कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’(एमआइएस–सी) देखिन थालेको छ । पछिल्लो समय साइलेन्स कोभिडपछि बालबालिकामा यो सिन्ड्रोमको समस्या देखिन थालेको हो । यो रोगले ज्यानै लिन सक्ने भएकाले सावधान रहन अभिभावक र चिकित्सकलाई बालरोग विशेषज्ञको सुझाव छ ।
यो समस्याबाट नेपालमा केही बालबालिकाको मृत्युसमेत भएको छ । केही बालबालिकाको भने उपचार सफल भएको छ। कान्ति बालअस्पतालमा उपचाररत एक १३ वर्षीय बालकको पुस २ गते यही रोगका मृत्यु भएको छ भने १५ वर्षीय एक किशोरको ओम अस्पताल चाबहिलमा उपचार सफल भएको छ । हालै उनी डिस्चार्ज भएका छन् ।
पिसिआर रिर्पाेट नेगेटिभ, तर एन्टिबडी पोजेटिभ देखिएका बालबालिकामा यो समस्या देखिन थालेको छ। चिकित्सकका अनुसार मल्टि सिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम भन्नाले कोभिडविरुद्ध बन्ने एन्टिबडीले शरीरमा निम्त्याउने जटिलता हो ।
ओम अस्पताल चाबहिलका पेडियाट्रिक इम्युनोलोजिस्ट एवं र्युमाटोलोजिष्ट डाक्टर धर्मागत भट्टराई भन्छन्, ‘कोभिड सङ्क्रमणपछि रोगप्रतिरोधात्मक क्षमता अत्यधिक सक्रिय हुने गर्छ । जसले शरीरका विभिन्न अङ्गमा असर गर्न सक्छ । मुटु, मिर्गौला, रक्त प्रणाली, पेटलगायत शरीरका विभिन्न प्रणालीमा असर गर्छ । यसले विशेष अङ्गसहित शरीरका विभिन्न प्रणालीमा असर गर्छ । कोभिडपछि बालबालिकामा देखिने यो एक प्रकारको जटिल अवस्था हो ।’
कोभिडले निम्त्याएको अनौठो रोगबाट यसरी बचाइयो
गत साताको सोमबार चाबहिलस्थित ओम अस्पतालमा १५ वर्षीय एक किशोर नीरव पाण्डे भर्ना भए । उनलाई सामान्य ज्वरो आएको थियो । अस्पताल ल्याउनुभन्दा दुई दिनअघि शनिबार पिसिआर परीक्षण गर्दा उनम कोरोना रिर्पाेट नेगेटिभ आएको थियो । कोरोना पोजेटिभ नदेखिएकाले अभिभावकले खासै ठूलो समस्या ठानेनन् । तर, ज्वरो अस्वाभाविक रुपमा बढ्दै गयो । दुई दिनमै नीरव उठ्न नसक्ने गरी थाला परे ।
उनका बुबा उमेशले सोमबार अस्पताल पुर्याए । नीरव निक्कै गलेका थिए । बेहोसजस्तै थिए । उनका आँखा र ओठ राता थिए । उनको स्वासप्रश्वासमा समस्या थियो । मुटुको समस्याका लक्षण थिए ।
अस्पताल ल्याउनासाथ सघन उपचारकक्ष (आइसियु) लगियो । फिजिसियन डा विश्वनाथ कोइराला र क्रिटिकल केयर चिकित्सक डा प्रमेश श्रेष्ठले उपचार सुरु गरे । श्वासप्रश्वासमा समस्या भएका कारण डा. कोइराला र श्रेष्ठले अक्सिजन लगाइदिए । तर, स्वास्थ्यमा सुधार देखिएन । श्वासनलीमा पाइप राखेर भेन्टिलेटरको सहारा दिनुपर्यो ।
नीरवको स्वास्थ्य स्थिति बिग्रँदो अवस्थामा थियो । बालक गल्दै गएकाले परिवारमा तनाव थियो । उता नयाँ समस्या देखिएकाले डाक्टर पनि उत्तिकै तनाव थिए । कोभिड–१९ सहित अन्य सङ्क्रमण परीक्षणको रिपोर्ट नेगेटिभ थियो । कुनै पनि एन्टिबायोटिकले काम गरेन ।
अन्ततः नीरवको फोक्सोको सिटी स्क्यान गरियो । उनमा निमोनिया देखियो । जाँच गर्दा मुटुको आकार पनि साबिकभन्दा ठुलो देखियो ।
यति बेलासम्म नीरवको उपचारमा दर्जन डाक्टर खटिरहेका थिए । छातीरोग विशेषज्ञ डा सुबोध सागर ढकाल, मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेल, डा सुभाष साह, सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी, इन्टेन्सिभिस्ट डा विपिन कार्की, ग्यासष्ट्रोइन्टेरोजिष्ट डा राहुल पाठक, इम्यानोलोजिस्ट तथा र्यामाटोलोजिस्ट डा साकेत झा, साइकायट्रिस्ट पुष्पप्रसाद शर्मा संलग्न थिए ।
डाक्टर धर्मागत भट्टराईले बिरामी नीरवको स्वास्थ्य अवस्थाको ‘हिस्ट्री’ लिए । डा भट्टराई बालरोग प्रतिरोध तथा बाथजन्य रोग विशेषज्ञ (इम्युनोलोजिस्ट एवं र्युमाटोलोजिस्ट) हुन् । किशोरको शरीरको इन्फ्लामेसन इन्डेक्स (सुजन सुचकाङ्क) निकै उच्च देखियो ।
डा भट्टराई भारतबाट हालै मात्र नेपाल नेपाल आएका हुन् । गत अप्रिलदेखि जुनसम्ममा उनले चण्डिगढमा १२ जना बालबालिकाको उपचार गरेका थिए । संयोग के मिल्यो भने चण्डिगढमा उपचार गरिएको बालक र ओम अस्पतालमा उपचाररत किशोर नीरवमा उस्तै लक्षण पाइयो। चण्डीगढको केसहरूमा पेडियाट्रिक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम (पिएमआइएस) नामक नयाँ रोग पहिचान भएका थिए । विश्व स्वास्थ्य सङ्गठनले पिएमआइएसका लागि तय गरेको मापदण्ड पनि मिलेको थियो ।
डाक्टर भट्टराईले फेरि नीरवको कोभिड–१९ को एन्टिबडी परीक्षण गराए । एन्टिबडी जाँचको नतिजा पोजेटिभ आयो । नीरवलाई थाहै नपाइ कोभिड–१९ को सङ्क्रमण भइसकेको रहेछ । अघिल्लो शनिबार पिसिआर नेगेटिभ आएको बालकको एन्टिबडी पोजेटिभ आएपछि चिकित्सकको अनुसन्धान सोझियो ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआइएस –सी) तर्फ । र, सोहीअनुरूप आवश्यक उपचार सुरु भयो ।
नीरव मृत्युको मुखमा पुगिसकेका थिए । यस्तो अवस्थामा डाक्टरले अभिभावकलाई बचाउने संभावना कम रहेको बताए ।
एमआइएस–सीको सफल निदान र उपचार गरिएको सन्दर्भमा ओम अस्पताल चाबहिलमा सोमबार गरिएको पत्रकार सम्मेलनमा डा भट्टराईले सुनाए ‘त्यतिबेला मैले उहाँहरूलाई प्रस्टसँग भनेको थिए । एक त बिरामी ढिलो अस्पताल ल्याइयो । अर्कोतर्फ समस्या ढिला पत्ता लाग्यो । बिरामी बाँच्ने समस्या कम छ । तर, म सकेको उपचार गर्छु ।’
त्यतिबेला नीरवको स्वास्थ्य अवस्था देखेर उनका अभिभाकले माया मारिसकेका थिए । तर, पनि उनीहरूले उपचार प्रयास गर्न डाक्टरलाई आग्रह गरे । एमआइएस–सी को महँगो औषधि खरिद गर्न अभिभावक तयार भए । दुई लाखबराबरको औषधि खपत भयो । औषधि सुरु गरियो ।
औषधि सुरु गरेको ठिक दुई दिनमा भेन्टिलेटरमा रहेका नीरवमा चमत्कारिक परिवर्तन आयो । उनको श्वासप्रश्वासलगायत मुटुको समस्यामा सुधार आयो । उनी भेन्टिलेटरबाट बाहिर निस्किए । अहिले नीरव डिस्चार्ज भएका छन् । डाक्टरहरूले फ्लोअप उपचारको लागि अस्पताल आउन भनेका छन् ।
इम्युन प्रतिक्रिया असन्तुलित हुँदा देखिने पिएमआइएस, समयमा पहिचान नहुँदा नीरव मृत्युको मुखमा पुगेर फर्किए । सो समस्याले बालबालिकाको श्वासप्रश्वासदेखि मुटु र मस्तिष्कमा गम्भीर असर पार्छ ।
डाक्टर भट्टराई भन्छन्, ‘पिएमआइएसले शरीरको कुन अङ्ग वा प्रणालीमा असर गर्छ टुङ्गो हुँदैन । त्यसैले मुटुसँगै, फोक्सो वा मिर्गौलासम्बन्धी समस्याको लक्षण देखिएमा पनि सतर्क रहनुपर्छ । यस्तो अवस्थामा जति चाँडो उपचार पक्रिया अघि बढायो त्यति चाँडो निदान र उपचार गर्न सहज हुन्छ ।’
यस्ता हुन्छन् पिएमआइएसका लक्षण
सरकारी तथ्यांकअनुसार मुलुकमा हालसम्म २० वर्षसम्म उमेरका झन्डै २३ हजार बढी कोभिड सङ्क्रमित भइसकेका छन् । हालसम्म १० वर्षसम्म उमेरका ६ हजार पाँच सय बढी सङ्क्रमित भएका छन् । ११ देखि २० वर्ष उमेर समूहका १७ हजार हजार बढी छन् ।
एमआइएस–सीमा बालबालिकाका शरीरका आँखा, ओठ, जिब्रोलगायत अङ्ग राता हुनु र सुन्निनुले पिएमआइएस शङ्का गर्ने ठाउँ दिन्छ ।
त्यस्तै, कोरोना भाइरस सङ्क्रमणका अन्य लक्षण अर्थात् अत्यधिक ज्वरो आउनु, शरीर थाक्नु वा आलस्य हुनु, चिड्चिडाहट बढ्नु आदि हो ।
सम्भावित पिएमआइएसका बिरामीको शरीरमा राता दाग वा डाबरसमेत देखिएका छन् । बिरामीलाई श्वासप्रश्वासमासमेत समस्या हुन्छ।
टाउको अत्यधिक दुख्नु, खोकी लाग्नु, पेट दुख्नु, झाडापखाला लाग्नु, घाँटी दुख्नु पनि अन्य लक्षण हुन् ।
यो रोग कोभिड सम्पर्कमा आएका सबै बच्चालाई हुन्छ भन्ने चाहिँ छैन I कोभिडजत्तिको बाक्लो उपस्थिति नभए पनि यसले सघन र जटिल रूप लिन सक्ने हुँदा चनाखो हुन जरुरी छ I जुनसुकै उमेरका बालबालिका र किशोरलाई हुन सक्ने भए पनि अधिकांश पाँच वर्ष उमेरमाथिका बच्चालाई देखिएको छ I