअि अहिलेसम्मम कोरोना भाइरसबाट संक्रमितहरूको संख्या २९ पुगेको छ ।’
उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्यांकन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए । कोरोनाको संक्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बद्र्धनले बताए ।
विश्व स्वास्थ्य संगठनको सुझाव र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दाबी उनले गरे । उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दाबी गरे । देशका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए ।
कोरोनाका कारण बिहीबारसम्म संसारभर तीन हजार दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ ।