बैशाख २१, २०८१, शुक्रबार
               

जुम्लामा थपिए कैदीबन्दीसहित ३९ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

जुम्ला । जुम्लाको कोरोना संक्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा संक्रमण देखिएको हो ।

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मङ्गल रावलले बताए ।

त्यसैगरी तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना संक्रमण देखिएको हो । थप ३९ सहित सक्रिय संक्रमितको सङ्ख्या जुम्लामा ८७ पुगेको छ । डा. रावलले भने, ‘धेरैजसो जुम्लाको चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले यहाँको सदरमुकाम खलङ्गा उच्च जोखिममा रहेको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ गरी ३२ जना डिस्चार्ज भएका छन् । जुम्लामा कोरोना संक्रमित निको हुनेको सङ्ख्या १४१ पुगेको छ । 

संक्रमितलाई पुनः परीक्षण गरिएन 

स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई पुनः परीक्षण नै नगरी घर पठाउने गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेको नौ सङ्क्रमतिलाई पुनः परीक्षण नै नगरी १४ दिनपछि घर पठाइएको हो ।
 
चौध दिनपछि आइसोलेसनबाट घर पठाइएका व्यक्तिले पुनः परीक्षण नै नगरी प्रमाणपत्र हातमा थमाएर घर पठाइएको प्रतिक्रिया दिएका छन् । उनीहरु भन्छन्, ‘हामीलाई अब कोरोना संक्रमण छ–छैन कुनै जानकारी हुन सकेन ।’ चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पिसीआर परीक्षण गर्नु पर्दैन भनेर निर्देशिका पठाएको प्रतिक्रिया दिए ।


कस्तो लाग्यो ?

यो पनि