जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणमुक्त हुँदै काभ्रे

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काभ्रेपलाञ्चोक । जिल्लामा कोरोना भाइरस संक्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार संक्रमित छन् । एघार स्थानीय तह संक्रमणमुक्त भइसकेका छन् ।

हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार बिहीबार ६ जना संक्रमित रहेकोमा शुक्रबार दुई संक्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस संक्रमण भएका थिए । 

काभ्रेमा १४ महिलासहित ४५ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत संक्रमणमुक्त भइसकेको जनाइएको छ ।

आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना संक्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ । चार संक्रमित होम आइसोलेसनमा उपचाररत छन् । 

कोरोना संक्रमणविरुद्ध कोरोना–खोप (कोभिसिल्ड) को पहिलो चरणअन्तर्गत काभ्रेपलाञ्चोकको छ हजार ७८९ ले लगाएका छन् । पहिलो प्राथमिकतामा परेका तीन हजार ४९४ र दोस्रो प्राथमिकताका तीन हजार २९५ लाई उक्त खोप लगाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उनले काभ्रेपलाञ्चोकमा दोस्रो चरणको खोप कार्यक्रमका लागि तयारी भइरहेको बताए । 

खोप सेवा नमोबुद्ध नगरस्थित मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । भारत सरकारले माघ पहिलोसाता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । चिकित्सकका अनुसार कोरोना संक्रमणविरुद्धको खोप पूरा हुन एक व्यक्तिलाई दुई पटक लगाउनुपर्ने हुन्छ ।  


कस्तो लाग्यो ?

यो पनि