जेठ ०५, २०८१, शनिबार
               

तालिबानको आक्रमणमा १९ सैनिक मारिए

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

एजेन्सी । अफगानिस्तानको दुईओटा प्रान्तमा  तालिबानी लडाकु समूहकाे आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । 

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय राजधानी कुन्दुज सहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ इ सिर्कातमा रहेको र्सैनिक शिवीरमा सो आतङ्ककारी आक्रमण भएको प्रान्तीय परिषद्का सदस्य फावजिया जवादले बताएका छन् । 

यद्यपि जवादका अनुसार मध्यरातबाट सुरु भएको यस आक्रमण र त्यसपछि भएको दोहोेरो झडपमा परी तालिबान आतङ्ककारी समूहका कैयौँ सदस्य मारिएका छन् । 

कुन्दुज सहरकै पूर्वी भागमा पर्ने इलाकामा तालिबानी लडाकु समूहले गरेको अर्को छुट्टै आक्रमणमा परी चारजना स्थानीय प्रहरी मारिएका छन् ।  सो आक्रमण त्यसपछिको झडपका परी तालिबानी लडाकुका तीन सदस्य पनि मारिएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

कुन्दुज प्रान्तको छिमेकमा पर्ने बाल्ख प्रान्तमा तालिबान लडाकुको आक्रमणमा परी अफगान स्थानीय प्रहरीका तीन  सदस्य मारिएका छन् । बाल्ख प्रान्तको बाल्ख जिल्लाको समार्कानयान गाउँमा सो आक्रमण भएको थियो । 

संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिबान समूहबीच गत शनिबार अर्थात् फेबु्अरी २९ का दिनमा कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिबानी समूहका नेता बतारको राजधानीमा पुगेका थिए ।

सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रद्वारा उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नेटो’अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ ।

सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६ सय  सैनिकलाई आगामी १ सय ३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ, । 

सम्झौताअनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ । दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भइ लड्दै आएका हजारौँ अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ ।

अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि