असोज ०६, २०८१, आइतबार
               

कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंको एक नगरपालिका बन्द

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द हुने भएको छ । 

काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।

कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । 

टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । 

नगरपालिकाले कोरोना संक्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ । 

अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरेपनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पुर्याउने नगरपालिकाले जनाएको छ । 

होम आइसोलेसनमा बसेर कोरोना उपचार गराईरहेका विरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि