मंसिर ०७, २०८१, शुक्रबार
               

कर्मचारीमा कोरोना, गाउँपालिकाको कार्यालय बन्द

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराए ।

गत कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए ।

कात्तिक २५ गते १५ जनाको स्वाब नमूना संकलन गरेर परीक्षणका लागि पठाइएकोमा एक जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताए ।

होम आइसोलेसनमा रहेका कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमण फैलिन नदिनका लागि सेवा बन्द गरेर कन्ट्याक्ट टे«सिङ गर्न लागिएको हो । अन्नपूर्ण गाउँपालिकामा पहिलोपटक समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

यसअघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैंक, सहकारी र वित्तीय संस्थाको सेवा बन्द गराएको थियो । यसअघि कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकाको सेवा भने सञ्चालन भएको छ ।

हालसम्म १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको म्याग्दीमा ३० सक्रिय संक्रमित छन् । सबै संक्रमित होम आइसोलेसनमा रहेका छन् । पछिल्लो समय म्याग्दीमा पनि लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेका छन् । 


कस्तो लाग्यो ?

यो पनि