स्याङ्जामा आइतबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको पुतलीबजारका २४ देखि ७६ वर्ष उमेर समुहका २१ पुरुष तथा ४५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पुतलीबजार वडा नम्बर १ की ४५ वर्षीया महिला तथा २४, ३०, ३४, ३५, ५५ र ७६ वर्षीय पुरुष, वडा नखुलेका ३५ वर्षीय पुरुष, वडा नम्बर ३ का ४४, ४७, ५० र ५२ वर्षीय पुरुष, वडा नम्बर १३ का ४६ र ४७ वर्षीय पुरुष, वडा नम्बर १४ का ३०, ३५, ३६, ३८, ३९, ४४, ४६ र ५७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमध्ये वडा नम्बर १ र १४ का जुवा खेल्ने १९ जना समेत रहेको पुतलीबजार स्वास्थ्य शाखा प्रमुख बिष्णु काफ्लेले जानकारी दिए ।
भदौ १२ गते जुवातास खेलिरहेको अवस्थामा तीन वटा घरबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
संक्रमित हुनेमध्ये एकजना मालपोतका कर्मचारी समेत छन् । भारतबाट आएका एक जना र मलेसियाबाट आएका अर्का एक जनामा समेत कोरोना पोजेटिभ देखिएको छ ।
पुतलीबजारमा हालसम्म १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये हाल २३ जना सक्रिय संक्रमित छन् । बाँकी निको भएर डिस्चार्ज भइसकेका छन् ।