बैशाख २१, २०८१, शुक्रबार
               

भेरोसेलको पहिलो खोप लगाएकालाई भोलिदेखि दोस्रो डोज

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

काठमाडाैं । भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले भोलिदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने भएका छन् ।

 एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए 

पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको उनले बताए । भेरोसेलको पहिलो खोप लगाएका सबैले दोस्रो डोज लगाउन पाए पनि कोभिसिल्डको पहिलो खोप लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकले कहिलेसम्म खोप पाउने भन्ने निश्चित भइसकेको छैन । पहिलो डोज लगाउँदा पनि धेरै सुरक्षित हुने भएकाले नआत्तिन डाक्टर गौतमले आग्रह गरेका छन् ।

कोभिसिल्डको दोस्रो डोजको व्यवस्था गर्न सरकार लागिपरेको उनको भनाइ छ । यसैबीच चीनबाट खरिद गरेर ल्याइने खोप पनि उमेर समूहकै आधारमा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले असार २४ गतेदेखि खोप आपूर्ति सुरु भइ त्यसपछि साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति हुने यसअघि नै जानकारी दिइसकेको छ ।

खोपको निरन्तर आपूर्तिलगत्तै खोप अभियानलाई निरन्तरता दिने सरकारको तयारी छ । यसअघि अग्रपङ्क्तिमा खटिएका र ६० वर्षमाथिकालाई खोप लगाइसकेकाले अब ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखेर खोप दिने खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए  ।


कस्तो लाग्यो ?

यो पनि