बैशाख २५, २०८१, मंगलबार
               

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो

रासस
फागुन ०६, २०७६

ADVERTISEMENT

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८ सय ६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १ सय  व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

गत आइतबार एकै दिनमा सो भाइरसका कारण १ सय  व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी, सोमबार यस भाइरसको सङ्क्रमणका कारण ९८ जनाको मृत्यु भएको एपी समाचार समितिले मङ्गलबार जनाएको छ । 

मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरिमा मृत्यु हुने व्यक्तिको सङ्ख्या १ हजार ८ सय ६८ पुग्नुको साथै ७२ हजार ४ सय ३६ व्यक्ति सङ्क्रमित भएका छन् । 

चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले सोमबार दिएको एक जानकारीअनुसार यस रोगको सुरुवाती घटनाहरूको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको सुरुबाट ८० प्रतिशतले घटेको पाइएको छ ।  

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले सोमबार भएको एक पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्वीर दिएको बताउनुभएको छ । 

जारी अनुसन्धानअनुसार यस रोगको सङ्क्रमणको दर घट्दो मात्रामा देखिन थालेका बताइएको छ । महानिर्देशक गेब्रियसले अहिले नै सङ्क्रमण दर घट्यो भनेर निष्कर्ष निकाल्नु एकदमै चाँडो हुने बताए । 

यसअघि आइतबार चीनमा २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको थियो । सङ्क्रमितहरूको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको सो समाचारमा जनाइएको छ । 

गत डिसेम्बरको अन्त्यबाट सुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १ सय ८२ जनालाई कोराना भाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको थियो । 

चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट यहाँको विभिन्न क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ । वैज्ञानिकहरूले ‘कोभिड–१९’ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन खर्च विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका थिए ।

यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट सातजना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।  
 
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरूले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरूले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । 
–––
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि