ओखलढुंगा । ओखलढुंगामा थप १२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो पटक स्वाब संकलन गरेर पठाइका ८१ मध्ये १२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एक पत्रकार, ६ जनप्रतिनिधि र ६ प्रहरी जवान छन् ।
जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीका अनुसार स्वाब संकलन गरेर पठाइएकामध्ये जिल्ला समन्वय समितिका प्रमुखसहित उनका परिवारका तीन जना सदस्य, नेपाली कांग्रेसका जिल्ला सभापतिसहित एक पत्रकार र ६ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएकाहरुलाई रुम्जाटारस्थित आइसोलेसन सेन्टरमा लगिएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ४३ पुगेको छ । हालसम्म सो जिल्लामा एक हजार चार सय ७९ जनामा पीसीआर परीक्षण गरिएको छ । जिल्लामा यसअघि पोजेटिभ देखिएका पाँचजना सक्रिय संक्रमितमध्ये दुई जनाले कोरोनालाई पराजित गरेका छन् ।