जेठ ०५, २०८१, शनिबार
               

सबै संक्रमितको निःशुल्क उपचार गर्ने लुम्बिनी प्रदेशको घोषणा

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्ने भएको छ।

मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लुम्बिनी प्रदेशका चारवटा कोरोना अस्पतालबाट कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्ने जानकारी गराएका हुन् ।

‘सरकारले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत राखेका छ’, मुख्यमन्त्री पोखरेलले  भनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमित बिरामीको उपचार सरकारले नगर्ने निर्णय गरेपछि नागरिक स्तरबाट सरकारको चर्को आलोचना तथा विरोध हुँदै आएको छ ।

संघ सरकारको व्यापक आलोचना भइरहेका बेला मुख्यमन्त्री पोखरेलले कोभिड अस्पतालबाट निःशुल्क उपचार गर्ने जनाएका हुन् । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले मुख्यमन्त्रीले भनेजस्तै प्रदेशका चारवटै कोभिड अस्पतालमा संक्रमितहरुको उपचार निःशुल्क नै हुँदै आएको र आगामी दिनमा पनि हुने बताए ।

संघीय सरकारले सोमबारदेखि गरिब विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमित बिरामीहरुको शुल्क लिने बताएको भए पनि लुम्बिनी प्रदेशका चारवटै अस्पतालमा निःशुल्क नै भएको उनले जनाए ।

सरकारले यसअघि नै निःशुल्क गर्दै आएको उपचारलाई रोक्न र शुल्क लिन प्रदेश सरकार र मन्त्रालयमार्फत कुनै पनि परिपत्र नगरिएको र निःशुल्क उपचारको व्यवस्था यथावत रहेको पन्थको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डीस्थित केन्द्रीय आयुर्वेद अस्पताल र भेरी अस्पताल बाँकेलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि