जेठ ०५, २०८१, शनिबार
               

काभ्रेमा कोरोना संक्रमित बढ्दै

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको सङ्ख्या उकालो लागिरहेको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसिएमसी०का अनुसार शुक्रबार २३ संक्रमित थपिएका छन् । 

गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना संक्रमित रहेको केन्द्रले जनाएको छ ।

‘जिल्लामा कोरोना संक्रमण दर बढिरहेको छ, यस कारण विशेष सावधानी अपनाउनुर्पे देखिन्छ’, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं केन्द्रका सदस्यसचिव डा. नरेन्द्रकुमार झाले भने । उनका अनुसार शुक्रबार यहाँका चार वर्षीय बालकदेखि ८१ वर्षका वृद्धसम्ममा कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्लामा दिनानुदिन कोरोना संक्रमण दर बढ्दै गएपछि केन्द्रले सार्वजनिकस्थलमा भीडभाड नगर्न आह्वान गर्दै सावधानीपूर्वक सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४५० भन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ भने हालसम्म १४ महिलासहित ४५ को मृत्यु भएको छ । 

१३ स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २६ संक्रमित रहेका छन् । हाल बनेपा नपामा १४, पाँचखालमा सात, पनौतीमा १५, नमोबुद्धमा चार, मण्डनदेउपुरमा ६ तथा रोशी गाउँपालिकामा पाँच, चौँरीदेउरालीमा दुई, तेमालमा दुई र भुम्लु गाउँपालिकामा एक संक्रमित रहेका छन् । तीन स्थानीय तह खानीखोला, महाभारत र बेथानचोकमा संक्रमण देखिएको छैन । 

कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले गत सोमबार देशभरका २५ सहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई नगर बनेपा र धुलिखेलका शिक्षण संस्था बुधबारदेखि पूर्णरुपमा बन्द गरिएको छ ।  


कस्तो लाग्यो ?

यो पनि