काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ४१५ जना संक्रमित थपिएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र ३५० जना संक्रमित थपिएका छन् ।
त्यसैगरी भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।
यसअघि हिजो (बिहीबार) काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यसैबीच शुक्रबार नेपालमा ९२७ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार:
गएको २४ घण्टामा १६९ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।
संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना छन् । होम आइसोलेसनमा ६ हजार ४४६ जना छन् ।
आज जम्मा १० हजार २२९ पिसिआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा ६ लाख ५८ हजार ११० पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । संक्रमणको तुलनामा मृत्युदर ०.५३ प्रतिशत हो ।