जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाको निशानामा ‘दीर्घरोगी र ज्येष्ठ नागरिक’
चिकित्सक भन्छन्, ‘उच्च सावधानी नअपनाए बाँच्न गाह्रो छ ’

ADVERTISEMENT

महामारीको रुपमा फैलिएको कोरोनाका दीर्घरोगी र ६० वर्षमाथिका ज्येष्ठ नागरिक  संक्रमणको उच्च जोखिममा छन् । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायत रोगका बिरामीलाई संक्रमणले छिट्टै समाइ जटिल अवस्थामा पुर्‍याउने देखिएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश दीर्घरोगी छन् । हालसम्म कोरोनाका कारण विश्वमा १० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा जस्तै नेपालमा पनि कोरोनाका कारण मृत्यु भएका विभिन्न उमेर समूह, वर्ग, लिंग, दीर्घरोगीमा पर्छन् ।

जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारी, ठेगानाडट सर्भिसेसका संस्थापक तथा प्रविधिविज्ञ विशाल केसी, मोलिक्युलर तथा कोषविज्ञ रोसनलाल श्रेष्ठ, विज्ञान विषयका अध्ययता दोर्जे गुरुङ, तथ्यांक विज्ञानमा रुची राख्ने सुरक्षा गौतमलगायतले गरेको अनुसनधान र तयार पारेको एक तथ्यांकअनुसार स्वस्थ व्यक्तिले संक्रमण भए पनि सजिलै पचाउन सक्छन् । 

तर, दीर्घरोगीमा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूलाई कोरोनाले छिट्टै आक्रमण गर्ने खतरा रहन्छ । नेपालका मृतकहरुमध्ये प्रमुखरुपमा २२.६१ प्रतिशतमा उच्चरक्तचाप, २०.४३ प्रतिशतमा मधुमेह, १६.०९ प्रतिशतमा मिर्गौलासम्बन्धी रोग, ७.६१ प्रतिशतमा मुटुसम्बन्धी रोग तथा ३.७० प्रतिशतमा क्रोनिक अब्स्ट्रक्टिभ प्लमनरी डिजिज (सीओपिडी) तथा २९.५७ प्रतिशतमा अन्य स्वास्थ्य समस्या रहेको देखिएको छ ।

अन्य स्वास्थ्य समस्यामा प्रमुख गरेर दम, थाइरोइड तथा कलेजोसम्बन्धी समस्या रहेको देखिएको छ । कोरोना भाइरसको संक्रमणका साथै विभिन्न पाँच प्रकारका प्रमुख कोमर्बिड अवस्था रहेकाहरुको मृत्यु हुने औषत आयु भिन्न–भिन्न नै रहेको देखिएको अनुसन्धानबाट देखिएको छ ।

वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. अशेष ढुंगाना भन्छन्, ‘उनीहरूलाई कोरोनाले छिट्टै आक्रमण गर्छ । उनीहरूमा लक्षण कडाखाले देखिन्छ । कोरोनाले फोक्सोमा आक्रमण गर्छ र निमोनिया गराइदिन्छ ।’ 

तत्काल उपचार नगरे यसले विस्तारै अन्य अंगलाई फेल गराइदिने र बिरामीको मृत्यु हुने खतरा रहेको छ । ‘स्वस्थ व्यक्तिले संक्रमण भए पनि सजिलै पचाउनसक्ने हुनाले उनीहरूमा लक्षण देखिँदैन, तर दीर्घरोगीलाई भने यो भाइरसले ज्यानै लिनसक्ने भएकाले बढी सजगता अपनाउनुपर्छ,’ डा. अशेष ढुंगाना भन्छन् ।

उच्चरक्तचाप, मधुमेहजस्ता रोगका बिरामीले औषधि नियमित खानैपर्ने र चिकित्सकको निगरानीमा बस्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । यस्ता बिरामीले ज्वरो मात्रै आए पनि कोरोना परीक्षण गराइहाल्नुपर्छ । यस्ता बिरामीलाई लक्षित गरी देशको स्वास्थ्य संरचना चुस्तदुरुस्त बनाउनुपर्ने नत्र अस्पताल नपुगेका कारण ज्यान गुमाउनेको संख्या बढ्न खतरा रहेको विज्ञहरुको भनाइ छ । आइसियु र भेन्टिलेटर सुविधा नभएका दुर्गमका बिरामी बढी जोखिममा छन् ।

मिर्गौलारोगी शारीरिक रूपमा कमजोर हुने हुँदा भाइरसले छिट्टै आक्रमण गर्ने खतरा छ । मिर्गौलारोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले भन्छन्, ‘डायलसिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा कोरोनाको उच्च जोखिमा छन् ।’ मिर्गौलाजस्तो मुख्य अंग फेल भएको अवस्थामा फोक्सोमा संक्रमण भयो भने शरीरले धान्न नसक्ने उनी बताउँछन् । उनले भने, ‘यस्तो अवस्थामा तुरुन्तै निमोनिया भएर मृत्यु नै हुनसक्छ ।’

मिर्गौला तथा अरु दीर्घ रोगका बिरामीलाई योबेलामा बढी स्याहार र हेरविचार गर्नुपर्ने विज्ञको सुझाव छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा करिब पाँच हजार व्यक्तिले मिर्गौलाको नियमित डायलसिस गराइरहेका छन् । उनीहरु कोरोना संक्रमणको उच्च जोखिममा छन् ।

मिर्गौलासँगै मुटुरोगका बिरामी पनि उत्तिकै जोखिममा छन् । बढी उमेरका व्यक्तिमा मुटुरोग लाग्ने र उनीहरूले धेरै औषधि सेवन गर्ने भएकाले रोगसँग लड्ने क्षमता कम हुने मुटु शल्यचिकित्सक डा. विश्व पोखरेल बताउँछन् । लकडाउनमा संक्रमणले भन्दा पनि उपचार नपाएर बिरामीको मृत्यु हुनसक्ने जोखिम उनले औँल्याए ।  कोरोनाले सबैभन्दा बढी फोक्सोमा असर गर्ने र सँगै जोडिएको अंग भएकाले मुटुमा छिटो संक्रमण फैलिने चिकित्सक बताउँछन् ।

दीर्घरोगीलाई बचाउन युवा, बालबालिकालगायत सक्रिय वर्गले भूमिका खेल्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।

‘बाहिर हिँडडुल गर्ने मान्छे रोगी र बुढाबुढीको नजिक जानु भएन,’ उनले भने, ‘खानपान र रहनसहनमा विशेष सरसफाइ अपनाउनुपर्‍यो ।’

दशैमा घर जाँदासमेत परिवारलाई कोरोना कोसेली नलैजानसमेत उनले आग्रह गरेका छन् । उनले भने, ‘आजैबाट अझै सुरक्षित बसौँ, कते दशैमा घर जाँदा बाआमालाई कोरोना त उपहार जाँदैन, यसैले सकेसम्म काठमाडौंमा हुनुहुन्छ भने यतै दशै मनाउनुहोस् ?’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि