जेठ ०५, २०८१, शनिबार
               

अबका चार महिनामा ३ लाखसम्म कोरोना संक्रमित थपिने अनुमान

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा १ लाख ५० हजारदेखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिन सक्ने अनुमान गरेको छ ।

मन्त्रालयको हेल्थ सेक्टर र्‍यापिड एक्सन प्लान २ मा कात्तिकदेखि माघ महिनासम्म सामान्य अवस्था रहे थप १ लाख ५० हजारसम्म र खराब अवस्था आएमा ३ लाखसम्म संक्रमित थपिने प्रक्षेपण गरेको मन्त्रालयका एक अधिकारीले बताए । चिसो मौसम शुरू भएसँगै संक्रमण बढ्ने अनुमान गर्दै मन्त्रालयले संक्रमण नियन्त्रण निम्ति नयाँ कार्ययोजना पनि बनाएको छ । 

यसअघि पनि मन्त्रालयले असारदेखि असोजसम्म अवस्था खराब हुँदा १ लाख ८० हजारसम्म संक्रमित हुने प्रक्षेपण गरेको थियो । तर सो अवधिमा संक्रमणका मामिला प्रक्षेपण गरिएभन्दा केही कम भएको थियो । उपत्यका बाहिर सुरूमा कोरोना फैलिएको ठाउँमा संक्रमण नियन्त्रणमा आउनु यसको प्रमुख कारण रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्‌ ।

तर, अहिले भने काठमाडौं उपत्यका जस्तो मानिसको बाक्लो बसोबास भएको क्षेत्रमा कोरोना समुदायस्तरमा नै फैलिएको हुँदा संक्रमण बढी देखिनसक्ने अनुमान गरी सोहीअनुसार मन्त्रालयले कार्ययोजना बनाएको बताइएको छ ।

मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार हालसम्म नेपालमा कुल संक्रमित संख्या २ लाख १२ हजार ९१७ पुगेको छ भने १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन्‌। अहिलेसम्म नेपालमा १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रालयले अबको चार महिनासम्म हुने सम्भावित खराब अवस्थाको अनुमान गर्दै आवश्यक तयारी गर्न मातहतका निकायलाई हालै निर्देशन दिइसकेको छ। उनले भने, ‘संक्रमण बढ्दै गएको छ, चिसो मौसम समेत शुरू भएको छ, जसका कारण संक्रमण झनै फैलनसक्ने अनुमान गरिएको छ, अबको चार महिनामा सम्भावित संक्रमणदर अनुमान गरी हामीले योजना बनाएका हौं ।‘

संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले उपत्यकामा संक्रमणको दोस्रो लहर पैदा हुने आशंका गर्न थालिएको छ । चाडपर्वमा उपत्यकाबाहिर गएका मानिसहरू केही सातापछि भित्रिने भएकोले अझ व्यापक रूपमा संक्रमण बढ्ने भन्दै केही दिनअघि उपत्यका नगरपालिका फोरमले (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका थिए । फोरमले उपत्यकामा कोरोना नियन्त्रण गर्न छठ पर्व पछि लकडाउन गर्न सरकारलाई सुझाएको छ ।


कस्तो लाग्यो ?

यो पनि