असोज ०६, २०८१, आइतबार
               

६९ सैनिकसहित काभ्रेमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लमा एकैदिनको परीक्षणमा अधिक कोरोना संक्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट काभ्रेमा ७९ जनामा कोरोना संक्रमित थपिएका हुन् । 

थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । 

पोष्टका अनुसार मङ्गलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई÷दुईमा कोरोना संक्रमण देखिएको छ । 

नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 

पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा संक्रमण देखिएको थियो । नेपाली सेनाले ‘मिसन’मा जाने सैनिकलाई उक्त केन्द्रमा अन्तिम तालिम दिएर पठाउने गर्दछ ।

नेपाली सेनाले आफ्नै व्यवस्थापनमार्फत पाँचखालको संक्रमण रोक्ने प्रयास भइरहेको जनाइएको छ । यसअघि पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणका १० तथा जिल्लास्थित नेपाल प्रहरीका २२ र धुलिखेलस्थित नेपाली सेनाका आठमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म जिल्लास्थित सुरक्षा निकायमा १०९ मा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

जिल्लामा हालसम्म ५४१ मा कोरोना संक्रमण देखिएको छ । पोष्टका अनुसार कूल संक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३४० उपचारपछि घर फर्किएका छन् । 

१९५ सक्रिय संक्रमितमध्ये १३२ अस्पताल आइसोलेसन र ६३ को होम आइसोलेसनमा उपचाररत छन् । 


कस्तो लाग्यो ?

यो पनि