जेठ ०५, २०८१, शनिबार
               

बर्दिवास अस्पतालमा एक हजारभन्दा बढी पिसीआर परीक्षण

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

महोत्तरी । महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ । गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण सेवा सुरु गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसीआर परीक्षण गरिएको जनाएको छ । 

अस्पतालले भदौ महिनामा गरिएको ३८६ जनाको पिसीआर परीक्षणमा २५ महिला र २२ पुरुष गरी कूल ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए ।

यसैगरी गत असोजमा गरिएको ६५९ जनाको पिसीआर परीक्षणमा ९२ पुरुष र ५२ महिला गरी कूल १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिँदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी पिसिआर परीक्षण सुरु गराएको हो ।

नगरपालिकाले करिब एक करोड २५ लाख रुपैयाँ खर्च गरेर पिसीआर मेसिन र आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएको छ । सेवालाई थप विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र संघीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख बिदुरकुमार कार्कीले बताए । 

अस्पतालले  स्वाब संकलन गरिएको १० घण्टा भित्रनै नतिजा (रिपोर्ट)  दिँदै आएको छ । यो व्यवस्थाले यसअघि १०–१२ दिनसम्म रिपोर्टका लागि कुर्नुपर्ने अवस्था हटेको सेवाग्राहीले बताएका छन् । करिब एक लाख २० हजार जनसङ्ख्या रहेको आफ्नो नगरक्षेत्रमा स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच बढाउँदै लाने संकल्पमा यो प्रयत्न महत्वपूर्ण भएको नगरप्रमुख कार्कीको भनाइ छ ।

बर्दिवास अस्पतालमा जडान गरिएको पिसीआर मेसिन र उपलब्ध उपकरणबाट दैनिक ९०० नमूनाको परीक्षण हुन सक्ने विज्ञको भनाइ छ । यहाँ जडित उपकरणबाट प्र्रत्येक दुई घण्टामा ९६ जनाको पिसीआर परीक्षण गर्न सक्ने अस्पतालले स्पष्ट पारेको छ । 

नेपाल सरकारको पाँच करोड ३५ लाख ३६ हजार १७६ रुपैयाँको लागतमा नवनिर्मित बर्दिवास अस्पताल भवनमा अत्याधुनिक सेवासहितको तीन तले भवनमा ८६ कोठा छन् । अस्पतालमा कोभिड–१९ रोकथाम अभियानसँग सम्बन्धित ५० शय्याको आइसोलेसन कक्ष छ । भौतिक साधन स्रोत जुट्दै गए बर्दिवास अस्पताललाई सेवाको क्षेत्रमा अनुकरणीय बनाउने आफ्नो सपना रहेको नगरप्रमुख कार्कीले बताए ।


कस्तो लाग्यो ?

यो पनि