कात्तिक ३०, २०८१, शुक्रबार
               

भेरी अस्पतालमा गम्भीर प्रकृतिका बिरामी मात्र भर्ना हुन पाउने

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

बाँके । बाँकेका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी मात्र भर्ना हुन पाउने भएका छन् ।  बिरामीको चाप बढेसँगै कोरोनाको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गम्भीर प्रकृतिका बिरामी मात्रै भर्ना हुन पाउने भएका हुन् । 

सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेकाले तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए । 

‘कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र  सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेसनमा बसाइनेछ,’ उनले भने , ‘होमआइसोलेसनमा बस्न मापदण्ड नपुग्ने कोभिड सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेसनको व्यवस्था गरिनेछ।’

त्यसैगरी, भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसियू र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाले बताए ।

१५ शय्याको कोभिड आइसियूमा अहिले ४० जनालाई राखिएको उनले बताए । ‘बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शंकास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेसन वार्डसमेत लगभग भरिइसकेका छन् । सङ्क्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै खत्तम हुन सक्ने जोखिम छ,’ उनले भने । 

भेरी अस्पतालमा अहिले कोरोना सङ्क्रमित ४० जनालाई सघन उपचार कक्ष,  सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना स्पेसल वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा थापाले बताए । 

सामान्यावस्थामा अस्पतालमा भीडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखा परेमा एकान्तबास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए । 

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिस गरेको छ । यस जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका–१ का सबै कर्मचारीमा कोरोना संक्रमित भएका छन् । 

वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । 

उनका अनुसार कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । यस्तो अवस्थामा कोरोना झन् फैलिन सक्ने भन्दै परिस्थिति अनुकूल नभएसम्मका लागि वडा बन्द गरिएको छ ।

वडामा कार्यरत तीन महिला र तीन पुरुषलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुने कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्तालगायत कर्मचारी छन् । हाल संक्रमित कर्मचारीको अवस्था सामान्य रहेको बताइएको छ ।

यो पनि