बैशाख १८, २०८१, मंगलबार
               

पत्रकारहरुलाई भोलिदेखि कोरोना विरुद्धको खोप लगाइने

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाको महामारीका बीच अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित गराउने काममा सक्रिय रहेका पत्रकारहरुलाई सरकारले प्राथमिकताका साथ कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको पहलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकताको सूचीमा पत्रकारलाई पनि थपेका हुन् ।

आवश्यक प्रक्रिया पूरा गरेर सोमबारबाट खोप केन्द्रहरुबाट पत्रकारहरुलाई खोप लगाउन थालिने सञ्चार मन्त्रालयका सञ्चारविज्ञ राजेन्द्र मानन्धरले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले  स्वास्थ्यकर्मीपछि सञ्चारकर्मी र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको पालो आएको जानकारी दिए । उनका अनुसार सूचना विभागद्वारा वितरित प्रेस पासका आधारमा सञ्चारकर्मीलाई खोप उपलब्ध गराइनेछ ।

त्यस्तै कूटनीतिक नियोग एवं संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका विदेशी कर्मचारीका परिवारलाई पनि खोप लगाइनेछ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, निजामती अस्पताल र पाटन अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

सरकारले भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याएको छ । हालसम्म १ लाख ८० हजारभन्दा बढीले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसअघिदेखि नै सरकारले सरसफाई कामदार, स्वास्थ्यकर्मी लगायत अत्यावश्यक सेवामा काम गर्नेहरुलाई खोप लगाउन थालिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि