नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आएको छ । जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आइसियु सेवा अति आवश्यक पर्दछ । वीर अस्पताललाइ नेपालको पहिलो सरकारी अस्पतालका रुपमा लिइन्छ । यही अस्पतालबाट आधुनिक चिकित्सा सेवाको सुरुवात समेत भएको बताइएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ असार १७ गते १५ श्ययाको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा अस्पताल स्थापना गरेका थिए । इतिहासकारका अनुसार यसैलाई पछि ‘भक्तपुर अस्पताल’ नामाकरण गरिएको हो ।
केही वर्षौँदेखि प्रयोगमा नआएका आइसियुका भेण्टिलेटरसहितका उपकरण सहित बागमती प्रदेश सरकारले पठाएको सामाग्रीबाट आइसियु सेवा पहिलो पटक सञ्चालनमा ल्याएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए । २०२८ सालमा ५० श्ययाको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ श्ययाको प्रसूति गृह थप गरी ७५ श्यया भएको थियो । अस्पतालमा गत बिहीबारदेखि आइसियु सेवा सुरु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।
सरकारले सो अस्पताललाई कोरोना हव अस्पताल समेत तोकेको छ । यसपछि पाँच वटा भेन्टिलेटरसहित ६ श्ययाको आइसियु र कोरोना संक्रमित राख्ने १६ श्ययाको आइसोलेशन एवम् १० श्ययाको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेशन तयार गरी सेवा सुरु गरेको उनले जानकारी दिइन् ।
उनले भनिन् “आइसियु अत्यावश्यक भइसकेको थियो, मैले यहाँको मेसुको कार्यभार सम्हालेपछि अस्पतालको सिंगो समूह मिलेर आइसियुको ब्लक निर्माणदेखि अन्य सबै तयारी पुरा गराैं । बागमती प्रदेशका सामाजिक विकास मन्त्रीले जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएपछि आइसियु सेवा सञ्चालनका लागि अस्पतालले करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्यायौ ।”
आइसियुको लागि थप एक श्यया र दुईवटा भेण्टिलेटर प्रदेश सरकारको आर्थिक सहयोगबाट जडान गरिएको छ । अस्पतालले कोभिडको महामारीको बीचमा पनि सबै सेवा जारी राखेको छ । अहिले कोरोनाका पाँच जना आइसियुमा, १३ जना लक्षण देखिएका र १० जना आइसोलेशनमा उपचार भइरहेको छ । त्यसैगरी विद्युत प्राधिकरण खरिपाटीस्थित आइसोलेशनमा ९७ जनाको उपचार भइरहेको उहाँले जानकारी दिइन् ।
अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याई औषधि खरिदामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
अस्पतालले पेईङ्ग क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडि सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र विहान ९ बजे अगाडि पेइङ्ग सेवा सञ्चालनमा ल्याएको हो । साथै बिभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरुको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस भनेर गरिने भिडियो एक्सरे अर्थात एनोमली स्क्यान र दुरबिन प्रबिधिबाट अप्रेशन सेवा समेत सञ्चालनमा ल्याएको छ ।
कोभिड ब्लक समेत सञ्चालनमा आएपछि अन्य रोगका आकस्मिक सर्जरी गर्नु परेमा बिरामी राख्ने ठाउँको अभावको भएको उनको भनाइ छ । अस्पतालको एउटै कम्पाउण्ड भएपनि कोभिड र नन कोभिडका विरामीको उपचारमा फरक ब्लक भएकाले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको दाबी गर्दै उहाँले ठाउँको अभावले निकै समस्या भने पारेको बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख एवं भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलालले अस्पताललाई प्रदेश अस्पताल नभइ केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने सुझाव दिए । उनले भने, “भक्तपुर अस्पतालको म अध्यक्ष हुँदा २०७२ सालमा रु। १ करोड ५० लाखको बजेटमा आईसियु स्थापना गर्न सामान ल्याए तर कर्मचारीले आईसियु चलाउन दिएनन्, मैले आईसियू चलाउन ठाउँ, पाँच श्ययाको बेड, तीन भेण्टिलेटर तयार पारेर अपाङ्ग मैत्री भर्याङ्ग र अन्य ओपिडि सेवा थप गराए , अस्पतालको स्वरुप नै फेरियो । चाहे गर्न सकिन्छ भन्ने नमूना अहिल बन्यो ।”