बैशाख १८, २०८१, मंगलबार
               

सरकार र गोविन्द केसीबीच सहमति, अनसन स्थगित

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गरेका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी अनशनको कार्यक्रम तत्कालका लागि स्थगित गर्न सहमत भएका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवाले आफ्ना माग पूरा गर्न प्रतिवद्धता जनाएको हुँदा हालका लागि सत्याग्रहको कार्यक्रम स्थगित गरिएको डा. केसीले जनाएका छन् ।

डा. केसीले पाँच बुँदे माग राख्दै भदौ ३ गतेदेखि अनशन थाल्ने घोषणा गरेका थिए ।

त्यसको दुई दिनअघि प्रधानमन्त्री देउवाले मंगलबार उनलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवा र डा. केसीबीच  सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा प्रतिष्ठानको विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने सहमति भएको छ ।

यस्तै पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनहरूलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनसाथ प्रक्रिया अघि बढाउने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्‍याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने लगायतका सहमति भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि