बैशाख २१, २०८१, शुक्रबार
               

कोभिड नियन्त्रणका लागि सिद्धमहायोग आयोजना हुँदै
आयोजकद्वारा सहभागिताका लागि अनुरोध

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

सुनसरी : कोरोना महामारीबाट नेपाल मात्र नभएर सारा विश्व नै आक्रान्त बनी रहेको वर्तमान समयमा हिमालयन सिद्धमहायोगको माध्यमबाट विशेष अनुष्ठानमूलकमार्फत यो महाव्याधिलाई निस्तेज पार्न सकिने दाबी गरिएको छ ।

यही जेठ १२ गतेदेखि जगद्गुरु रामानन्दाचार्य सेवा पीठ चतराधाम वराहक्षेत्र र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा १५ दिनसम्म सो अनुष्ठान गरिँदै छ । सो अनुष्ठान महायोगी सिद्धबाबा कृष्णदासजीको प्रत्यक्ष रेखदेख र सक्रियतामा सञ्चालन हुनेछ ।  

शनिवार भर्चुअल माध्यमद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिद्धबाबा कृष्णदासजीले सो विधिबाट कोरोना सङ्क्रमित भएका र नभएकाले फाइदा लिन सक्ने जानकारी दिए । उनले मुलुकमा सङ्क्रमण रोकथामका लागि अत्यावश्यक खोपका साथै उपचारका लागि आवश्यक औषधी, अक्सिजन मात्र नभएर अस्पतालका बेड र भेन्टिलेटर आदिको समेत अभाव रहेको अवस्थामा प्राकृतिक चिकित्सा तथा महायोगमा यो महामारीबाट जोगिने उपाय रहेको दाबी गरेका छन् ।

"हाम्रो ठुलो जनसङ्ख्या अकाल मृत्युको मुखमा गइरहेको अवस्थामा प्राकृतिक चिकित्सा तथा महायोगको माध्यमबाट यो महामारीबाट जोगिने उपाय पनि अपनाउन सकिन्छ । पूर्वीय प्राकृतिक चिकित्सा पद्धति र हिमालयन सिद्धमहायोगको माध्यमबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ," उनको दाबी छ ।

सो कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा कोरोना महामारीको दोस्रो लहरसँगै यस महाव्याधिबाट सङ्क्रमित र मृत्यु हुनेको ग्राफ कहालीलाग्दो रहेका तथा अझै केही समय यस्तो भयावह अवस्थाको सामना गर्नु पर्ने सम्भावनालाई पनि नकार्न नसकिने उल्लेख छ ।

"कोभिडको दोस्रो लहरबाट पार पाउन नसक्दै तेस्रो लहरले समेत हामीलाई गाँज्ने हो कि भन्ने अर्को डरलाग्दो यथार्थ देखा पर्न थालेको छ । यस्तो अवस्था मुलुकका सम्पूर्ण आर्थिक क्रियाकलापहरू अवरुद्ध छन् । रोजगारी र आय आर्जनमा ठुलो प्रभाव पारेको छ । मानिस खानै नपाएर मर्ने हुन् कि भन्ने अवस्था सिर्जना हुँदै छ," विज्ञप्तिमा उल्लेख छ, "हाम्रो ठुलो जनसङ्ख्या अकाल मृत्युको मुखमा गइरहेको अवस्थामा प्राकृतिक चिकित्साको माध्यमबाट यो महामारीबाट जोगिने उपाय पनि छन् । पूर्वीय प्राकृतिक चिकित्सा पद्धति र हिमालयन सिद्धमहायोगको माध्यमबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।"

विज्ञप्तिमा अगाडि भनिएको छ, "यो महाव्याधिलाई निर्मुलीकरण गर्न हामीले पनि सक्दो प्रयास गर्नै पर्छ । हाम्रो विश्व, हाम्रो मुलुक र समाजले यस्तो विपत्तिको घडीबाट सकेसम्म छिटो पार पाउनु पर्छ भन्ने मान्यता हाम्रो पनि छ । समाजप्रतिको आफ्नो दायित्वबाट मुखरित हुने छुट हामी कसैलाई छैन । यो दायित्वबाट अलग रहनु हुँदैन भन्ने दृढ निश्चय हाम्रो पनि छ ।"

बिहान र बेलुका २–२ घण्टा गरी सञ्चालन हुने अनुष्ठानकामा कोरोना सङ्क्रमणबाट निदान पाउने उपचार विधि र प्रयोग बारे जानकारी दिइने छ । मुलुक निषेधाज्ञामा रहेको बेला आ आफ्नो घर मै बसेर गर्न सकिने यो अनुष्ठानका लागि सहज उपलब्ध हुने विभिन्न वस्तुहरूको पनि आवश्यकता रहने बताइएको छ । ती सामग्रीका बारेमा अनुष्ठानको सुरुवाती दुई दिनमा जानकारी गराइने बताइएको छ ।

आयोजकका अनुसार हाम्रा ऋषि महर्षिद्वारा प्रतिपादित एवं इतिहासमा अनेकौँ सफल परीक्षण भइसकेको हिमालयन सिद्धमहायोगको माध्यमबाट विशेष अनुष्ठानमूलक कार्यक्रमका साथ यो महाव्याधिको निर्मुलीकरणका लागि सो कार्यक्रम आयोजना लागिएको हो । महायोगी सिद्धबाबाको प्रत्यक्ष रेखदेखमा १५ दिनसम्म नि:शुक्ल आयोजना हुने सो अनुष्ठानका सहभागीको सहजताका लागि विभिन्न भर्चुअल माध्यम तथा सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

साथै हरेक धर्म र आस्थाका व्यक्तिले यो अनुष्ठानबाट फाइदा लिन सक्ने पनि महायोगी सिद्धबाबा कृष्णदाजीको भनाइ छ । "मैले नाम वा दाम कमाउने उद्देश्यबाट यो अनुष्ठान गराउन लागेको हैन । पूर्वीय चिकित्सा पद्दतिबाट हामीले धेरै फाइदा लिन सक्छौँ । मेरो यो प्रयासलाई अन्यथा नलिइ दिनु हार्दिक अनुरोध छ," उनको आग्रह छ ।

यो पनि