काठमाडौं : कोरोना संक्रमण उच्च गतिमा फैलिइरहेको छ । यतिबेला हजारौँ संक्रमित होम आइसोलेसनमा बस्दैआएका छन् ।
होम आइसोलेसनमा रहँदा के गर्ने के नगर्ने भनेर जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले बुँदागत सुझाव ।
१. थर्मामिटरबाट शरीरको तापक्रम नापिरहनु होला । ९८-९९ डिग्री फरेनहाइटसम्म व्यक्तिअनुसार नर्मल तापक्रम हो । १०० डिग्री पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
२. पल्स अक्सिमिटर (शरीरमा अक्सिजनको मात्रा नाप्ने मेशिन) बाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठो नजिक एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।
३. भिटामिन 'सी' २ पटक, जिङ्क २ पटक, भिटामिन 'डी' हप्ताको १ पटक खानुहोला । आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ।
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहे वा खोकी लागिरहे, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला । छातीको एक्स-रे वा सिटी स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल/एन्टिबायोटिक ) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।
५. जाँच नगरी घरमा अक्सिजन लिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भए पनि त्यहाँ तपाईँले कुनै न कुनै उपचार पाउनुहुन्छ।
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवम् स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।
८. मरीच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठीमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ।
१०. घरको खानाको अतिरिक्त फलफूल, दूध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।
११. पानीको बाफ लिँदा आराम हुन्छ।
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ /कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।
१३. हल्का व्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राख्नुहोला । नआत्तिनु होला।
१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक सञ्जाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ।
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला । त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला।
(जनस्वास्थ्यका लागि उपयोगी भएकोले डा. पाण्डेको फेसबुक पेजबाट साभार गरिएको)