मंसिर ०७, २०८१, शुक्रबार
               

एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, सक्रिय संक्रमित २५ हजारभन्दा बढी

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप ३४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । संक्रमितमध्ये ५७८ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार, आज २५ हजार सात जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयले यसअघि सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिसगरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।  

२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयको भनाइ छ । सरकारले यो सिफारिसलाई कार्यान्वयन गर्छ कि गर्दैन भन्नेमा हालसम्म थप जानकारी दिइएको छैन । 

आज देशभरमा संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १४ हजार २०९ पिसिआर परीक्षण भएको छ । योसँगै अहिलेसम्म ११ लाख १३ हजार ४८५ पिसिआर परीक्षण भएको छ ।

त्यस्तै आज थप ११ सय २९ कोरोना संक्रमित निको (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि